काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार काठमाडौंस्थित होटल मर्क्युरमा सम्पन्न ४०औँ वार्षिक साधारण सभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो।
यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीलाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिइएको हो। त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन भएका छन् । यसअघि कार्यसमिति सदस्य रहेका खनालले अब उपाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । संघको नेतृत्व चयनका विषयमा बुधबार भएको अनौपचारिक छलफलबाटै पदाधिकारीबीच सहमति जुटेको जनाइएको छ। सोही सहमतिलाई साधारण सभाले औपचारिकता दिएको हो ।
नेपाल बैंकर्स संघमा पछिल्लो १३ वर्षदेखि उपाध्यक्षलाई नै अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ । नेपाल बैंकर्स संघ देशका वाणिज्य बैंकहरूको साझा संस्था हो। बैंकिङ क्षेत्रका साझा समस्या, नीतिगत विषय, ब्याजदर, तरलता व्यवस्थापन तथा नियामक निकायसँगको समन्वयमा संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्