काठमाडौं । आर्थिक उन्नतिको लक्ष्यसहित डा गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा डा न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको हो ।
अब नेपाल लिबरल पार्टी गठन भएसँगै नेपाल पुँजीवादी युगमा र स्वतन्त्र बजारमा प्रवेश गरेको उनको दाबी छ । उनले भने, ‘नेपालको इतिहासमा नै यो एउटा ऐतिहासिक क्षण हो । नेपाल अब पुँजीवादी युगमा प्रवेश गर्यो । आजकै दिनबाट हामी घोषणा गर्छौं । नेपाल अब एउटा स्वतन्त्र बजारमा प्रवेश गर्यो ।’
आम नागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको सभापति डा न्यौपानेले बताए । ‘नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न, सुशासनमार्फत जनताको दैनिकी सजिलो पार्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल गर्न यो पार्टी गठन गरिएको हो’, न्यौपानेले भने ।
पार्टीले उदारवादी अर्थव्यवस्था, कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति रहेको सो पार्टीका महासचिव डा सुशील पौडेलले बताए । ‘हाम्रो पार्टीको एउटै एजेन्डाः आर्थिक उन्नति हो’, उनले भने।















प्रतिक्रिया दिनुहोस्