काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् भने १४ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।
बैंकहरूले सार्वजनिक गरेको मंसिर महिनाको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ । कात्तिकमा ४.०१३ प्रतिशत रहेको यस्तो ब्याजदर मंसिरमा ०.१०७ प्रतिशत बिन्दुले घटेर ३.९०६ प्रतिशतमा कायम भएको छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि घटेको छ। कात्तिकमा ३.००३ प्रतिशत रहेको संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर मंसिरमा ०.०१२५ प्रतिशत बिन्दुले घटेर २.९९०५ प्रतिशतमा झरेको छ ।
माछापुच्छ्रेले सबैभन्दा धेरै घटायो
मंसिरका लागि ब्याजदर घटाउने बैंकमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै कटौती गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १ प्रतिशत बिन्दुले घटाउँदै कात्तिकको ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ । कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ । बैंकले व्यक्तिगततर्फ ४.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत बिन्दुले घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशत बिन्दुले घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.६५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
यसैगरी, ब्याजदर घटाउने ६ बैंकबाहेक अन्य १४ बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा सानिमा बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ। यो मंसिर महिनाका लागि वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च दर हो। बैंकले संस्थागत मुद्दती निक्षेपमा ३.५१ प्रतिशत ब्याजदर तोकेको छ। व्यक्तिगत मुद्दती निक्षेपमा प्रभु बैंकले ४.२५ प्रतिशत, नेपाल बैंकले ४.१५ प्रतिशत तथा हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
ब्याजदर यथावत् राख्ने अन्य बैंकमा एभरेष्ट बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पनि रहेका छन् । यससँगै मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ ।















प्रतिक्रिया दिनुहोस्