काठमाडौं। नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित झापामा निर्माण हुने ग्रिनफिल्ड पेट्रोलियम भण्डारण टर्मिनलको संयुक्त शिलान्यास गरिएको छ।
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट एकसाथ स्विच अन गरेर झापाको चारआलीमा निर्माण गरिने अत्याधुनिक पेट्रोलियम भण्डारण टर्मिनलको शिलान्यास गरेका हुन् ।
नेपाल–भारत सहयोगअन्तर्गत अघि बढाइएको उक्त परियोजनाले नेपालको पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण तथा वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। दुवै प्रधानमन्त्रीको संयुक्त शिलान्याससँगै परियोजना कार्यान्वयनले औपचारिक गति पाएको छ ।
चारआलीमा बन्नेछ आधुनिक भण्डारण केन्द्र
नेपाल आयल निगमका अनुसार झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा ग्रिनफिल्ड टर्मिनल निर्माण गर्ने योजना छ। नेपाल आयल निगमको स्वामित्वमा रहेको २३ बिघा बढी जग्गामा यो पूर्वाधार निर्माण गरिनेछ। परियोजनाअन्तर्गत पेट्रोलियम भण्डारण ट्याङ्की, ट्याङ्कर लोडिङ तथा अनलोडिङ सुविधा, पम्पिङ प्रणाली, स्वचालित नियन्त्रण प्रणाली, अग्नि नियन्त्रण प्रणाली र अन्य आवश्यक प्राविधिक संरचना निर्माण गरिनेछन्। प्रस्तावित टर्मिनलमा ३५ हजार किलोलिटर डिजेल र ६ हजार ६ सय किलोलिटर पेट्रोल भण्डारण गर्ने योजना उल्लेख छ ।

सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन
यो टर्मिनल भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म निर्माण हुने अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनासँग जोडिएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) का अनुसार प्रस्तावित पाइपलाइन करिब ५० किलोमिटर लामो हुनेछ। यसको ३६ किलोमिटर भारतमा र १४ किलोमिटर नेपालमा पर्नेछ। पाइपलाइनको व्यास ८ इन्च रहनेछ र यसको वार्षिक ढुवानी क्षमता १० लाख मेट्रिक टन हुनेछ । भारतको सिलिगुडीस्थित आईओसीको टर्मिनलबाट सुरु हुने पाइपलाइन नेपालको झापा हुँदै चारआलीस्थित भण्डारण केन्द्रसम्म पुग्नेछ। यसबाट पूर्वी नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न लामो दूरीसम्म ट्याङ्करमार्फत इन्धन ढुवानी गर्नुपर्ने निर्भरता घट्ने अपेक्षा गरिएको छ ।
नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकाससम्बन्धी समझदारीअनुसार परियोजना अघि बढाइएको हो। सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुई देशबीच पेट्रोलियम पूर्वाधार निर्माणसम्बन्धी सहमति भएको थियो।सम्झौताअनुसार सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन, अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन तथा झापाको ग्रिनफिल्ड टर्मिनल निर्माणमा भारत सरकार तथा भारतीय आयल कर्पोरेसनको आर्थिक सहयोग रहनेछ। चितवनको लोथरमा निर्माण हुने भण्डारण टर्मिनल भने नेपाल आयल निगमको लगानीमा निर्माण हुनेछ ।
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनका चारवटै परियोजनालाई समेट्दा कुल लगानी करिब २४ अर्ब ५० करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।त्यसैगरी, चारआलीमा निर्माण हुने आधुनिक भण्डारण केन्द्रले इन्धनको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न तथा आकस्मिक अवस्थामा आवश्यक मौज्दात व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ । परियोजनामा आधुनिक निगरानी तथा सुरक्षा प्रविधि प्रयोग गर्ने योजना छ । ईआईए प्रतिवेदनमा पाइपलाइनको सुरक्षा र चुहावट नियन्त्रणका लागि क्याथोडिक प्रोटेक्सन, अप्टिकल फाइबरमा आधारित एससीएडीए प्रणाली तथा आवश्यक स्थानमा होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ प्रविधि प्रयोग गर्ने उल्लेख छ। टर्मिनलमा पनि अग्नि नियन्त्रण, इन्धन वाष्प व्यवस्थापन तथा तेल मिसिएको पानी प्रशोधन प्रणाली राखिनेछ।















प्रतिक्रिया दिनुहोस्