Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

सुनकोसी–मरिणको सुरुङ बनेपनि प्रधानमन्त्री सचिवालयको हस्तक्षेपले हेडवर्क्स अलपत्र, ठेक्का रद्दबारे लेखा समितिले माग्यो जवाफ

सुनकोसी–मरिणको सुरुङ बनेपनि प्रधानमन्त्री सचिवालयको हस्तक्षेपले हेडवर्क्स अलपत्र, ठेक्का रद्दबारे लेखा समितिले माग्यो जवाफ
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चासो व्यक्त गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सात दिनभित्र आवश्यक कागजात माग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

समितिले ठेक्का रद्द गर्नुको कारण, निर्णय प्रक्रियाको कानुनी आधार र आयोजनालाई अघि बढाउने आगामी योजनासम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। समितिको बैठकमा सांसद मनिष झा र खुस्बु ओलीले ठेक्का रद्द गर्नुको औचित्य, आयोजनामा भएको ढिलाइ तथा यसमा राजनीतिक वा प्रशासनिक हस्तक्षेप भए–नभएको विषयमा प्रश्न उठाएका थिए। राप्रपा सांसद ओलीले ठेक्का रद्द गर्ने विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया प्रधानमन्त्री कार्यालय पुगेको समाचारबारे स्पष्ट जवाफ समेत मागेकी थिइन्। जवाफमा महानिर्देशक रजौरियाले प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरे । तर त्यहाँ कुनै हस्तक्षेप नभएको उल्लेख गर्दै रजौरियाले बचाउ गरे । विभागका महानिर्देशक  रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई गत कात्तिक १२ गते प्रहरीले नियन्त्रणमा लिएर काठमाडौंस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको थियो।

सत्तारुढ दलकै सांसद झाले भने आयोजनाको काम रोकिनुको कारण, ठेक्का रद्द गर्नुपर्ने अवस्था र अबको कार्यदिशाबारे स्पष्टता खोजेका थिए।उनले सरकारले टनेल ब्रेकथ्रु भइसकेको आयोजनाको मापदण्ड परिवर्तन किन गरियो भन्दै ठेक्का रद्द गर्नुको कारण माग गरे । ‘टनेल ब्रेकथ्रु भइसकेको प्रोजेक्टमा मापदण्ड किन परिवर्तन भयो ?’ झाले प्रश्न गरे, ‘यसको सबै छानबिन गर्नुपर्छ। अन्तरिम सरकारका बेलामा ठेक्का किन रद्द भएको थियो ?’

मधेसका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भागमा सिँचाइ सुविधा पुर्‍याउने आशा यही आयोजनासँग जोडिएको उल्लेख गर्दै उनले राम्रोसँग काम नभए मधेशमा आन्दोलन हुने चेतावनी समेत दिए। आयोजना पूरा भए मधेशका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुग्नुका साथै २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। त्यसैले मधेशको पाँचवटा जिल्लाको सिंचाइ पुर्‍याउने महत्वपूर्ण आयोजना अघि बढाउन आवश्यक भएको उनको भनाइ छ। झाले समितिमा भने, ‘यसको गाम्भिर्यता बुझ्न आवश्यक छ।’ १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु सन् २०२४ मेमै भइसके पनि त्यसपछि आयोजनाले अपेक्षित गति लिन नसकेको भन्दै झाले चिन्ता व्यक्त गरे। ठेक्का रद्द गर्नु मात्रै समाधान नभएको उल्लेख गर्दै उनले आयोजना सम्पन्न गर्ने समयसीमा र आगामी कार्ययोजना सार्वजनिक गर्न माग गरे।

बैठकमा ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले सुरुङ निर्माणको प्रगति राम्रो भए पनि हेडवर्क्स निर्माणमा ढिलाइ भएको बताए। अब आवश्यक खरिद प्रक्रिया पूरा गरी नयाँ बोलपत्रमार्फत निर्माण अघि बढाउने तयारी रहेको उनको भनाइ थियो। यता,महानिर्देशक रजौरियाले ठेक्का तोड्ने क्रममा बैंक ग्यारेन्टीबापत १ अर्ब २० करोड रुपैयाँ फिर्ता आएको जानकारी दिए। अब उक्त आयोजना कसरी र कति समयमा अघि बढ्छ भन्ने विषयमा मन्त्रालयले समितिमा पेस गर्ने जवाफ र समितिको निगरानी महत्वपूर्ण हुने देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit