काठमाडौं । रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल थालेको छ। श्रमिकका गुनासा सम्बोधन गर्न सम्बन्धित नेपाली दूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय अघि बढाएको सरकारले नेपाली श्रमिक पठाउने म्यानपावर कम्पनी तथा वैदेशिक रोजगार व्यवसायी संस्थाको भर्ना प्रक्रिया र गतिविधिमाथि समेत अनुगमन तथा छानबिन सुरु गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले रोमानियामा रहेका नेपाली श्रमिकको हकहित र अधिकार संरक्षणका लागि जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाएको हो। रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको उक्त दूतावासमार्फत श्रमिकका गुनासा सम्बोधन र समस्या समाधानका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ। यसैगरी, वैदेशिक रोजगार विभागले रोमानियामा समस्यामा परेका नेपाली श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूले भोगिरहेका समस्या तथा गुनासो संकलन गरिरहेको छ। ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट श्रमिकले उपलब्ध गराएका सूचना र गुनासोका आधारमा समस्या समाधानका लागि आवश्यक पहल भइरहेको मन्त्रालयले जनाएको छ।
श्रमिकका गुनासा प्राप्त भएपछि विभागले रोमानियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा संलग्न इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलगायत वैदेशिक रोजगार व्यवसायी संस्थाको गतिविधिमाथि समेत निगरानी बढाएको हो। विभागले ती संस्थाको श्रमिक छनोट तथा भर्ना प्रक्रिया, सेवा शुल्क असुली र अन्य क्रियाकलापबारे अनुगमन तथा छानबिन सुरु गरेको छ। श्रमिकबाट प्राप्त गुनासो, सूचना र प्रारम्भिक तथ्यका आधारमा सम्बन्धित संस्थाको भूमिका तथा वैदेशिक रोजगारीमा पठाउँदा अपनाइएको प्रक्रियाको अध्ययन भइरहेको विभागले जनाएको छ। अनुगमनका क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यकताअनुसार थप विस्तृत अनुसन्धान अघि बढाइनेछ।
विशेषगरी गैरकानुनी सेवा शुल्क असुली, भ्रामक सूचना प्रवाह, श्रमिकमाथि अनुचित दबाब, रोजगारीका सर्तमा अनियमितता वा अन्य गैरकानुनी गतिविधि भएको पाइएमा सम्बन्धित संस्था तथा व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ।रोमानियामा नेपाली श्रमिकको उपस्थिति बढ्दै गइरहेको सन्दर्भमा मन्त्रालयले तत्काल देखिएका समस्या समाधानसँगै आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन पनि नियमन र अनुगमनलाई प्राथमिकता दिएको मन्त्रालयले उल्लेख गरेको छ।















प्रतिक्रिया दिनुहोस्