काठमाडौं। कुमारी बैंक लिमिटेडको क्रेडिट रेटिङ एक तह स्तरोन्नति भएको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले बैंकको इस्युअर रेटिङ ‘डबल बी प्लस’ बाट बढाएर ‘ट्रिपल बी माइनस’ कायम गरेको हो। रेटिङ प्रतिवेदनअनुसार बैंकको ६ अर्ब रुपैयाँ बराबरको सबअर्डिनेटेड डिबेन्चरको रेटिङसमेत ‘एल डबल बी प्लस’ बाट ‘एल ट्रिपल बी माइनस’ मा स्तरोन्नति गरिएको छ।
उक्त ऋणपत्रमा ३ अर्ब रुपैयाँको १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६ र ३ अर्ब रुपैयाँको ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६ छन्। यी क्रमशः सन् २०३० फेब्रुअरी १ र सन् २०३१ अप्रिल ८ मा परिपक्व हुनेछन्। इक्राका अनुसार रेटिङ सुधारको मुख्य आधार बैंकको पुँजीकोषमा आएको सुधार र नाफामा भएको वृद्धि हो। बैंकको प्राथमिक पुँजीकोष अनुपात २०८१ असारमा ७.७० प्रतिशत थियो। यो २०८३ असारमा बढेर ९.८७ प्रतिशत पुगेको छ। कुल पुँजी पर्याप्तता अनुपात पनि १२.३१ प्रतिशतबाट बढेर १३.५० प्रतिशत पुगेको छ।
यसैगरी, बैंकको वित्तीय अवस्थामा पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले २०८२/८३ मा ७ अर्ब ३६ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। खुद ब्याज आम्दानी ११ अर्ब ६२ करोड २० लाखबाट बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। सम्पत्तिमा प्रतिफल ०.४३ प्रतिशतबाट बढेर १.५८ प्रतिशत पुगेको छ।
नाफा वृद्धिमा मुख्य सञ्चालन मुनाफाको स्थिरता र यसअघि राखिएको अतिरिक्त कर्जा नोक्सानी व्यवस्था फुकुवा हुनुको योगदान रहेको इक्राले जनाएको छ। बैंकको खुद ब्याज मार्जिन भने २.७३ प्रतिशतबाट घटेर २.५७ प्रतिशतमा झरेको छ। निक्षेपको लागत ५.०९ प्रतिशतबाट घटेर ३.५३ प्रतिशत कायम भएको छ। तरल सम्पत्ति अनुपात करिब ४० प्रतिशत र कर्जा–निक्षेप अनुपात करिब ७७ प्रतिशत रहेकाले तरलताको अवस्था सहज देखिएको छ।
वित्तीय सूचकमा सुधार भए पनि बैंकको सम्पत्ति गुणस्तरमा दबाब कायमै छ। कुल निष्क्रिय कर्जा अनुपात ६.९५ प्रतिशतबाट बढेर ८.८३ प्रतिशत पुगेको छ। यो बैंकिङ क्षेत्रको औसत ५.५६ प्रतिशतभन्दा निकै माथि हो। खुद निष्क्रिय कर्जा अनुपात पनि ०.७४ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ। यस्तै, भाखा नाघेको कर्जा २२.५५ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको कुल कर्जाको करिब २५ प्रतिशत हिस्सा शीर्ष २० ऋणी समूहमा केन्द्रित छ। यो बैंकको प्राथमिक पुँजीको करिब २०४ प्रतिशत बराबर हो। शीर्ष २० निक्षेपकर्ताको हिस्सा पनि कुल निक्षेपको करिब २४ प्रतिशत छ। यसले केही ठूला ऋणी वा निक्षेपकर्तामा निर्भरता बढाएको छ। इक्राले मध्यपूर्वको तनाव, आपूर्ति शृङ्खलामा अवरोध, महँगी र पर्यटन क्षेत्रमा पर्न सक्ने असरलाई समेत जोखिमका रूपमा औँल्याएको छ।
आगामी दिनमा खराब कर्जा घटाउँदै नाफा र पुँजीकोषको सुधार कायम राख्न सके बैंकको रेटिङ थप बढ्न सक्नेछ। तर, सम्पत्ति गुणस्तर थप बिग्रिएमा वा नियामकीय पुँजी तथा तरलता अनुपात कायम गर्न नसकेमा रेटिङमा नकारात्मक दबाब पर्न सक्ने इक्राले उल्लेख गरेको छ ।















प्रतिक्रिया दिनुहोस्