काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै आर्थिक अनुदान वितरण गरेको छ ।
बैंकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको हो।
बैंकले काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा दोस्रो चरणमा १३ उद्योगलाई चार करोडभन्दा बढीको अनुदान प्रदान गरेको छ। विस्तृत ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरूको सफल कार्यान्वयनपछि यो अनुदान वितरण गरिएको बैंकले जनाएको छ। यी उपायहरूबाट वार्षिक १२ लाख ३५ हजार ५४४ किलोवाट घण्टा ऊर्जा बचत भई वार्षिक चार करोड ७७ लाख ५८ हजार १६ सय रुपैयाँ भन्दा बढी खर्च कटौतीमा योगदान पु¥याउँदै नेपालको जलवायु लक्ष्य र दिगो आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने बताइएको छ ।
अनुदान पाउने उद्योगहरु
अनुदान पाउने उद्योगहरूमा कृषि प्रशोधन, औषधि र डेरी उद्योगलगायत विभिन्न क्षेत्रका उद्योगहरू रहेका छन् । सबैभन्दा धेरै अनुदान ( १० मिलियन) एजी हेल्थ इन्डस्ट्रिज प्रालिले पाएको छ । एजीले दुई प्रमुख ऊर्जा दक्षता उपायहरू लागू गरेको छ, जसमा म्यानुअल प्याकेजिङ मेसिनको प्रतिस्थापन पनि समावेश छ । कम्पनीको आफ्नो ४० मिलियनभन्दा बढीको लगानीबाट वार्षिक १० मिलियनभन्दा बढी बचत हुने अपेक्षा गरिएको छ, जसले ऊर्जा दक्षता नवप्रवर्तनको बलियो व्यावसायिक उदाहरण प्रस्तुत गरेको बंैकले जनाएको छ ।
कार्यक्रममा सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिका प्रबन्ध निर्देशक सुमित केडियाले ऊर्जा खर्च कुल सञ्चालन लागतको करिब ३०–३५ प्रतिशत रहेको र यस प्रकारका पहलहरूले उद्योगहरूलाई चेतनाभन्दा वास्तविक क्रियाकलापतर्फ लैजान सहयोग पु¥याने बताए । एरो फार्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक डा पङ्कज तिवारीले ऊर्जा अडिट प्रक्रियालाई प्रकाशमय रहेको, जसले ऊर्जा अधिकतम् प्रयोग गर्ने नयाँ तरिकाहरू र अन्तरराष्ट्रिय सुरक्षा तथा मापदण्डहरूको पालना गरिएको उल्लेख गरे ।
युरोपेली सङ्घ, नेपालका रञ्जन प्रकाश श्रेष्ठले परियोजनाको सहयोगपछि पनि ऊर्जा दक्षतासम्बन्धी आफ्नो प्रयास निरन्तर जारी राख्न प्रेरित गरेको बताए । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनालले उद्योगहरूलाई राष्ट्रिय प्रयासमा योगदान पु¥याएकामा प्रशंसा गर्दै यस किसिमको सहयोगबाट नेपालको ऊर्जा भविष्यमा दीर्घकालीन प्रभाव पार्ने धारणा राखे । परियोजनाका लागि ग्रिन ऊर्जावित्त विशेषज्ञ राजीवमङ्गल जोशीले यो पहलले नेपालको दिगो औद्योगिक अभ्यासलाई प्रवद्र्धन गर्न, वातावरणीय मापदण्डहरू पालना गर्न तथा मर्यादित श्रम अभ्यासहरूलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने विश्वास गरिएको उल्लेख गरे ।
युरोपेली सङ्घ तथा जर्मन सरकारको सहआर्थिक सहयोगमा, रिप–ग्रिन परियोजनाअन्तर्गत सञ्चालन भइरहेको यस अनुदान कार्यक्रमले उच्च प्रभावकारी ऊर्जा दक्षता पहलहरूलाई कार्यान्वयन गर्न आंशिक आर्थिक सहयोग प्रदान गर्दै आएको छ । अनुदान सहयोगमा कार्यान्वयन गरिएका उपायहरूबाट प्राप्त उपलब्धिहरूले भावी दिनमा सार्वजनिक तथा निजी क्षेत्रका कार्यक्रमहरूमा ऋण वा मिश्रित वित्तीय प्रणालीमार्फत लगानी प्रवाह गर्न सकिने सम्भावनाको नमूना प्रस्तुत गर्ने बताइएको छ । यसबाट थप उद्योग र उद्यमीहरुले ऊर्जा दक्ष उपायहरू अवलम्बन गर्न प्रोत्साहन पाउनेछन् र दिगो विकासमा योगदान पु¥याउने छन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्