हेटौंडा । कुनै समय हजारौँलाई रोजगारी दिएको हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको ऐतिहासिक ‘शान्ति (नेपाल) वनस्पति घ्यू उद्योग लिमिटेड’ यतिबेला बन्द अवस्थामा छ ।
राजनीतिक हस्तक्षेप, अस्थिर नीति र औद्योगिक योजनाको कमीका लामो समयदेखि उद्योग बन्द रहेको पूर्वकर्मचारी बताउँछन् । यो प्रतिष्ठान अहिले पुरानो भग्नावशेषका रूपमा मात्र बाँकी छ ।

पूर्वकर्मचारी रामबहादुर खड्काका अनुसार, यो उद्योगले करिब १० हजारभन्दा बढी नेपालीलाई नियमित रोजगारी दिएको थियो । तर, दलगत स्वार्थ, व्यवस्थापकीय कमजोरी र दीर्घकालीन औद्योगिक दृष्टिकोणको अभावले गर्दा उद्योग क्रमशः खस्किदै गयो र बन्द गर्नुपर्ने अवस्थामा पुग्यो । ‘राजा महेन्द्र वीरविक्रम शाहले आफ्नी बहिनी शान्तिदेवी शाहको नाममा स्थापना गराएको यो उद्योग गणतन्त्र आएपछि पूर्ण रूपमा बन्द भयो’, खड्काले भने, ‘स्थिर नीतिको अभाव र राजनीतिक भागबन्डाले हजारौँ परिवारको जीवननिर्वाहमा सहायक बनेको यो उद्योग आज बिर्सनलायक ढिस्को बनेको छ ।’
ऐतिहासिक पृष्ठभूमि
शान्ति वनस्पति घ्यू उद्योग १३ जुलाई १९७६ (२०३३ असार) मा स्थापना भई १६ जुलाई १९८२ (२०३९ असार) देखि उत्पादनमा आएको थियो । करिब ८९ रोपनी (४.५ हेक्टर) क्षेत्रफलमा फैलिएको यस उद्योगले ‘शान्ति ब्रान्ड’ नाममा वनस्पति घ्यू उत्पादन गथ्र्यो, जुन एक समय देशभर चर्चित थियो । काठमाडौंदेखि धरान, पोखरा र जनकपुरसम्म यसको माग उल्लेखनीय थियो ।
तर, समयक्रममा भारतसँगको प्रतिस्पर्धा, कर असमानता र कच्चा पदार्थको अभावजस्ता कारणले उद्योग कमजोर हुँदै गयो । १९९० को दशक तिर नै उद्योग संकटमा फसेको र २००७/०८ आर्थिक वर्षसम्म आइपुग्दा उत्पादन पूर्ण रूपमा बन्द नै भयो ।
बन्द हुनुका कारण
उद्योग बन्द हुनुका प्रमुख कारणहरूमा तत्कालिन समयमा भारतबाट सस्तो वनस्पति घ्यूको आयातमा वृद्धि, कर संरचनामा असमानता, व्यवस्थापनको कमजोरी र कच्चा मालको आपूर्तिमा समस्या प्रमुख रुपमा रहेको औंल्याइन्छ । नेपालमा कर दर निरन्तर बढ्दै गए पनि भारतमा वनस्पाती उद्योगलाई सब्सिडी र कर छुट दिइँदै आएको थियो । त्यसले गर्दा नेपाली उत्पादन महँगो बन्यो र बजारमा प्रतिस्पर्धा गर्न सकेन । साथै उद्योगभिको राजनीतिक हस्तक्षेप र कर्मचारी नियुक्तिमा दलगत भागबन्डा पनि यसको पतनको मुख्य कारण बनेको पूर्व कर्मचारीहरू बताउँछन् ।
‘व्यवसायिक दक्षता भन्दा पनि पार्टी निष्ठा हेरेर नियुक्ति गर्न थालियो,’खड्काले सम्झिए, ‘त्यो क्षणदेखि नै उद्योगको पतन सुरु भयो ।’
निष्क्रिय जग्गा र पुनःप्रयोगको प्रयास
हेटौंडा औद्योगिक क्षेत्र कार्यालयका अनुसार, उद्योग बन्द भएपछि लामो समयसम्म ८९ रोपनी जग्गा निष्क्रिय रह्यो । पछिल्ला वर्षहरूमा सरकारले त्यस्ता निष्क्रिय उद्योगका जग्गा फिर्ता लिएर पुनःउत्पादनशील बनाउन पहल थालेको छ । तर, ‘साल्ट ट्रेडिङ कर्पोरेसन’ लगायतका केही संस्थाले त्यही क्षेत्रमा लिजमा जग्गा लिएर पनि लामो समय उपयोग नगरेका कारण विवाद बढ्दै गएको स्थानीय उद्योगीहरूको भनाइ छ । औद्योगिक क्षेत्रका एक अधिकृतका अनुसार, ‘हेटौंडा औद्योगिक क्षेत्रका धेरै उद्योगहरू दशकौँदेखि निष्क्रिय छन् । सरकारले ती जग्गा पुनःसक्रिय बनाउन प्रयास थालेको छ, तर कानुनी र प्रशासनिक प्रक्रिया जटिल छन्।’
नीति अस्थिरताको असर
अर्थविद्हरूको ठहरमा, शान्ति वनस्पति घ्यू उद्योगको पतन नेपालमा दीर्घकालीन औद्योगिक नीतिको अभाव र राजनीतिक हस्तक्षेपको परिणाम हो । ‘यदि त्यतिबेला नीति स्थिर र कर सन्तुलन कायम भएको भए, यो उद्योग अझै सञ्चालनमा रहन्थ्यो,’ उद्योग चेम्बरका एक पूर्व अधिकारीले बताए ।
युगको अन्त्य
आजपनि उद्योगको भवन, चिम्नी र गोदामहरू हेटौंडा औद्योगिक क्षेत्रमा जस्ताको तस्तै देख्न सकिन्छ। तर, ती अब उत्पादनको प्रतीक होइन, एउटा गुमेको औद्योगिक युगको साक्षीका रुपमा हेर्न सकिन्छ । उद्योग बन्द भएकै तीन दशक भैसकेको छ ।
स्थानीयहरू भन्छन्, ‘शान्ति उद्योगले हेटौंडाको औद्योगिक पहिचान बनाएको थियो। अहिले त्यही पहिचान धुलोमा हराएको छ ।
’राजनीतिकरण, नीति अस्थिरता र योजनाको कमी-यी सबै कारणले ‘शान्ति वनस्पति घ्यू उद्योग’ मात्र होइन, नेपालकै औद्योगिक इतिहासको एउटा स्वर्ण अध्याय सकिएको हाम्रा सामु उदाहरण छन् । यस्तै अन्य उद्योगहरु पनि कतिपय बन्द बनेका छन् भने कतिपय बल्लतल्ल चलाइएका छन् । सार्वजनिक रुपमा चलाइएका संस्थानहरुको केहीलाई छाडेर बाँकी अधिकांश जसोको अवस्था पनि राम्रो छैनन् । यस्तोमा निजी क्षेत्रका केही उद्योगहरु समेत महशुल विवादको समस्यामा अल्झिदा विद्युत प्राधिकरणले लाइन काटिदिँदा केही दिनदेखि बन्द अवस्थामा छन् । यसले उत्पादन सँगै रोजगारीमा समेत असर पार्ने हुँदा विवाद समाधानतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी छ । नेपाल न्यूज बैंक















प्रतिक्रिया दिनुहोस्