काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक कारोबारमा मात्र सीमित नराखी उत्पादन, लगानी, प्रविधि र नवप्रवर्तनमा आधारित रणनीतिक आर्थिक साझेदारीका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस फोरम’ मा धारणा राख्दै अध्यक्ष अग्रवालले नेपाल र भारतबीचको भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, सांस्कृतिक समानता, आपसी विश्वास र साझा आर्थिक आकांक्षालाई आर्थिक सहकार्यको बलियो आधारका रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् । उनले नेपाल र भारतले एकअर्कालाई केवल वस्तु तथा सेवाको बजारका रूपमा नभई उत्पादन, नवप्रवर्तन, लगानी, प्रविधि हस्तान्तरण र साझा समृद्धिका साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिए। लामो समयदेखि घनिष्ठ आर्थिक सम्बन्ध कायम रहे पनि व्यापार, लगानी र औद्योगिक सहकार्यका क्षेत्रमा उपलब्ध सम्भावनाको पूर्ण उपयोग हुन नसकेको उनको भनाइ थियो ।
अग्रवालले नेपाल–भारत आर्थिक साझेदारीलाई थप परिणाममुखी बनाउन व्यापार सहजीकरण र बजार पहुँच, लगानी तथा औद्योगिक सहकार्य, ऊर्जा र कनेक्टिभिटी, प्रविधि तथा डिजिटल अर्थतन्त्र एवं पर्यटन, कृषि र साना तथा मझौला उद्यमलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनका अनुसार दुई देशबीचको व्यापार विस्तारका लागि गैरभन्सार अवरोध हटाउने, भन्सार प्रक्रिया सरल बनाउने, सीमावर्ती नाकामा हुने ढिलाइ न्यूनीकरण गर्ने, व्यापारिक मापदण्डमा सामञ्जस्यता कायम गर्ने तथा नीतिगत स्थिरता र पूर्वानुमानयोग्यता सुनिश्चित गर्नु आवश्यक छ । सीमापार व्यापारलाई समय र लागतका हिसाबले सहज बनाउँदै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु दुवै देशको साझा प्राथमिकता हुनुपर्ने उनले उल्लेख गरे ।
भारतीय लगानीका लागि नेपालमा व्यापक सम्भावना
नेपालमा जलविद्युत्, कृषि, उत्पादनमूलक उद्योग, सूचना प्रविधि, पूर्वाधार, स्वास्थ्य सेवा तथा खनिजमा आधारित उद्योगलगायत क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेको अध्यक्ष अग्रवालले बताए। भारतीय लगानीकर्ताले संयुक्त लगानी, प्रविधि हस्तान्तरण, मूल्य शृंखला एकीकरण र दीर्घकालीन पुँजी परिचालनमार्फत नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनको धारणा थियो । उनले ऊर्जा सहकार्यलाई नेपाल–भारत आर्थिक सम्बन्धको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए । यसका लागि विद्युत् व्यापार विस्तार, सीमापार प्रसारण पूर्वाधारको विकास र ऊर्जाको उपयोग गर्ने उद्योगहरूमा लगानी प्रवद्र्धन गर्नुपर्ने उनले बताए । त्यस्तै, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न कृत्रिम बुद्धिमत्ता (एआई), वित्तीय प्रविधि (फिनटेक), डिजिटल भुक्तानी प्रणाली, सूचना प्रविधिमा आधारित स्टार्टअप, नवप्रवर्तन र ज्ञान आदानप्रदानलाई द्विपक्षीय साझेदारीको अभिन्न हिस्सा बनाउनुपर्ने उनको भनाइ थियो ।
पर्यटन, कृषि र साना उद्यममा सहकार्यको अवसर
अग्रवालले पर्यटन, कृषि आधुनिकीकरण, खाद्य प्रशोधन तथा सूक्ष्म, साना र मझौला उद्यमबीचको सहकार्य विस्तारमा पनि नेपाल र भारतका लागि ठूलो अवसर रहेको औँल्याए । उनका अनुसार एकीकृत पर्यटन मार्गको विकास, सीमापार पर्यटन क्षेत्रमा लगानी, कृषि उत्पादनको आधुनिकीकरण र खाद्य प्रशोधन उद्योगको विस्तारले रोजगारी सिर्जना गर्नुका साथै समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउन सक्छ । निजी क्षेत्रका तर्फबाट धारणा राख्दै उनले नेपाल–भारत आर्थिक सहकार्य संवाद र घोषणामा मात्रै सीमित हुन नहुने स्पष्ट पारे । त्यसलाई ठोस साझेदारी, मापनयोग्य उपलब्धि र कार्यान्वयनयोग्य प्रतिबद्धतामा रूपान्तरण गर्नुपर्ने उनको जोड थियो ।
यस्तो साझेदारीले दुवै देशका युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, महिला नेतृत्वका उद्यमलाई सशक्त बनाउने तथा सूक्ष्म, साना र मझौला व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राख्नुपर्ने उनले बताए । नेपाल र भारतको आर्थिक भविष्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले सरकार, निजी क्षेत्र, लगानीकर्ता र व्यावसायिक संस्थाबीच निरन्तर सहकार्य, आपसी विश्वास र साझा प्रयासबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका अवसरमा आयोजित उक्त कार्यक्रममा दुई देशका पाँच दर्जन बढी निजी क्षेत्रका उद्योगी÷व्यवसायीसँगै नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा भारतका उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसादलगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्