Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

गुणस्तरहीन दूरसञ्चार सेवा सुर्धान सरकार कठोर बन्दै, इन्टरनेट सेवा प्रदायकलाई मन्त्रीको चेतावनी– ‘अब मिलाएर कमाउने दिन गए’

गुणस्तरहीन दूरसञ्चार सेवा सुर्धान सरकार कठोर बन्दै, इन्टरनेट सेवा प्रदायकलाई मन्त्रीको चेतावनी– ‘अब मिलाएर कमाउने दिन गए’
विज्ञापन
Advertisement

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता गरेर नाफा कमाउने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिएका छन्। सेवा प्रदायकले उपभोक्तालाई गुणस्तरीय सेवा दिएर मात्रै व्यवसायबाट नाफा आर्जन गर्नुपर्ने उल्लेख गर्दै उनले कानुनी दायित्व पूरा नगर्ने र नियामकको निर्देशन बेवास्ता गर्ने कम्पनीमाथि कारबाही हुने स्पष्ट पारेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री तिमिल्सिनाले इन्टरनेट सेवा प्रदायकलाई उपभोक्ताप्रति र नियामक निकायलाई आफ्नो कानुनी जिम्मेवारीप्रति जवाफदेही हुन निर्देशन दिएका हुन्। उनले दूरसञ्चार क्षेत्रमा वर्षौंदेखि सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि गुणस्तरमा अपेक्षित सुधार हुन नसकेको बताए। राजधानी काठमाडौंमै फोन सम्पर्क स्थापित गर्न कठिन हुने र उपभोक्ताले तोकिएअनुसारको इन्टरनेट गति प्राप्त गर्न नसक्ने अवस्थाले सेवा प्रदायकको कार्यक्षमतामाथि प्रश्न उठाएको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणको सरकारी लक्ष्य हासिल गर्न भरपर्दो दूरसञ्चार सेवा अनिवार्य रहेको उल्लेख गर्दै गुणस्तरीय सेवा नागरिकको आधारभूत आवश्यकता भएको बताए। ‘जब इन्टरनेट सेवा राम्रो हुँदैन, नागरिक फोन र इन्टरनेटको गुणस्तरीय पहुँचबाट वञ्चित हुन्छन्, त्यसपछि डिजिटल कनेक्टिभिटीको सार्थकता नै रहँदैन। गुणस्तरीय सेवा विलासिता होइन, न्यूनतम आवश्यकता हो,’ उनले भने। यस्तै, मन्त्री तिमिल्सिनाले सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्रै प्राथमिकता दिन नहुने स्पष्ट पारे। अनुमतिपत्र प्राप्त गर्दा गरेका प्रतिबद्धता र सम्झौताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनु कम्पनीहरूको दायित्व भएको उनको भनाइ थियो। उनले भने, ‘गुणस्तरीय सेवा दिएर मात्रै पैसा कमाउन सकिन्छ भन्ने स्थापित गर्नुपर्छ’

उनले दूरसञ्चार क्षेत्रमा जवाफदेहिताको अभाव रहेको औंल्याउँदै गल्ती गर्नेले त्यसको जिम्मेवारी र परिणाम बेहोर्नुपर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए। उनका अनुसार सेवा प्रदायकलाई पटकपटक अनुरोध गर्ने, पत्राचार गर्ने र निर्देशन दिने तर त्यसको पालना नभए पनि कुनै परिणाम नदेखिने अवस्था अन्त्य हुनुपर्छ। नियामक निकायले पनि आफ्नो अधिकार प्रयोग गर्न हिचकिचाउन नहुने उनको भनाइ थियो। ‘जबसम्म जवाफदेही नहुँदा त्यसको मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुँदैन, तबसम्म वास्तविक जवाफदेहिता स्थापित हुँदैन। अनुरोधले मात्र काम गर्दैन,’ मन्त्रीले भने, ‘केही पत्राचार र निर्देशनले पनि पुग्दैन ।’

यसैगरी, उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्नसमेत आग्रह गरे। नियामकसँग कारबाही गर्ने अधिकार मात्रै नभई कानुन कार्यान्वयन गराउने दायित्वसमेत रहेको उनले बताए।‘नियामकसँग गलत गर्नेहरूलाई कारबाही गर्ने अधिकार मात्रै होइन, दायित्व पनि नियामकको हो। नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ र सेवा प्रदायकहरूले कानुनविपरीत काम गर्दा नियामकको कारबाहीको डर महसुस गर्नुपर्छ,’ मन्त्री तिमिल्सिनाले भने।

अर्बौं बक्यौता नतिर्ने प्रवृत्ति स्वीकार्य छैन

मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा लामो समयदेखि देखिँदै आएको बक्यौता भुक्तानी, अनुमतिपत्रको अवधि र कानुनी दायित्व पालनासम्बन्धी समस्याप्रति पनि असन्तुष्टि व्यक्त गरे। सरकारलाई बुझाउनुपर्ने अर्बौं रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत ग्राहक र आम्दानी बढिरहने तर राज्यप्रतिको दायित्व पूरा नगर्ने प्रवृत्ति कसरी स्वीकार्य हुन सक्छ भन्ने प्रश्न उनले उठाए। ‘वर्षौँदेखि सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ किन बुझाइएन ? समस्या थिए भने समयमै किन सम्बोधन गरिएन ? समाधानका उपाय किन खोजिएनन् ? अनुमतिपत्रको अवधि समाप्त हुने, ग्राहक थपिँदै जाने, आम्दानी भइरहने तर राज्यलाई तिर्नुपर्ने दायित्व पूरा नगर्ने अवस्था कसरी स्वीकार्य हुन सक्छ ?’ मन्त्रीले प्रश्न गरे।

कुनै कानुनी वा नीतिगत अस्पष्टता भए समयमै समाधान खोज्नुपर्ने उनको भनाइ थियो। दायित्व पूरा नगरी पछि विभिन्न बहाना बनाउने प्रवृत्ति उचित नहुने उनले बताए। सरकार कुनै एउटा कम्पनीको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले समग्र दूरसञ्चार क्षेत्रको सुधार, स्वच्छ व्यावसायिक वातावरण र उपभोक्ताको हितलाई प्राथमिकतामा राखिएको बताए। उनले सेवा प्रदायकले पहिले आफूले पूरा गर्नुपर्ने कानुनी तथा व्यावसायिक दायित्व पूरा गर्नुपर्ने र त्यसपछि मात्रै नियामक निकायका निर्णयमाथि प्रश्न उठाउनुपर्ने धारणा राखे। ‘पहिला आफूले गर्नुपर्ने काम शतप्रतिशत पूरा गर्नुस्, त्यसपछि प्रश्न उठाउनुस्। आफैँ प्रश्नको घेरामा रहेको अवस्थामा अरूलाई प्रश्न गर्ने नैतिक आधार हुँदैन’ उनले कडा रुपमा भने।

‘अब मिलाएर कमाउने दिन गए’

मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रप्रति नागरिकमा भ्रष्टाचार र अनियमिततासँग जोडिएको नकारात्मक धारणा विकास हुनु चिन्ताको विषय भएको बताए। क्षेत्रको छवि सुधार्न सेवा प्रदायक, नियामक र सरकार सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। इन्टरनेटको मूल्य वृद्धिसम्बन्धी विषयमा गलत सूचना फैलाउने, बजारमा अफवाह सिर्जना गर्ने र उपभोक्तालाई भ्रममा पार्ने गतिविधि पनि स्वीकार्य नहुने उनले स्पष्ट पारे। उनले अब कानुन र नियामकलाई चुनौती दिएर वा मिलेमतोमा व्यवसाय सञ्चालन गरेर नाफा कमाउने प्रवृत्तिको अन्त्य हुने बताए। ‘अब मिलाएर कमाउने दिन गए। काम गरेर, जवाफदेहिता देखाएर र गुणस्तरीय सेवा दिएर मात्रै पैसा कमाउन सकिन्छ भन्ने स्थापित गर्नु छ,’ मन्त्रीले भने, ‘कानुन, नियामक, सरकार र उपभोक्तालाई चुनौती दिएर व्यवसाय चलाउने सोच राख्नेहरूका लागि आगामी दिन सहज हुने छैनन् ।’ मन्त्री तिमिल्सिनाले सरकारले दूरसञ्चार क्षेत्र सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न तयार रहेको पनि बताए। तर सरकारी सहयोगलाई कानुनविपरीतका गतिविधिलाई संरक्षण गर्ने माध्यमका रूपमा नबुझ्न उनको आग्रह छ।

निर्देशन मात्रै होइन, सुधारको समयसीमा र परिणाम चाहियो : प्राधिकरण अध्यक्ष

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले पनि दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि निर्देशन र निर्णय मात्रै पर्याप्त नहुने बताएका छन्। सेवा प्रदायकले सुधार गर्ने प्रतिबद्धता जनाउने तर व्यवहारमा सेवाको अवस्था उस्तै रहने प्रवृत्ति अन्त्य गर्न स्पष्ट कार्ययोजना र परिणाममुखी कार्यान्वयन आवश्यक रहेको उनले बताए। उनले सेवा प्रदायक, नियामक निकाय र सरकारबीच प्रभावकारी समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड दिए। नियामकले निर्णय गर्ने र सेवा प्रदायकले कार्यान्वयन गर्ने भनिए पनि त्यसको प्रत्यक्ष लाभ नागरिकले प्राप्त गर्न नसके निर्णयको औचित्य नरहने उनको भनाइ थियो। ‘नियामक निकायले सरकारसँग समन्वय गर्नुपर्छ, सेवा प्रदायकसँग पनि सहकार्य गर्नुपर्छ। समस्या समाधानका लागि निर्णय गर्ने तर त्यसको कार्यान्वयन नहुने अवस्था हुनुहुँदैन। निर्णय गरेर मात्रै हुँदैन, त्यसको प्रत्यक्ष लाभ नागरिकले पाउनुपर्छ,’ अध्यक्ष घिमिरेले भने।

उनले दूरसञ्चार सेवामा रहेका समस्या पहिचान गरी समाधानका उपाय, जिम्मेवारी र सुधारको समयसीमासहितको प्रतिवेदन तयार गर्नुपर्ने बताए। ‘निर्देशन दिएर मात्रै पुग्दैन। प्राधिकरणले निर्देशन दिने, सेवा प्रदायकले कार्यान्वयन गर्ने भनिए पनि सेवा जस्ताको तस्तै रहने हो भने त्यसको अर्थ हुँदैन। अब के समस्या छ, कसरी समाधान गर्ने र कहिलेसम्म सुधार हुन्छ भन्ने स्पष्ट कार्ययोजना र प्रतिवेदन चाहिन्छ,’ उनले भने। अध्यक्ष घिमिरेले दूरसञ्चार सेवालाई चुस्त, दुरुस्त, गुणस्तरीय र भरपर्दो बनाउन प्राधिकरण आवश्यक समन्वय, सहयोग तथा सहजीकरणका लागि तयार रहेको बताए। उनले सेवा प्रदायकलाई सेवा विस्तार र गुणस्तर सुधारका क्रममा देखिएका समस्या स्पष्ट रूपमा प्राधिकरणमा बताउन समेत समेत आग्रह गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit