Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

बाढी प्रभावित बीमितलाई जीवन बीमाको दाबी भुक्तानी सहज

बाढी प्रभावित बीमितलाई जीवन बीमाको दाबी भुक्तानी सहज
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित बीमित तथा तिनका परिवारलाई जीवन बीमाको दाबी भुक्तानी लिन सहज बनाएको छ। बाढीका कारण मृत्यु भएका तथा बेपत्ता भएका बीमितका परिवारलाई आवश्यक कागजात र प्रक्रियामा सहजीकरण गर्दै बीमा रकम भुक्तानी गर्ने व्यवस्था गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बीमित तथा तिनका हकवालाको हितलाई ध्यानमा राख्दै प्राधिकरणले सबै जीवन बीमा तथा लघु जीवन बीमा कम्पनीलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। प्राधिकरणले मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व बीमा रकम भुक्तानी प्रक्रियालाई सरल बनाउन भनेको छ।

प्राधिकरणको निर्देशनअनुसार बाढीका कारण मृत्यु भएका बीमितको बीमा दाबी भुक्तानी माग गर्दा निवेदनमा बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर र दाबीकर्तासँगको नाता खुलाउनुपर्नेछ। साथै, बीमित र दाबीकर्ताबीचको नाता प्रमाणित हुने कागजात तथा दाबीकर्ताको पहिचान खुल्ने सरकारी परिचयपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जा पेस गर्न सकिनेछ। त्यस्तै, बाढीमा परी मृत्यु भएको वा बेपत्ता भएको पुष्टि गर्न अधिकारप्राप्त निकाय वा अधिकारीबाट जारी प्रमाणित विवरण वा सिफारिसपत्र आवश्यक पर्नेछ। यस्तो प्रमाणपत्रमा बाढी वा विपद्का कारण मृत्यु भएको व्यहोरा खुलाइएको हुनुपर्नेछ। मृत्युको न्यायिक घोषणा भएको अवस्थामा त्यसलाई समेत आधार मान्न सकिने व्यवस्था गरिएको छ।

बाढीका कारण सक्कल बीमालेख हराएको वा नष्ट भएको अवस्थामा पनि दाबी भुक्तानी प्रक्रियामा अवरोध नहुने व्यवस्था प्राधिकरणले गरेको छ। सक्कल बीमालेख उपलब्ध गराउन नसकिएमा बीमा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपिका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिनेछ। बीमितले बीमालेखको प्रतिलिपि माग गरेमा कम्पनीले निःशुल्क उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, बाढीका कारण बीमा कम्पनीका बीमासम्बन्धी कागजात नष्ट भएको अवस्थामा सम्बन्धित बीमित तथा बीमा अभिकर्ताले आवश्यक विवरण उपलब्ध गराई अभिलेख अद्यावधिक गर्न सहयोग गर्नुपर्नेछ। यसले भौतिक कागजात नष्ट भए पनि उपलब्ध अभिलेखका आधारमा बीमा सेवा निरन्तरता दिन सहज हुने प्राधिकरणको विश्वास छ।

बाढीका कारण आर्थिक कठिनाइमा परेका बीमितलाई राहत दिन प्राधिकरणले बीमाशुल्क तथा बीमालेख कर्जाको नियमित किस्ता भुक्तानीमा समेत सहुलियत दिएको छ। प्रभावित भएर बीमाशुल्क वा बीमालेख कर्जाको किस्ता तिर्न नसक्ने बीमितलाई बढीमा ६ महिनासम्म ब्याज नलाग्ने गरी भुक्तानीको म्याद थप गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, बाढीमा परी बेपत्ता भएका बीमितका परिवारले समेत बीमा दाबी भुक्तानी लिन सक्ने व्यवस्था गरिएको छ। त्यसका लागि सम्बन्धित हकवालाले भविष्यमा बेपत्ता भएका बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने स्वघोषणा वा प्रतिबद्धतापत्र बुझाउनुपर्नेछ। यस्तो प्रतिबद्धतापत्र प्राप्त भएपछि बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रिया अघि बढाउन सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणको यो व्यवस्थाले बाढीबाट प्रभावित परिवारलाई बीमा दाबी प्राप्त गर्न आवश्यक प्रक्रियागत झन्झट कम गर्नुका साथै आर्थिक राहत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit