काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले असोज मसान्तसम्म १ अर्ब ६५ करोड ५९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.१२ प्रतिशतले घटेको हो । खुद नाफामा सामान्य संकुचन आए पनि कम्पनीको मुख्य आम्दानी स्रोत विद्युत् बिक्रीमा भने सुधार देखिएको छ। असोज मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीबाट ३ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८५ करोड ५१ लाख ४९ हजार रुपैयाँ थियो । यसरी विद्युत् बिक्री आम्दानी २.२८ प्रतिशतले बढेको छ ।
त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ७१ करोड ४७ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आवको सोही अवधिमा बढेर २ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ । तर, वित्तीय खर्चमा भएको वृद्धिले खुद नाफामा दबाब परेको देखिन्छ। गत वर्षको असोज मसान्तसम्म १ अर्ब ४ करोड ५९ लाख रुपैयाँ रहेको वित्तीय खर्च यस वर्ष बढेर १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । विद्युत् बिक्री र सञ्चालन नाफामा सुधार भए पनि वित्तीय लागत बढ्दा त्यसको प्रत्यक्ष प्रभाव खुद नाफामा परेको हो ।
कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ । सञ्चित नोक्सानी भने घटेर १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी १२ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ थियो ।समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ८२ पैसा कायम भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ रुपैयाँ ९१ पैसा थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा रहेको छ, जुन गत वर्षको ५३ रुपैयाँ २५ पैसाभन्दा कम हो। असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर सम्पत्ति मूल्य ३८३ रुपैयाँ ९९ पैसा र तरलता अनुपात १.८४ रहेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना हाल पूर्ण रूपमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार असोज मसान्तसम्म नेपाल सरकारलाई बुझाउनुपर्ने नवौँ अर्धवार्षिक किस्ता तथा अन्य ऋणदाता संस्थाहरूको १९औँ त्रैमासिक किस्ता र ब्याज भुक्तानी गरिसकिएको छ । कम्पनीले ऋणदाता बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफलपछि गत आर्थिक वर्षको साउनदेखि दीर्घकालीन ऋणको ब्याजदर स्थिर रहने गरी घटाइएको जनाएको छ। यसबाट आगामी दिनमा वित्तीय खर्च कम भई कम्पनीको वित्तीय अवस्थामा थप सुधार आउने अपेक्षा गरिएको छ । यसैबीच, २०८१ असोज १२ गतेको पहिरोबाट क्षति पुगेका आयोजनाका संरचनाको मर्मत तथा पहिरो रोकथामसम्बन्धी अधिकांश काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । त्यस्तै, ड्याम अपरेसन कन्ट्रोल बिल्डिङ निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको छ।















प्रतिक्रिया दिनुहोस्