Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

बैंकिङ सुधारका तीन प्राथमिकता तोक्दै अर्थमन्त्रीले भने– खराब कर्जा घटाएर उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ

बैंकिङ सुधारका तीन प्राथमिकता तोक्दै अर्थमन्त्रीले भने– खराब कर्जा घटाएर उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रमा बढ्दै गएको खराब कर्जाको चुनौतीलाई सम्बोधन गर्दै कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन नेपाल बैंक लिमिटेडलाई आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बैंक स्थापनाको ९०औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले बैंकले अब उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र डिजिटल रूपान्तरण तथा वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका हुन् ।

नेपालको पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंकले आफ्नो ऐतिहासिक विरासतलाई भविष्यको सफलतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले बैंकको सफलता निक्षेप र कर्जाको आकारले मात्रै मापन नहुने बताए ।‘बैंकिङ क्षेत्रको सफलता निक्षेप र कर्जाको आकारले मात्र होइन, राष्ट्रिय उत्पादन, रोजगारी र पुर्‍याएको योगदानबाट पनि मापन हुनुपर्दछ,’ उनले भने, ‘कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनु अपरिहार्य छ ।’ उनले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न नेपाल बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

अर्थमन्त्री वाग्लेले बैंकका लागि दोस्रो महत्वपूर्ण सुधारको क्षेत्र संस्थागत सुशासन र वित्तीय अनुशासन रहेको औँल्याए । जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो । ‘पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौतीलाई सम्बोधन गर्दै कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउनुपर्दछ,’ अर्थमन्त्रीले भने, ‘सरकारी स्वामित्वको बैंक भएकोले नेपाल बैंकले सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्दछ ।’

त्यस्तै, उनले बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्ने बताए । डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । डिजिटल रूपान्तरणसँगै वित्तीय समावेशीकरणलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्ने बताए ।

नेपालको अर्थतन्त्र अहिले महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै उनले उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारमा बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । ‘नेपाल बैंक लिमिटेड नेपालको आधुनिक बैंकिङ प्रणालीको जग हो। नौ दशकको यात्रामा यस बैंकले निक्षेप परिचालन, कर्जा प्रवाह, वित्तीय पहुँच विस्तार र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ,’ उनले भने, ‘इतिहासको गौरवलाई भविष्यको सफलतामा रूपान्तरण गर्ने आजको हाम्रो साझा जिम्मेवारी पनि हो ।’

नेपाल बैंकको स्थापनाको प्रसङ्ग स्मरण गर्दै ९० वर्षअघि बैंक स्थापना गर्दा तय गरिएका आर्थिक उन्नति, जनतालाई सुविधा र मुलुकको हितका उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ। ‘आर्थिक उन्नति, दुनियाँलाई सुविधा र मुलुकको बडिया हुन भन्ने उद्देश्य त्यतिबेलाको कानुनको प्रियमबलमा पनि रहेछ । त्यसैले कतिपय उद्देश्य कालजयी हुन्छन् भनेको नेपाल बैंकको हकमा हामी पाउँछौँ,’ उनले भने, ‘एउटा इतिहास बोकेको संस्थामा यहाँहरू कार्यरत हुनुहुन्छ ।’

उनले नेपाल सरकार र अर्थ मन्त्रालय बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण तथा वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न प्रतिबद्ध रहेको पनि बताए । यस्तै, अर्थमन्त्री वाग्लेले नेपाल बैंक आगामी दिनमा अझ सबल बन्दै नेपालको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्ने विश्वास व्यक्त गर्दै बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिए।

साझा: Facebook X WhatsApp Telegram

समय समीक्षा

editor

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit