Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

प्रधानमन्त्री बालेन भारत प्रस्थान, ऊर्जा र आर्थिक सहकार्य मुख्य प्राथमिकतामा

प्रधानमन्त्री बालेन भारत प्रस्थान, ऊर्जा र आर्थिक सहकार्य मुख्य प्राथमिकतामा
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्।उनलाई कार्यवाहक प्रधानमन्त्री तथा उर्जा मन्त्री विराजभक्त श्रेष्ठलगायतले विदाइ गरे ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी छन्। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व, सरकारी अधिकारी, व्यवसायी र सञ्चारमाध्यमका प्रतिनिधि सम्मिलित टोलीले भ्रमणलाई आर्थिक तथा रणनीतिक सहकार्य विस्तारको अवसरका रूपमा लिएको छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन्।त्यस्तै, स्वकीय सचिव सुवास शर्मा, उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन प्रतिनिधिसहित भ्रमण टोलीमा कुल ३५ जना सहभागी छन्। भ्रमणका क्रममा नेपाल र भारतबीच विशेषगरी ऊर्जा, व्यापार, पारवहन, लगानी, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका विषयले प्राथमिकता पाउनेछन्। दुई देशबीच आर्थिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

नेपालको जलविद्युत् उत्पादन र विद्युत् व्यापार विस्तारका लागि भारतीय बजार महत्वपूर्ण रहँदै आएको अवस्थामा प्रधानमन्त्री शाहको भ्रमणलाई ऊर्जा सहकार्यका दृष्टिले पनि चासोका साथ हेरिएको छ। ऊर्जा पूर्वाधार, सीमापार प्रसारण लाइन तथा द्विपक्षीय विद्युत् व्यापारका विषयमा हुने छलफलले आगामी सहकार्यको दिशा तय गर्न सक्ने अपेक्षा गरिएको छ।त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ। यी क्षेत्रसँग सम्बन्धित विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा.एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्। भ्रमणको दोस्रो दिन सोमबार मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। उक्त वार्तामा दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउने तथा आर्थिक, व्यापारिक र विकास साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा छलफल हुनेछ।

सोही दिन प्रधानमन्त्री शाह नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ। दुई देशबीच राजनीतिक सम्बन्धसँगै आर्थिक तथा विकास साझेदारीलाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको यस भ्रमणलाई नेपालले आफ्नो आर्थिक विकासका प्राथमिकता भारतसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा समेत लिएको छ। प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ। भ्रमण टोली स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धिबारे जानकारी दिने कार्यक्रम रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit