काठमाडौं । प्रभु बैंक गण्डकी प्रदेशले मुस्ताङको घरपझोङ्ग गाउँपालिकामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सहभागीतामा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ।
डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिने उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्वसाधारणलाई बचत गर्न प्रेरित गर्नुका साथै बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्देश्यले शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नुपर्नेमा सचेत गराए । उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा हामी यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ।’
यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा छलफल गरे।
कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी गराए ।
घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउन उक्त कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको बताए । उनले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न छलफलले मद्दत गर्ने धारणा राखे ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अधिकारीहरूलगायत १२० जना भन्दा बढी स्थानीयले सहभागिता जनाएको बैंकले जनाएको छ ।
प्रभु बैंक गण्डकी प्रदेशले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजिटल वित्तीय सेवामा सचेतना जगाई सुरक्षित बनाउने आफ्नो प्रतिबद्धता अनुसार कार्यक्रमको आयोजना गरेको उल्लेख गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्