काठमाडौँ । क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आर्थिक वर्ष २०६७र\०६८ देखि २०७९\०८० सम्मका १३ आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ। अध्यक्ष तिलक बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न सभाले विगतका लेखापरीक्षण, ऋण असुली, संचालक समितिको परिवर्तन, नाम परिवर्तन तथा सम्भावित गाभिने वा प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको छ।
नेपाल राष्ट्र बैंकले २०६९ सालमा संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैंकिङ्ग कारोबारमा रोक लगाएपछि पहिलोपटक यो साधारणसभा आयोजना गरिएको हो। वित्तीय अवस्था सुधारपछि लेखापरीक्षण कार्य सम्पन्न गरी राष्ट्र बैंकको स्वीकृति प्राप्त गर्दै संस्थाले १३ वर्षपछिको वार्षिक सभा सम्पन्न गर्न सफल भएको हो।
सभाबाट संस्थापक शेयरधनी तर्फबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल र रञ्जन रायमाझी तथा सर्वसाधारण तर्फबाट निर्मल दाहाल र मोहन खड्का निर्विरोध निर्वाचित भएका छन्। स्वतन्त्र संचालकको भूमिकामा राजेश्वर श्रेष्ठ रहेका छन्।
प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले संस्थाको हालसम्मको प्रगति र आगामी योजना बारे जानकारी दिँदै संस्थालाई पुनः सामान्य बैंकिङ्ग कारोवारमा फर्काउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकमा फुकुवाका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
संस्थागत सुशासन र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै भविष्यमा अझ मजबुत वित्तीय संस्था बनाउने प्रतिबद्धता जनाइएको छ।

















प्रतिक्रिया दिनुहोस्