काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको १०औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण र वार्षिक प्रतिवेदन अनुमोदन गरेको हो। काठमाडौंको बागबजारस्थित एक होटलमा आज सम्पन्न सभाले कम्पनीको पुँजी वृद्धि योजनालगायत अन्य प्रस्तावसमेत पारित गरेको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष सुशील हुमागाईँको अध्यक्षतामा सम्पन्न सभामा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनीका प्रमुख संस्थापक गोविन्द गुरुङ, सञ्चालक समिति सदस्यहरू तथा शेयरधनीहरूको उपस्थिति थियो।
कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा ३४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६२ लाख ७९ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ३४ करोड ८२ लाख रुपैयाँबाट बढेर ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी ३ करोड १० लाख ४८ हजार रुपैयाँ रहेको छ। सोही पुँजीका आधारमा १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको हो।
त्यस्तै, कम्पनीको लगानी पोर्टफोलियोको कुल उचित मूल्य करिब ३५ करोड १४ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। सभामा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले कम्पनीमा अवसरसँगै चुनौती पनि रहेको बताउँदै आगामी दिनमा अझ बढी लाभांश दिन सक्ने गरी कार्यसम्पादन गर्न शुभकामना व्यक्त गरेका थिए। कृषि विकास बैंकद्वारा स्थापित तथा प्रवर्द्धित कम्पनीले बैंक निक्षेप, ऋणपत्र, शेयर तथा म्युचुअल फण्डलगायतका क्षेत्रमा लगानी व्यवस्थापन गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्