Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सगरमाथा संवाद दिगो हिमाली अर्थतन्त्र निर्माणको सशक्त माध्यम बन्नसक्छः प्रा डा राजेशकुमार राई

सगरमाथा संवाद दिगो हिमाली अर्थतन्त्र निर्माणको सशक्त माध्यम बन्नसक्छः प्रा डा राजेशकुमार राई
विज्ञापन
Advertisement

काठमाडौं । नेपालले विश्व समुदायको ध्यानाकर्षण गर्न आयोजना गरेको आजदेखि तीनदिने सगरमाथा संवाद आज काठमाडौंमा सुरु भएको छ । जलवायु परिवर्तनका प्रभावले सङ्कटमा परेका नेपालजस्ता हिमाली मुलुकको पहाडी अर्थतन्त्रलाई दीर्घकालीन स्थायित्व र समावेशी समृद्धितर्फ लैजान सगरमाथा संवाद सशक्त माध्यम बन्नसक्ने बताउँछन् वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका प्रा डा राजेशकुमार राई । सगरमाथा संवादले दिगो हिमाली विकासको यात्रामा न्यायपूर्ण र समावेशी अर्थतन्त्रको जग बसाल्ने सम्भावना बोकेको उनको विश्वास छ । प्रस्तुत छ प्रा डा राजेशकुमार राईसँग गरिएको कुराकानीको सम्पादित अंश :

विज्ञापन
Advertisement
Advertisement

जलवायु परिवर्तनका कारण नेपालजस्ता देशका पहाडी अर्थतन्त्रमा कस्तो असर गरिरहेको छ ?

जलवायु परिवर्तनले नेपालजस्ता हिमाली देशहरूको अर्थतन्त्रमा गहिरो असर पारिरहेको छ । यस्ता देशहरू प्रायःकृषि, पशुपालन, जलविद्युत् र पर्यटनजस्ता प्राकृतिक स्रोतमा निर्भर हुने र जलवायु परिवर्तमा संवेदनशील हुने भएकाले जलवायुजन्य सङ्कटहरू आर्थिक विकासमा बाधा बन्न पुगेका छन् । असामान्य वर्षा, खडेरी, हिमपात र बाढी–पहिरोजस्ता घटनाहरू बढ्दै गएका छन्, जसले खेतीबाली नष्ट गर्नुका साथै ग्रामीण जनताको जीविकोपार्जनमा प्रतिकूल असर पु¥याएको छ । नेपालमा झण्डै ६० प्रतिशत जनसङ्ख्या कृषि पेसामा निर्भर रहेका अवस्थामा जलवायु परिवर्तनले उत्पादन घटाउने, बीउ नष्ट गर्ने र मल तथा सिँचाइ प्रणालीमा समस्याहरू निम्त्याउने गरेको छ । यस्तै पर्यटन उद्योग, जसले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिन्छ । उच्च हिमाली क्षेत्रमा हिउँ पग्लनु, पदमार्गहरूमा क्षति पुग्नु र पर्यटकीय गन्तव्यहरू जोखिमपूर्ण बन्नुले प्रभावित भएको छ ।

यसैगरी जलविद्युत् उत्पादन पनि प्रभावित भइरहेको छ, किनकी नदीहरूको प्रवाहमा अस्थिरता आएको छ, जसले ऊर्जा आपूर्ति र औद्योगिक उत्पादनमा असर पारेको छ । यी सबै कारणले गर्दा जलवायु परिवर्तन हिमाली देशहरूको दीर्घकालीन आर्थिक स्थायित्व र विकासका लक्ष्यमा चुनौतीका रूपमा देखिएको छ ।

यी असरहरु न्यूनीकरणका लागि सगरमाथा संवादले कस्तो भूमिका खेल्न सक्छ ?

सगरमाथा संवाद एक बहुसरोकारवाला मञ्च हो, जसले वातावरण, अर्थतन्त्र तथा अन्य सामाजिक–सांस्कृतिक क्षेत्रहरूमा मानव कल्याणमा प्रत्यक्ष असर पार्ने समयसापेक्ष महत्वपूर्ण विषयहरूमा छलफल गर्दछ । यस संवादमार्फत जलवायु परिवर्तनले कृषिमा पारेको असर, पर्यटन उद्योगमा आएको गिरावट र जलविद्युत् उत्पादनमा देखिएको चुनौतीजस्ता विषयहरूमा गहिरो छलफल हुनसक्छ । यसले विकसित राष्ट्रहरूलाई जलवायु वित्तीय सहयोग प्रदान गर्न ध्यानाकर्षण गर्नसक्छ ।

साथै, विभिन्न देशहरूबीच अनुभव आदानप्रदान, नवीनतम् प्रविधिको प्रयोग र वातावरणमैत्री नीतिहरू विकास गर्न सहयोग पु¥याउँछ । सगरमाथा संवादले दिगो आर्थिक विकासका लागि नीति निर्माताहरूलाई मार्गदर्शन दिनसक्छ, जसले जलवायु अनुकूलन रणनीति निर्माणमा टेवा पु¥याउँछ । यस मञ्चका माध्यमबाट हिमाली देशहरूबीच सहकार्य र साझा रणनीति विकास गर्न सकिन्छ, जसले दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्न मद्दत पु¥याउँछ । यसैले, सगरमाथा संवाद जलवायु सङ्कटमा परेका मुलुकहरूको आवाज बुलन्द गर्ने सशक्त उपकरण बन्नसक्ने अपेक्षा गरिएको छ ।

सगरमाथा संवादजस्ता पहलहरूले नेपालको पहाडी अर्थतन्त्रको दिगो विकासमा के–कस्तो भूमिका खेल्न सक्छन्?

सगरमाथा संवादजस्ता पहलहरूले हिमाली अर्थतन्त्रको सुधारमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ । यस मञ्चले हिमाली क्षेत्रका विशिष्ट समस्याहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेर वातावरणीय र आर्थिक स्थायित्वका लागि सहयोग जुटाउन मद्दत पु¥याउँछ । यसले दिगो पर्यटन, कृषि, नवीकरणीय ऊर्जा र हरित उद्यमका अवसरहरूको प्रवद्र्धन गर्छ । साथै, जलवायु अनुकूलन र विपत् व्यवस्थापनका लागि वित्तीय र प्राविधिक सहयोग जुटाउने भूमिका निभाउँछ । यस मञ्चमार्फत हिमाली देशहरूबीच सहकार्य र साझा पहलहरूलाई सशक्त बनाउँदा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत मिल्छ ।

सगरमाथा संवादले जलवायु सङ्कटप्रति पहाडी समुदायहरूको आवाजलाई कसरी अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउन सक्छ?

सगरमाथा संवादमा विभिन्न देशका सरोकारवालाहरू र विशेषज्ञहरूको सहभागी हुने हुँदा हिमाली देशहरूको विशिष्ट समस्याहरू जस्तै जलवायु परिवर्तन, कृषि, पर्यटन र जलस्रोतको चुनौतीलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्छ । संवादले हिमाली जनताका अनुभव र आवश्यकता सम्बोधन गर्न विश्वको ध्यानाकर्षित गर्दछ, जसले नीति निर्माताहरू र दातृ निकायहरूलाई हिमाली क्षेत्रका लागि विशेष रणनीति र सहायता प्रदान गर्न प्रेरित गर्दछ । यस मञ्चमा सहभागी विविध सरोकारवाला र विशेषज्ञहरूले हिमाली क्षेत्रका आवाजलाई प्रभावकारी ढङ्गले साझा बुझाइ गरी अन्तर्राष्ट्रिय रूपमा पु¥याउन सहयोग पु¥याउँछन् ।

नेपालले सगरमाथा संवादमार्फत पहाडी अर्थतन्त्रलाई केन्द्रमा राखी के–कस्ता नीति सन्देश प्रवाह गर्न सकिन्छ?

सगरमाथा संवादमार्फत हिमाल जलस्रोत, जैविक विविधता र वातावरणीय सन्तुलनका लागि अनिवार्य रहेको कुरालाई उजागर गर्न सकिन्छ । जलवायु परिवर्तनले हिमाली समुदायको कृषि, पर्यटन र जीविकोपार्जनमा पारिरहेको असरलाई जोड दिँदै नेपालले अन्तरराष्ट्रिय सहयोग र जलवायु वित्तको औचित्यततालाई सशक्त रूपमा प्रस्तुत गर्न सक्छ । दिगो पर्यटन, हरित ऊर्जामा लगानी, र हिमाली पूर्वाधार विकासका अवसरहरू प्रस्तुत गर्न सकिन्छ । साथै, संवाद हिमाली क्षेत्रका आवाजलाई विश्व नीति निर्माणमा समेट्नुपर्ने आवश्यकता उठाउने अवसर हो र हिमाली राष्ट्रबीच सहकार्यमार्फत दीर्घकालीन आर्थिक समृद्धिमा सहयोग पु¥याउँछ ।

सगरमाथा संवादमा प्रस्तुत गरिएको ‘न्यायपूर्ण आर्थिक वृद्धि’ अवधारणाले पहाडी अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणमा कसरी काम गर्छ
जलवायु परिवर्तनले मुख्यतः हिमाली क्षेत्रमा प्राथमिक अर्थतन्त्रका क्षेत्रहरूमा प्रभाव पार्दछ, जसमा विपन्न र सिमान्तकृत वर्गहरू निर्भर रहने गर्दछन्, जसको अनुकूलन क्षमता कमजोर हुने गर्दछ । समावेशी र न्यायपूर्ण आर्थिक वृद्धिको अवधारणाले विपन्न र सीमान्तकृत समुदायहरूलाई आर्थिक गतिविधिमा सहभागी गराई उनीहरूको जलवायु जोखिम सहने क्षमता बढाउँछ । दिगो कृषि, वातावरणमैत्री पर्यटन र नवीकरणीय ऊर्जामा आधारित रोजगारीले नाफामुखी मात्र नभई प्रकृतिमैत्री सन्तुलित विकासलाई सम्भव बनाउँछ । यसले स्रोतहरूको न्यायसंगत उपयोग र वातावरणीय संरक्षणलाई प्रवद्र्धन गर्छ । साथै, निर्णय प्रक्रियामा सबैको आवाज सुनिश्चित गर्दा नीति प्रभावकारी हुन्छन्, जसले हिमाली क्षेत्रको दीर्घकालीन जलवायु उत्थानशीलता र आर्थिक स्थायित्वमा योगदान पु¥याउँछ ।

सगरमाथा संवादले हिमालय क्षेत्रका साझा जलवायु र आर्थिक चुनौतीहरूको समाधानका लागि क्षेत्रीय सहकार्यमा कस्तो भूमिका खेल्न सक्छ?

सगरमाथा संवादले हिमालय क्षेत्रका देशहरूलाई एकै स्थानमा ल्याई अनुभव, ज्ञान र समाधानहरूको आदानप्रदान गर्न अवसर दिन्छ । संवादले क्षेत्रीय नीति समन्वय र साझेदारी प्रवद्र्धन गर्दै विश्वास निर्माणमा सहयोग पु¥याउँछ । यसले दीर्घकालीन वातावरणीय संरक्षण र आर्थिक समृद्धिका लागि आवश्यक आधार तयार पार्न सहयोग पु¥याउने छ ।

दिगो पहाडी अर्थतन्त्र निर्माणका लागि मुख्य आधारभूत क्षेत्रहरू कुन–कुन हुन्? जलवायु परिवर्तनले यी क्षेत्रलाई पारेका असर के हुन् ?

दिगो हिमाली अर्थतन्त्रका आधारभूत क्षेत्रहरूमा कृषि, पशुपालन, पर्यटन, वन व्यवस्थापन, र जलविद्युत् उत्पादन पर्दछन्, जुन सबै जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित भइरहेका छन् । अनियमित वर्षा, खडेरी र असिनापातले अन्न उत्पादन घटाइरहेको छ भने खर्कहरू सुखा हुदा पशुपालन सङ्कटमा परेको छ । हिमाली पर्यटन मार्गहरूमा हिउँ पग्लनु, पहिरो आउनु र मार्गहरू क्षति हुनु जस्ता समस्याले पर्यटक आगमन घटाइरहेको छ भने सुरक्षा चुनौती पनि थपिएको छ । वन क्षेत्रमा डढेलो बढेको छ र जैविक विविधता संकटमा परेको छ । त्यस्तै, हिमनदीको पग्लनुले जलविद्युत् प्रवाह अस्थिर बनाउँदै उत्पादनमा चुनौती सिर्जना गरेको छ । यी सबै असरहरूले हिमाली जनजीवन र आर्थिक स्थायित्वमा गम्भीर प्रभाव पारेका छन् ।

सगरमाथा संवादलाई स्थानीय समुदाय, विशेषगरी महिला, जनजाति र युवा समुदायहरूको आर्थिक सशक्तीकरणसँग कसरी जोड्न सकिन्छ ?

सगरमाथा संवादले उनीहरूका आवाज, अनुभव र नवप्रवर्तनलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्छ, जसले नीति निर्माणमा समावेशी दृष्टिकोण ल्याउन सहयोग पु¥याउँछ । युवालाई हरित उद्यमशीलता, नवीकरणीय ऊर्जा र प्रविधिमा सशक्त पार्न तथा महिलाहरूलाई कृषि, पर्यटन र परम्परागत हस्तकला क्षेत्रमा आत्मनिर्भर बनाउने कार्यक्रमहरू संवादमार्फत प्रवद्र्धन गर्न सकिन्छ । त्यस्तै, आदिवासी जनजातिका परम्परागत ज्ञान र सीपलाई संरक्षण गरी आर्थिक क्रियाकलापमा रूपान्तरण गर्न सकिन्छ । सगरमाथा संवादले यी समूहहरूलाई सशक्त बनाउँदै हिमाली अर्थतन्त्रलाई समावेशी, न्यायपूर्ण र दिगो बनाउनसक्ने सम्भावना राख्दछ ।

सगरमाथा संवादले पहाडी क्षेत्रमा वैकल्पिक ऊर्जा, जल व्यवस्थापन र कृषि नवप्रवर्तनजस्ता क्षेत्रमा कसरी नीति संवाद अगाडि बढाएको छ ?

सगरमाथा संवादमा विभिन्न १२ विधामा नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार, स्थानीय समुदायहरूसँग छलफल गरिनेछन् । यसमा नवीकरणीय ऊर्जाहरू, जलस्रोतको दिगो उपयोग र जलवायु उत्थानशील कृषि प्रवद्र्धन गर्न आवश्यक रणनीतिहरूमा छलफल हुनेछ । परम्परागत ज्ञानमा आधारित नवप्रवर्तनलाई प्रवद्र्धन गर्दै खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्र मजबुत पार्ने नीतिहरूमा गहन रूपमा छलफल गरिनेछन् । यसरी सगरमाथा संवादले दीर्घकालीन दिगो विकासका लागि नीतिगत बहसलाई गहिरो बनाउँदै लगेको छ ।

के सगरमाथा संवाद जस्ता पहलहरूले अन्तर्राष्ट्रिय जलवायु वित्त नेपालका पहाडी क्षेत्रमा लक्षित गर्न प्रभावकारी भूमिका खेल्न सक्छन् ?

सगरमाथा संवादजस्ता पहलहरूले हिमाली क्षेत्रमा जलवायु वित्त आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यस संवादमार्फत हिमाली क्षेत्रका जलवायु जोखिम, जैविक विविधता संरक्षणको आवश्यकता र स्थानीय समुदायको दिगो जीवनयापनको चुनौतीलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिन्छ । यसले विकसित राष्ट्रहरू, अन्तर्राष्ट्रिय दातृ निकायहरू र वातावरणीय संस्थाहरूलाई जलवायु अनुकूलन, हरित पूर्वाधार, नवीकरणीय ऊर्जा र दिगो कृषि जस्ता क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्छ । साथै, सगरमाथा संवादले नीति निर्माता, विज्ञ र सरोकारवालाबीच समन्वय गरी वित्तीय स्रोत परिचालनका स्पष्ट कार्यदिशा तय गर्न सहयोग पु¥याउँछ, जसले हिमाली अर्थतन्त्रको सुदृढीकरणमा योगदान पु¥याउँछ ।

सगरमाथा संवादका माध्यमबाट दिगो पहाडी अर्थतन्त्र निर्माणको लागि दीर्घकालीन कार्यदिशा तय हुन्छ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ नि ?

सगरमाथा संवादले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहका सरोकारवाला, विज्ञ, नीति निर्माता र समुदाय प्रतिनिधिहरूलाई एउटै छानामुनि ल्याएर गहिरो बहस र विचार आदानप्रदानको अवसर प्रदान गर्ने हुँदा यसले हिमाली क्षेत्रका विशिष्ट आवश्यकता र चुनौतीहरूलाई केन्द्रमा राख्दै दिगो विकासका सम्भावनाहरू पहिचान गर्न सघाउँछ । साथै, यो वैज्ञानिक अनुसन्धान, परम्परागत ज्ञान र नवीन उपायहरूको समायोजनमार्फत व्यावहारिक र प्रभावकारी रणनीति निर्माणमा सहयोग पु¥याउन सक्छ । त्यसैले, सगरमाथा संवाद दीर्घकालीन दिगो हिमाली अर्थतन्त्र निर्माणतर्फ एक सशक्त माध्यम बन्न सक्छ । प्रगती ढकाल/  रासस 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit