काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । बैंकले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई सहयोग गर्ने उद्देश्यले देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन हेतु कार्डमा आधारित गेटवे सेवा सुरु गरेको जनाएको छ ।
सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टरकार्डमार्फत ग्राहकहरूसँग भुक्तानी लिन सक्नेछन् । यो सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले जनाएको छ।
बैंकका अनुसार पेमेन्ट गेटवेमा 3 D Secure प्रविधि समावेश गरिएको छ, जसले कारोवारको प्रमाणीकरण भेरिफिकेसनका लागि ओटिपी वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँदछ ।
यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने हुँदा यसले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्ने विश्वास बैंकको छ ।
यसैगरी, बैंकले यो सहकार्य ई–कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोवारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण हुने जनाएको छ । उक्त साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएको बैंकले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्