बुटवल । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा युवा उद्यमी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बुटवलस्थित तिलोत्तमाको टाइगर प्यालेस रिसोर्टमा सम्पन्न कार्यक्रममा चौधरी ग्रुपका प्रवन्ध निर्देशक तथा सफल युवा उद्यमी निर्माण चौधरीको उपस्थितिमा विशेष प्रशिक्षण र अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा चौधरीले नेपालभित्रै रहेको लगानीको सम्भावना, चुनौती र अवसरका विविध पक्षमा आफ्ना अनुभवहरू साझा गरे।
यस्तै, चौधरीले युवा उद्यमीहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै व्यवस्थापनदेखि नवीन सोचको विकाससम्मका कुरामा लाग्नुपर्नेमा जोड दिएका थिए। उनले देशमा केही गर्न सकिन्न भन्ने धारणा गलत रहेको उल्लेख गर्दै त्यसलाई चिर्दै सिर्जनशील सोच र नवीन दृष्टिकोणसहित अघि बढ्न युवाहरुलाई आह्वान गरे।
उनले वर्तमान विश्व बजारको गतिशीलता र सूचना प्रविधिको तीव्र विकासलाई आत्मसात गर्दै युवाहरुले आर्थिक लगानी तथा औद्योगिक क्षेत्रमा नविनतम सोचको विकास गर्न सकिने धारणा राखे । कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र उपाध्यक्ष बाबुराम बोहोरासहितका व्यवसायीहरुको उपस्थिती रहेको थियो।
युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले कार्यक्रममा सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए भने कार्यक्रमको सञ्चालन लर्निङ चेयर विकास पाण्डेले गरेका थिए।

















प्रतिक्रिया दिनुहोस्