काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने सम्बन्धी सम्झौता भएको छ ।
कम्पनीले ११ मेगावट क्षमताको आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेकाले आफ्नो जारी पूँजीको २०% प्रतिशतले हुन आउने अर्थात् २०,२०,००,००० रकम बराबरको १०० रुपैयाँ अङ्कित दरमा २०,२०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको छ ।
चेपे हाइड्रोपावरले आईपीओ जारी गर्ने प्रयोजन हेतु मुक्तिनाथ क्यापिटललाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक को रूपमा नियुक्त गरेको छ । दुईपक्षबीच भएको सम्झौतामा दूधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानाङ्ग र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।
दूधपोखरी चेपे हाइड्रोपावरले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने ऐतिहासिक चेपे खोलामा ११ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७४ कात्तिकमा ऊर्जा विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरी, २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता गरेको थियो । २०७५ पुषबाट विद्युत् खरिद सम्झौता पीपीए सम्पन्न गरी कम्पनीले आयोजनालाई अघि बढाइरहेको छ । हाल सम्म आयोजनाको ७८% कार्य सकिएको र बाँकी कार्य २०८२ चैत्र महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ ।
यस सम्झौताले आयोजना तथा लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्दै पूँजी बजारमा जलविद्युत् क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्ष प्रधानाङ्गले व्यक्त गरे ।

















प्रतिक्रिया दिनुहोस्