Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

आर्थिक सूचकहरू प्रगति उन्मुख छन्, तर निजी क्षेत्र अझै ‘पर्ख र हेर’को अवस्थामा छ : प्रकाश गुरूङ ( अन्तर्वार्ता)

आर्थिक सूचकहरू प्रगति उन्मुख छन्, तर निजी क्षेत्र अझै ‘पर्ख र हेर’को अवस्थामा छ : प्रकाश गुरूङ ( अन्तर्वार्ता)
विज्ञापन
Advertisement

काठमाडाैं । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङसँग नेपालको पछिल्लो आर्थिक अवस्था, लगानी वातावरण, खराब कर्जा व्यवस्थापन, मर्जरपछिको अवस्था, साना उद्यमीमा लगानी, सेयर बजार, डिजिटलाइजेसन र पोखरा फाइनान्सको आगामी योजनाबारे गरिएको कुराकानी  ः

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय नेपालको आर्थिक अवस्था सुधारोन्मुख भएको चर्चा भइरहेको छ। बजेट र मौद्रिक नीति पनि आइसकेको अवस्थामा फाइनान्स कम्पनीको सीईओका रूपमा अहिलेको अर्थतन्त्रलाई कसरी मूल्यांकन गर्नुहुन्छ?

यो समसामयिक र महत्वपूर्ण प्रश्न हो। अहिले हामीसँग स्पष्ट बहुमतको सरकार छ। सरकारले ल्याएको बजेटको कार्यान्वयन प्रभावकारी हुन्छ भन्ने आम अपेक्षा र विश्वास पनि छ। समग्रमा हेर्दा अहिले व्यवसायिक गतिविधि धेरै चलायमान भइसकेको अवस्था देखिँदैन। तर, केही क्षेत्रमा प्रगतिको संकेत र भरोसाका आधार भने देखिन थालेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकालगायत केही बाहिरी क्षेत्रमा घरजग्गा कारोबारमा पनि केही सुधार आएको देखिन्छ।

वर्तमान सरकारले उत्पादनलाई प्राथमिकता दिएको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले पनि उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिनुपर्ने नीति कायम राखेको छ। त्यसैले एक बैंकर र वित्तीय संस्थाको नेतृत्वकर्ताका रूपमा हेर्दा नेपालको आर्थिक सूचकहरू प्रगति उन्मुख छन् भन्न सकिन्छ।

वित्तीय संस्थामा निक्षेप पर्याप्त देखिन्छ, तर लगानीको वातावरण अझै अपेक्षाअनुसार बन्न सकेको छैन। विशेषगरी उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्नुको कारण के देख्नुहुन्छ?
यसमा मुख्यतः दुईवटा पक्षले काम गरेको जस्तो लाग्छ। पहिलो, विगतदेखि नै हामीसँग रहेका नियम, कानुन र निर्देशिकाहरूमा केही संशोधन हुन्छ भन्ने अपेक्षा आम मानिसमा थियो। पछिल्लो समय सेयर बजारसँग सम्बन्धित केही विद्यमान नियमहरू पनि संशोधन भएका छन्, जसले सकारात्मक सन्देश दिएको छ।

अर्कोतर्फ, ट्रेडिङ तथा म्यानुफ्याक्चरिङलगायत उद्योग–व्यवसायको अवस्था हेर्दा उपभोग केही घटेको देखिन्छ। आम उपभोक्ताको आत्मविश्वास पनि अपेक्षाअनुसार बढ्न सकेको छैन। त्यसैले उद्योगी–व्यवसायीहरू थप लगानीका लागि ‘वेट एन्ड सी’को अवस्थामा रहेको हामीले देखिरहेका छौं ।
यसका लागि विद्यमान नियम, कानुन, निर्देशिका तथा सरकारी व्यवस्थाहरूलाई समयअनुसार निरन्तर परिमार्जन गर्दै लैजान जरुरी छ। त्यसले निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाउन सहयोग गर्छ।

पोखरा फाइनान्सको अहिलेको अवस्था कस्तो छ? मर्जरपछिको समायोजन र व्यवसाय विस्तार कसरी भइरहेको छ?

पोखरा फाइनान्स पनि समग्र अर्थतन्त्रकै एउटा सानो हिस्सा हो। गएको आर्थिक वर्षको असार २६ गते हामीले कारोबार एकीकृत गरेका हौं । अहिले हाम्रा शाखा बढेका छन् र कर्मचारी संख्या पनि करिब ३०० पुगेको छ।

मर्जरको एमओयू भएको दिनदेखि नै हामी ‘विन–विन’को अवस्थालाई ध्यानमा राखेर अघि बढेका छौं । मर्जर पनि ‘वान–इट–वान’ आधारमा भएको हो। त्यसैले व्यावसायिक रूपमा सबैलाई समेट्दै अघि बढ्ने दिशामा हामी छौं । मर्जरपछि अहिले हामी एक ढिक्का भएका छौं। हाम्रो व्यावसायिक गतिविधि पनि विस्तार गरेका छौं । डिजिटल बैंकिङलाई विशेष प्राथमिकता दिएका छौं। नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले प्राथमिकता दिएका क्षेत्रमा पनि हामी अघि बढिरहेका छौं।

मर्जरपछि कर्मचारी समायोजनलगायतका विषयमा विभिन्न चुनौती आउन सक्छन्। त्यसलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ?

विभिन्न विज्ञहरूले पनि भन्ने गरेका छन् । कुनै पनि संस्थामा सबैभन्दा महत्वपूर्ण पक्ष ‘ह्युमन क्यापिटल’ अर्थात् मानव संसाधन हो। कर्मचारी व्यवस्थापनका लागि संस्थासँग आफ्नै गाइडलाइन र बाइलज हुन्छन्। तर, मान्छेको मनोविज्ञान पनि महत्वपूर्ण हुन्छ। ‘हामी यतातिरको कि उतातिरको’ भन्ने भावना कर्मचारीमा आउन सक्छ। त्यसलाई व्यवस्थापन गर्न हामी ‘राइट म्यान इन राइट प्लेस’को अवधारणाअनुसार अघि बढिरहेका छौं ।

कसलाई कुन ठाउँ उपयुक्त हुन्छ भन्ने कुरा व्यक्तिको क्षमता र काम गर्ने दक्षताका आधारमा निर्णय गरिरहेका छौं । चिनजानको आधारमा होइन, संस्थालाई उपयुक्त मान्छे चाहिएको हो। त्यसैले उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने गरी हामी अघि बढेका छौं । व्यावसायिक ढंगले अघि बढ्ने हो भने कर्मचारी व्यवस्थापन ठूलो समस्या बन्ने अवस्था म देख्दिनँ।

अहिले बैंक तथा वित्तीय संस्थाका लागि सबैभन्दा ठूलो चुनौती खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बनेको छ। यसको व्यवस्थापनमा पोखरा फाइनान्स कसरी अघि बढिरहेको छ?

हाम्रो अर्थतन्त्रभित्रका विभिन्न परिस्थितिसँग जुध्दै आउँदा गैरबैंकिङ सम्पत्ति र निष्क्रिय कर्जा अर्थात् एनपीएलको विषय प्रत्यक्ष रूपमा ऋण र जनतासँग जोडिएको विषय हो। दक्षिण एसियाकै उदाहरण हेर्दा पनि भारत र नेपालको व्यवस्था केही फरक छ। हामी एकै वर्षमा खराब कर्जालाई वर्गीकरण गर्ने व्यवस्था गछौं भने अन्य देशमा त्यसका लागि फरक समयसीमा हुन सक्छ।

हामी भने न्यायिक निकाय र नियामक निकायले तोकेको नियम–कानुनअनुसार नै अघि बढ्ने हो। पछिल्ला केही आर्थिक वर्षमा आर्थिक गतिविधि अपेक्षाअनुसार चलायमान हुन सकेनन्। घरजग्गाप्रतिको आम मनोविज्ञान पनि केही कमजोर भएको छ।

पैसा हुने र किन्न सक्ने व्यक्तिले पनि तत्काल घरजग्गा किनेर फाइदा हुन्छ भन्ने सोच नराख्दा गैरबैंकिङ सम्पत्ति केही बढेको देखिन्छ। यसमा आम जनताको मनोविज्ञानले पनि ठूलो भूमिका खेलेको छ। तर बैंकिङ तथा वित्तीय क्षेत्रमा नियामक निकायले तोकेको पुँजी कोष र एनपीएलको व्यवस्थापन नगरी सुख छैन। त्यसैले हामी खराब कर्जाको अवस्था घटाउँदै गएका छौं र यसको व्यवस्थापनलाई निकै गम्भीरतापूर्वक लिएका छौं ।

पोखरा फाइनान्सले ग्रामीण क्षेत्र तथा साना उद्यमीलाई कसरी प्राथमिकता दिने योजना बनाएको छ?
प्राथमिकता प्राप्त क्षेत्रको व्यवस्था छ। कृषिलगायत उत्पादनशील क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था नै छ। त्यसअनुसार हामी पनि अघि बढिरहेका छौं । विगतमा केही ठूला ऋण लगानी गर्दा समस्या आएको अनुभव हामीसँग छ। त्यसैले अहिले हाम्रो प्राथमिकता साना उद्यमीमा केन्द्रित छ।
साना उद्यमी जन्माउनुपर्छ भन्ने हाम्रो स्पष्ट सोच छ। उनीहरूलाई कसरी दीर्घकालसम्म टिकाउ व्यवसाय गर्न सक्ने बनाउने र उनीहरूको व्यवसायलाई सुहाउँदो ब्याजदर कसरी निर्धारण गर्ने भन्ने विषयलाई प्राथमिकताका साथ हेरिरहेका छौं ।

अहिले सेयर बजारप्रति पनि लगानीकर्ताको मनोविज्ञान कमजोर देखिन्छ। ठूला लगानीकर्ता ‘वेट एन्ड सी’मा रहेको अवस्थामा सेयर बजार कसरी अगाडि बढ्ला?

सेयर बजार पनि मूलतः आम जनताको मनोविज्ञानसँग जोडिएको विषय हो। अहिले ठ्याक्कै भन्नुपर्दा धेरै ठूला लगानीकर्ता ‘वेट एन्ड सी’को अवस्थामा छन्। नेपालका ठूला कर्पोरेट हाउस तथा ठूला लगानीकर्ता थप सेयर कारोबारका लागि अहिले ‘केही पर्ख’ र हेरको अवस्थामा छन्। साना कारोबारीले मात्र सेयर बजार बढ्दैन।

नेपाल धितोपत्र बोर्डले पनि धेरै विषयमा समाधान खोजिसकेको अवस्था छ। अर्थ मन्त्रालय र नियामक निकायहरूले पनि बजारलाई सकारात्मक रूपमा हेरेको अवस्था छ। समग्र मेकानिजमलाई हेर्दा अहिले सेयर बजार केही माथि जानुपर्छ भन्ने सकारात्मक सोच देखिन्छ। त्यसैले केही सकारात्मक संकेत भने देखिएका छन्।

पोखरा फाइनान्समा लगानी गर्ने लगानीकर्ताले आगामी दिनमा कस्तो प्रतिफलको अपेक्षा गर्न सक्छन्?
म के भन्छु भने—पुँजीको न्याय भएपछि मात्रै सबैको न्याय हुन्छ। पुँजीलाई न्याय गर्न सकिएन भने कसैको न्याय हुँदैन। अहिले हामी खराब कर्जा व्यवस्थापनमा केन्द्रित छौं । खराब कर्जा व्यवस्थापन गरेपछि त्यसको प्रतिफल आउँछ। हाम्रो लगानीको गति पनि बढाएका छौं ।

हाम्रो पाँचवर्षे योजनाअन्तर्गत तीन वर्षभित्र राम्रो प्रतिफल दिने हाम्रो प्रतिबद्धता छ। एक वर्ष बितिसकेको छ, अब दुई वर्ष बाँकी छन्। त्यो अवधिसम्ममा हामी लगानीकर्तासम्म पुग्ने अवस्थामा हुनेछौँ भन्ने विश्वास छ।

अहिले एआई र डिजिटलाइजेसनको समय आइसकेको छ। पोखरा फाइनान्सले डिजिटलाइजेसनलाई कसरी अघि बढाइरहेको छ?

वास्तवमा अहिले डिजिटल युग हो। कोभिडअघि डिजिटल कारोबारको गति त्यति तीव्र थिएन। तर कोभिडपछि हाम्रो डिजिटलाइजेसन निकै तीव्र गतिमा अघि बढेको छ। अहिले बैंक तथा वित्तीय संस्थामा चेक लिएर आउने ग्राहकसमेत निकै कम भइसकेका छन्।

आईपीएस, मोबाइल बैंकिङ, क्यूआरमार्फत हुने भुक्तानीलगायत अधिकांश कारोबार डिजिटल माध्यमबाटै हुन थालेका छन्। छ–सात वर्षअघि अहिलेको डिजिटल अवस्थाको कल्पना गर्न पनि गाह्रो थियो। अबको पाँच वर्षपछि डिजिटल कारोबार अझै धेरै अगाडि जाने निश्चित छ। नेपाली बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग अझ व्यापक हुनेछ। यससँगै डिजिटल क्षेत्रका जनशक्तिको माग पनि ठूलो हुने देखिन्छ। त्यसैले आईटी क्षेत्र नेपालका लागि एउटा बलियो सम्भावनाको क्षेत्र हो।

अबको पाँच–सात वर्षमा मानिस बैंकसम्म आउनै नपर्ने अवस्था आउन सक्छ। ऋण लिनेदेखि भुक्तानीसम्मका सबै काम डिजिटल माध्यमबाट हुन सक्छन्। सरकारी भुक्तानीसमेत डिजिटल माध्यमबाट हुने अवस्था आउनेछ। त्यसैले पोखरा फाइनान्सलाई पनि डिजिटलमा केन्द्रित संस्थाका रूपमा अघि बढाउने हाम्रो योजना छ।

नेतृत्व सम्हालेको अवधिमा पोखरा फाइनान्सले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। आगामी दिनमा संस्थालाई कहाँ पु¥याउने योजना छ?

कुनै पनि संस्थाको पाँच वर्ष वा १० वर्षको योजना हुन्छ। हाम्रो योजना पनि हुन्छ। तर त्यो योजना देशको आर्थिक नीति, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ल्याउने नीतिमा पनि निर्भर गर्छ।
पहिले धेरै बैंक तथा वित्तीय संस्था थिए। त्यसपछि मर्जर हुँदै गए र अहिले वित्तीय संस्थाको संख्या घटेको छ। त्यसैले दीर्घकालीन स्थायित्वको विषय सरकारका नियम र नीतिसँग पनि जोडिएको हुन्छ। तर व्यक्तिगत रूपमा म के चाहन्छु भने, संस्थामा काम गरिसकेपछि पुँजीले न्याय पाउनुपर्छ।

लगानीकर्ताले प्रतिफल पाउनुपर्छ, कर्मचारीले बोनस पाउनुपर्छ, सरकारले कर पाउनुपर्छ। सर्वसाधारणले पैसा सुरक्षित रूपमा राख्न पाउनुपर्छ र आवश्यक पर्ने व्यक्तिले सहज रूपमा पैसा पाउनुपर्छ।

यी सबै पक्षलाई समेट्दै पोखरा फाइनान्सलाई ‘पब्लिक च्वाइस’को संस्था बनाउने हाम्रो टिमको कल्पना छ। त्यसै दिशामा हामी बिस्तारै अघि बढिरहेका छौं ।

अन्त्यमा, पोखरा फाइनान्सका ग्राहक, लगानीकर्ता र आम पाठकलाई केही भन्न चाहनुहुन्छ?
धेरै कुरा त छैन। म धेरै ‘हाइफाइ’मा जान चाहन्नँ। हामी आन्तरिक रूपमा निरन्तर एक्सरसाइज गरिरहेका छौँ। हरेक विषयलाई सकारात्मक मोड दिने र त्यसलाई छिटोभन्दा छिटो परिणाममा पु¥याउने हाम्रो प्रयास हुन्छ। कुनै विषयमा लामो समय बहस गरेर अल्झिरहनेभन्दा त्यसको ‘एक्जिट पोइन्ट’ खोजेर समाधानतर्फ जानुपर्छ भन्ने मेरो मान्यता हो।

अन्ततः नेपाली उपभोक्ता हुन् वा जनता, सरकार हो वा वित्तीय संस्था हामी सबै यसका स्टेकहोल्डर हौं । संस्था बाँच्यो र ठूलो हुँदै गयो भने त्यसबाट सबैले लाभ लिन सक्छौं। त्यसैले आर्थिक क्षेत्रमा सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ।

नकारात्मक विषयहरू धेरै ठाउँमा हुन्छन्। क्रिटिकल थिंकिङ चाहिन्छ, क्रिएटिभिटी पनि चाहिन्छ। तर कसैले कुनै काम ग¥यो भन्दैमा त्यसलाई नकारात्मक रूपमा मात्रै हेर्नुपर्छ भन्ने छैन। सकारात्मक पक्षबाट पनि सोच्नुपर्छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit