Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बजारमाा खोइ अप्सन ? खोइ फ्युचर ?

बजारमाा खोइ अप्सन ? खोइ फ्युचर ?
विज्ञापन
Advertisement

सेयर बजार आधुनिक समाजको अंग हो । यसमा रुचि हुने, ज्ञान, सीप र अनुभव हुनेले बजारबाट लाभ लिन सक्छन् भन्ने बुझाइ विकास गर्न हामी असफल भएका छौं । जसरी अरू पेसा व्यवसायका लागि निश्चित ज्ञान तथा अनुभव चाहिन्छ, त्यस्तै सेयर बजारका लागि पनि चाहिन्छ भन्ने सामान्य चेतको विकास हुन नसक्दा यसबाट पर्याप्त लाभ लिन सकेका छैनौं । यो लेखको शीर्षक द्विअर्थी छ । यसको
एउटा अर्थ, हाम्रो बजारमा डेरिभेटिभ्स मार्केटमा प्रचलित कारोबार उपकरण ‘फ्युचर’ र ‘अप्सन’ अभाव छ भन्ने हुन्छ । अर्को अर्थ, हाम्रो बजारमा विविधता छैन र भविष्य पनि अन्योलग्रस्त छ
भन्ने हुन्छ। यसले हाम्राे  बजारको चरित्रको आंशिक झलक दिन्छ । यस विषयमा विस्तृत चर्चा गर्नुअघि केही प्रसंगलाई हेरौं ।

विज्ञापन
Advertisement
Advertisement

पहिलो प्रसंगः ‘फलानाको पछाडि त साठी लाख मान्छे छन् रे नि ! पैसा पनि टन्नै छ रे ! साँच्चै हो ?’ सधैँ भोट र पैसाको पछि दौडिरहने एक नेताले मलाई सोधेका थिए । उनको संकेत सेयर बजारलाई भजाएर चुनाव जितेको भनिएका अर्को दलको नेतातर्फ थियो । दोस्रो प्रसंगः ‘बजारमा यत्रो चलखेल छ । तपाईंहरू आँखा चिम्लिएर बस्नुभएको छ । लगानीकर्ताहरू लुटिएका छन् । ‘सञ्चारकर्मीहरू
मलाई बारम्बार यस्तो प्रश्न गर्छन् ।’ उनीहरूका शब्द फरक हुन्छन् तर आशय नियामक अकर्मण्य
भए भन्ने हुन्छ ।

तेस्रो प्रसंगः ‘संसार कहाँबाट कहाँ पुगिसक्यो तपाइँहरूकाे  भने ‘वान वे मार्कट’ चलाएर बस्नुभएको छ । खोइ इन्ट्राडे ? खोइ अप्सन ? खोइ फयुचर ?’ यस्तो प्रश्न विदेशी विश्वविद्यालयमा पढेर
केही समय त्यहीँको बजारमा कारोबारसमेत गरेर
फर्किएको नौजवानले गर्छन् ।

चौंथो प्रसंगः ‘समाचार लेख्नलाई होइन कि ! मलाई अहिले कुन सेयर किन्न ठिक होला भन्दिनुस न ! अनि नि फलानो सेयर फाल्दिने होला कि पालिराख्ने हो !’ पत्रकारिताको धर्मबाट च्युत भएका कतिपय पत्रकारले यस्तो प्रशन सोध्छन्। उल्लिखित प्रसंगले सेयर बजारसम्बन्धी हाम्रो समाजको बुझाइ र अभ्यासको प्रतिनिधित्व गर्छन्। औपचारिक कार्यक्रम र भेटघाटमा सेयर बजारका बारे मान्छेहरूले सोध्ने प्रश्न सामान्य र अपेक्षित नै हुन्छन्। तर, अनौपचारिक भेटघाटमा भने अनौठा र कतिपय सन्दर्भमा आपराधिक किसिमका कुरा गर्छन् ।

यो लेख केवल व्यावहारिक छलफल हो । यसमा सेयर बजारलाई सरोकारवालाले कसरी बुझिरहेका छन र यथार्थ के हो भन्नेबारेमा मेरो दृष्टिकोण मात्र प्रस्तुत गरिएको छ । यसमा मैले नीति निर्माता, मिडिया, लगानीकर्ता÷कारोबारी र अन्य गरी चार किसिमका सरोकारवाला पहिचान गरेको छु ।

नेपालको सेयर बजार विगत तीन दशकमा परिपक्वता र उतारचढावका अनेकौं चरण पार गर्दै आजको अवस्थामा आइपुगेको छ । यो बजार ‘’पैसावालहरूको क्रिडास्थल’ मात्र होइन । राष्ट्रिय अर्थतन्त्रको अभिन्न अंग बन्ने चरणमा पुगेको छ । यस सन्दर्भमा बजारको प्रकृति, नियमन, जोखिम र अवसरलाई विभिन्न सरोकारवालाले फरक–फरक दृष्टिकोणबाट बुझ्नु स्वाभाविक हो ।

ठूलाबडाको नजरमा बजार राज्य संरचनाको उपल्लो तहमा धितोपत्र बजारसम्बन्धी अल्पबुझाइ सबैभन्दा दुःखद पक्ष हो । नीति निर्माणको त्यो तहमा रहेका अधिकांश पात्र अझै पनि फराकिलो अर्थ दिने ‘धितोपत्र बजार’ भनेको के हो भन्ने बुझ्दैनन् र उनीहरूलाई ‘सेयर बजार’ भनेर सीमित अर्थमा यसका सवाललाई बुझाउनुपर्छ । त्यसरी बुझाइसकेपछि पनि उनीहरू आफ्नो सुविधाअनुसार यसलाई ‘चलखेल गर्ने’ संयन्त्रको रूपमा मात्र बुझ्छन् वा त्यसरी बुझ्न अभिशप्त छन् ।

यस्तै बुझाइ कर्मचारीतन्त्रमा पनि छ। त्यसैले उनीहरू बजारलाई सहज बनाउने नीति तर्जुमा गर्ने, संस्थागत संरचना निर्माण गर्ने, आधुनिक प्रविधि भित्र्याउने, योग्य पात्रहरूलाई अघि सार्नेभन्दा क्षणिक लाभमा जोड दिने, स्वार्थ समूहका हित अनुकूल नीति नियम बनाउने, भइरहकै संस्थाहरूलाई बिगार्ने, प्रविधि भित्र्याउने नाममा खरिदमा अनियमितता गर्ने, अयोग्य पात्रहरूलाई अघि सार्ने र भ्रष्टाचारमा लिप्त हुने गर्छन् । यसैकारण धरातलीय यथार्थ एकातिर हुन्छ, समयको माग एकातिर हुन्छ, हाम्रो राजनीतिक र प्रशासनिक नेतृत्वले अर्कै काम गरिरहेको हुन्छ । निम्त्याएको छ । नेपालको आर्थिक विकासमा पुँजी बजारको अधिकतम उपयोग गर्न सकिएको छैन । न असल उद्यमीले पुँजी बजारलाई
दीर्घकालीन वित्तीय लगानी प्राप्त हुने भरपर्दो स्रोत मानेका छन्, न त साधारण बचतकर्ताले उच्च प्रतिफल प्राप्त हुने विश्वसनीय क्षेत्र हो भन्छन् । पुँजी अधिक क्षेत्रबाट अभाव क्षेत्रतर्फ हस्तान्तरण गरी दुवै पक्षलाई उच्च प्रतिफल दिने, वस्तु तथा सेवाको उत्पादन बढाउने र रोजगारी सिर्जनालाई सहयोग गर्ने संयन्त्र धितोपत्र बजार हो भन्ने बुझाइ जबसम्म हाम्रो नेतृत्वमा हुँदैन र त्यसमा उनीहरू इमानदार र प्रतिबद्ध रहँदैनन्, तबसम्म विभिन्न किसिमका विकृति एकपछि अर्को गर्दै पटाक्षेप हुँदै जान्छन् । बजारलाई असल नेतृत्वले काबुमा राख्न सकेन भने स्वार्थ समूह र भीडले नियन्त्रण गर्छ ।

राजनीतिक होस् वा प्रशासनिक । योग्य नेताको चासो बजार परिसूचक घट्यो कि बढ्यो भन्नेमा हुनुहुँदैन, कति रकमको कारोबार भयो वा कति राजस्व संकलन भयो भन्ने पनि हुनुहुँदैन । बजारको घटबढ दिगो हो कि होइन, कारोबार स्वच्छ कि छैन, न्यायोचित, समानुपातिक र सबैको पहुँचमा छ कि छैन भन्नेमा हुनुपर्छ । विडम्बना, यस्ता विषयमा थोरैले मात्र चासो दिएका छन् । उनीहरू बजारको दीर्घकालीन विकासका लागि गर्नुपर्ने कुरा सुन्न तयार छैनन् । तल्लो तहका जनताको हित केमा छ, उनीहरूलाई मतलब छैन । उनीहरू पहुँचवालाको कुरा सुन्छन् । तत्कालीन लाभको कुरा गर्छन् । भीड बाँधेर कोही आयो भने उनीहरूले भनेकै माग पूरा गरिदिनेसम्मका काम भएका छन् ।

तल्लो तहका जनताका लागि केही गरे भने सस्तो लोकप्रियता हासिल हुने कुरा मात्र गर्छन् । सस्तो लोकप्रियताका लागि ल्याइएका कुराले अन्ततः तल्लो तहका तिनै मान्छेलाई हानि गर्छ । लगानीकर्ताको मनोबल बढाउने, विदेशी लगानी आकर्षित गर्ने, प्राविधिक सुधार गर्ने, कारोबारयोग्य औजार भित्र्याउने, प्रक्रियालाई सरल बनाउने, संस्थागत पुनर्संरचना गर्ने कुरामा नेतृत्वको चासो छैन । उनीहरूमा यस्ता कुराको ज्ञान पनि छैन र प्राथमिकतामा पनि पर्दैन । नेतृत्वले जोड दिनुपर्ने नीतिगत स्थिरता,
प्रणालीगत जोखिम व्यवस्थापन, संरचनागत सुधारमा हो । बजारलाई आधुनिक र पारदर्शी बनाउनेमा हो । तर, दूरदृष्टि अभाव र राजनीतिक अस्थिरताले यी विषयमा ठोस प्रगति हुन सकेको छैन ।

मुद्रा बजारको तरलता, ब्याजदर र सम्पत्ति शुद्धीकरणका सवालजस्ता प्रणालीगत जोखिम व्यवस्थापन गर्ने विषयमा पनि नेतृत्व कर्तव्यविमुढ छ । सुसूचित सहभागीले बजारमा स्थायित्व ल्याउ ँछन ् । त्यसकारण वित्तीय साक्षरतामा जोड दिनुपर्छ । यसमा पनि देखावटी काम मात्रै हुने गरेको छ ।
बजारको विविधीकरण कुरामा सीमित छ । बजारमा वित्तीय क्षेत्रका कम्पनीको वर्चस्व छ । बजारमा एकतर्फी कारोबार हुन्छ । ऋणपत्रको दोस्रो बजार लगभग निष्क्रिय छ । अन्य कारोबारयोग्य औजार उपलब्ध छैनन् । सूचीकृत कम्पनीको संस्थागत सुशासन कमजोर छ । मिडियाको नजर उल्लिखित घटनाक्रममा मिडियाको भूमिका अत्यन्तै कमजोर देखिन्छ । सेयर बजार मिडियाका लागि केवल समाचार लेखिने एउटा क्षेत्र बनेको छ । सही सूचना दिने, गलत सूचना दिने, उल्टो सूचना दिने मिडिया छुट्टिन सकेका छैनन् । मिडियाले सेयर बजारका मूल मुद्दा के हो खुट्याउन सकेको छैन । विविध स्वार्थ भएका बजार सूचनामै मिडिया रुमल्लिरहेको छ । नीतिमा कहाँनेर छिद्र छ ? संस्थाहरूको कमजोरी के हो ? पात्रहरूका खराबी के हुन् ? मिडियाले पहिल्याउन सकेको छैन । अनलाइन मिडियाको बाढीले सूचना प्रवाहलाई झन् धमिलो बनाइदिएको छ ।

सञ्चारगृहको व्यवस्थापन र सम्पादन समूह नछुट्टिँदा समाचारमा धेरै किसिमका सम्झौता भएका छन् । समाचार निष्पक्ष र विश्वसनीय बन्न सकेका छैनन् । समाचार उत्पादन तथा प्रसारणका न्यूनतम विधि र आचरणलाई पनि पछ्याइएको छैन । पुँजीबजारसँग मुलुकको झन्डै एक तिहाइ जनसंख्या जोडिइसक्दा, कुनै समयबिन्दुमा बजार पुँजीकरण कुल गार्हस्थ उत्पादनकै हाराहारी पुग्दा पनि  पुँजीबजारसम्बन्धी विश्वसनीय समाचार, विचार र विश्लेषण गर्ने एउटा पनि सञ्चारगृहको उपस्थिति नदेखिनुले मिडियाको कमजोर भूमिकालाई प्रस्ट्याउँछ । सञ्चारगृहले सञ्चारकर्मीको क्षमता विकासमा लगानी गर्दैनन् । आफैंले क्षमता विकास गरेर अगाडि बढ्न सकिन्छ भन्ने दृढ विश्वास भएका सञ्चारकर्मी थोरै छन् । सूचना तथा सञ्चार प्रविधिको अभूतपूर्व विकासले प्रदान गरेको क्षमता विकास गर्न सकिने अवसर उपयोग गर्नेतर्फ कमैले चासो देखाएका छन् । खराब पात्रको बाहुल्यले स्तरहीन समाचार तथा सूचनाको प्रचार–प्रसारलाई बल पु¥याइरहेको छ ।

बजारसम्बन्धी बुझाइ तथा परिपक्व लगानी निर्णयमा आमसञ्चारका माध्यम सहयोगी बन्न सकेनन् नै, नीति निर्माता तथा प्रशासकलाई खबरदारी गर्ने र झकझक्याउने कुरामा पनि चुकेका छन् । सञ्चारकर्ममा खराब पात्रको प्रवेशले असली सञ्चारकर्मी ओझेल परेका छन्। अधिकांश मिडियाले पस्किने समाचार बजार परिसूचकको उतारचढाव, कारोबारको आकारमा सीमित भएको छ । कतिपयले समाचारलाई सनसनीखेज बनाएका छन् । कतिपयले जानीजानी बजार चलखेललाई सहयोग पुग्ने सामग्री प्रचार–प्रसारमा ल्याएका छन्, कतिपयले नजानेर त्यसो गरेका छन् । सामाजिक सञ्जालको व्यापकताले पुष्टि गर्न नसकिने, चालू र सतही सूचनाको फैलावटलाई तीव्र बनाएको छ । कतिपय सञ्चारकर्मीले त्यस्तै सूचनालाई समाचारको रुप दिने सजिलो बाटो रोजेका छन् । सामाजिक सञ्जालमा आउने सूचनालाई पुष्टि गर्न सकिने समाचार वा त्यसभन्दा गहिरो विश्लेषण सामग्री बनाउनेतर्फ ध्यान कमैले दिएका छन् । सेयर बजारका अपवादलाई मूल प्रवृत्ति मानेर समाचार बनाउँदा त्यसले समग्र प्रणालीकै विश्वसनीयतामा ह्रास आउँछ । सर्वसाधारणको मनोबल कमजोर हुन्छ । यसलाई सन्तुलित बनाउन विशेषज्ञसँग कुराकानी गर्ने, जिम्मेवार व्यक्तिका भनाइसहित समाचार उत्पादन तथा प्रसार–प्रसार गर्नुपर्छ भन्ने कुरा बिर्सिएजस्तो देखिन्छ । बजारका स–साना उतारचढावलाई अतिरञ्जित गरेर सर्वसाधारणमा डर वा लोभ सिर्जना गर्ने काम पनि कतिपय सञ्चारकर्मीले गरेका छन् । बजारको समाचार लेख्ने अधिकांश संवाददाताले बजारको उतारचढावसँग आफूलाई तटस्थ राख्न सकेको देखिँदैन ।

कतिपयले आफूलाई लगानीकर्ताको संरक्षकको भूमिकामा राख्न खोजेको देखिन्छ । लगानीकर्तालाई दयनीय पात्र बनाउने पनि देखिए । अझै कतिपयले आफूलाई पत्रकारका रूपमा प्रस्तुत गरेर लगानीकर्ता र सर्वसाधारणको दुहाइ दिँदै संकलन गरेको सूचना आफ्नो लगानीसम्बन्धी कारोबारमा उपयोग पनि गरेका छन् । समाचार तथा अन्य सामग्रीमार्फत सर्वसाधारणलाई सुसूचित लगानी निर्णय गर्न सघाउने भनिएका सञ्चारकर्मी स्वयंलाई बजारको आधारभूत तथा प्राविधिक पक्षमा
सीमित जानकारी छ । थोरै सञ्चारकर्मीले मात्र सूचीकृत कम्पनी, बजार तथा राष्ट्रिय अर्थतन्त्रलाई जोडेर गहिरो विश्लेषण प्रस्तुत गर्ने गरेको पाइन्छ । धेरैजसो समाचार सामग्री सतही हुने र बजारी हल्लालाई नै जस्ताको तस्तै प्रस्तुत गर्ने प्रवृत्ति हानिकारक हो ।

समाचारबाट बजार जोखिमको उजागर भएको छैन । नीतिगत परिवर्तन तथा नियामकको निर्देशनका सम्भावित असरबारे कमै लेखिएका छन् ।लगानीकर्ता–कारोबारीहरूको दृष्टिकोण हामीकहाँ लगानीकर्ता र कारोबारीलाई एउटै डालोमा हाल्ने चलन छ । यी दुई बजार सहभागी फरक हुन् । बजारको उतारचढावबाट तत्काल लाभ उठाउने गरी सक्रिय रूपमा बजारमा सहभागी हुने कारोबारी हुन् । यिनीहरू बजार मूल्य र कारोबारको आकारमा जोड दिन्छन्, प्राविधिक विश्लेषणलाई आधार बनाउँछन् । अर्कोतिर लामो समयका लागि बजारमा प्रवेश गर्ने र धितोपत्रको आधारभुत पक्षमा जोड दिने हुन्छन्, जसलाई लगानीकर्ता भन्न सकिन्छ । यी दुवै किसिमका बजार सहभागीलाई
सम्बोधन गर्ने गरी नीति नियम बनाइएन भने, संस्थागत संरचना बनाइएन भने र प्राविधिक विकास गरिएन भने त्यो अपूरो हुन्छ । मिडियाले पनि यो कुरालाई हेक्का गर्नुपर्छ । लगानीकर्ता र कारोबारीका लागि नेपालको सेयर बजार अवसर र जोखिमको मिश्रण हो । छोटो अवधिको कारोबार र दीर्घकालीन लगानी दुवै एकअर्काका परिपूरकहुन् । एउटा सही र अर्को गलत भन्ने हुँदैन । कारोबारमा जोखिम बढी हुन्छ, लगानीमा कम। यसैगरी कारोबारको सम्भावित प्रतिफल उच्च हुन्छ, लगानीको कम। तर कारोबार होस् वा लगानी वस्तुपरक भएन भने लाभ कम हानि ज्यादा हुन्छ । दीर्घकालीन लगानीकर्ताले कम्पनीको आधारभूत पक्ष, व्यवस्थापनको क्षमता, संस्थागत सुशासन, लाभांशको इतिहास र भविष्यको सम्भावनालाई हेर्नुपर्छ । धितोपत्र खरिद गर्ने र लामो समयसम्म राख्ने रणनीति उनीहरूले
लिनुपर्छ र पोर्टफोलियो विविधीकरणमा जोड दिनुपर्छ ।

अल्पकालीन कारोबारीको चासो प्राविधिक पक्षमा हुन्छ । उनीहरू सेयर बजारलाई ‘गेम अफ इन्फर्मेसन’ (सूचनाको खेल) हो भन्छन। ठूला कारोबारीको चाललाई सानाले पछ्याउने कोसिस गर्छन् । जोखिमलाई अवसरको रूपमा लिन्छन् । तारन्तार कारोबार गर्ने भएकाले ब्रोकर कमिसन घटाउनुपर्छ भन्ने माग यिनको हुन्छ । बैंक ब्याज कम भइदिएको खण्डमा सस्तोमा सापटी लिएर कारोबार गर्न पाइन्छ भन्ने आशा यिनको हुन्छ । दोस्रो बजारमा इन्ट्राडे, अप्सन, फ्युचरको माग गर्नेहरू पनि यही समूहका कारोबारी हुन्छन् ।

यिनीहरू बजार परिसूचकको चाल, बजार मनोविज्ञान र हल्लालाई कारोबारको मुख्य आधार बनाउँछन् । उनीहरू हरेक दिनको उतारचढावमा नाफा खोज्छन् ।उच्च जोखिम वहन क्षमता भएकाहरूका लागि अल्पकालीन कारोबार उपयुक्त हुन्छ । नेपाली समाजले यस
किसिमको कारोबारलाई ग्राह्य मानिसकेको छैन । कतिपय अवस्थामा यसलाई अपराध नै हो कि भन्ने किसिमले हेरिन्छ । कारोबारीको जोड छिटो धनी बन्नेमा हुन्छ । विभिन्न अध्ययनले ९० प्रतिशत
कारोबारीले गुमाउँछन् भन्ने देखाएका छन् । गुमाउने रकमको आकार सानो हुँदा बहुसंख्यक कारोबारी बजारमा टिकिरहेका हुन्छन् ।

अर्कोतिर धैर्य र अनुशासनको बाटो रोज्ने लगानीकर्ता हुन्छन् । उनीहरू सम्पत्तिको आकार धिमा गतिमा चक्रवृत्तिमार्फत फैलिने कुरामा विश्वास गर्छन् । लगानी विविधीकरणमा जोड दिन्छन् । धितोपत्र जारी गर्नेको वित्तीय स्वास्थ्य, व्यवसायको प्रकृति, सञ्चालक तथा व्यवस्थापन
पक्ष, प्रतिसेयर आम्दानी, आम्दानी तथा मूल्य अनुपात, ऋण तथा सेयरको अनुपात, लाभांश प्रतिफललगायतका आधारभूत पक्षको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय गर्छन् । सर्वसाधारणको दृष्टिकोण नीति निर्माता, नियामक, बजार सञ्चालक, मिडिया र बजार सहभागीभन्दा पर सर्वसाधारण छन् । उनीहरू बजारलाई रहस्यमयी संयन्त्रको रूपमा बुझ्छन् । यो रातारात धनी हुनेहरूका
लागि हो । यसमा जोखिम असाध्यै धेरै छ । सेयर बजार सीमित मान्छेका लागि मात्र हो भन्ने बुझाइ व्याप्त छ । यस किसिमको बुझाइमा नीति निर्माता, नियामक, बजार सञ्चालक, मिडिया र अरू बजार सहभागीको धेरथोर योगदान छ । सेयर बजार आधुनिक समाजको अंग
हो ।

यसमा रुचि हुने, ज्ञान, सीप र अनुभव हुनेले बजारबाट लाभ लिन सक्छन् भन्ने बुझाइ विकास गर्न हामी असफल भएका छौं । जसरी अरू पेसा व्यवसायका लागि निश्चित ज्ञान तथा अनुभव चाहिन्छ, त्यस्तै सेयर बजारका लागि पनि चाहिन्छ भन्ने सामान्य चेतको विकास हुन नसक्दा यसबाट हामीले पर्याप्त लाभ लिन सकेका छैनौं । बजारलाई बुझ्न समय लाग्न सक्छ तर बुझ्नै नसकिने होइन । बजारमा जोखिम हुन्छ तर जोखिम व्यवस्थापन र न्यूनीकरण गर्नै नसकिने होइन । जोखिम मानव जीवनका सबै क्षेत्र र पक्षमा हुन्छन् भन्ने सामान्य सत्यलाई स्थापित गर्न सकिएको छैन ।

अल्प बुझाइकै कारण सर्वसाधारणले प्राथमिक निष्कासनलाई छिटो धनी बन्ने सुनिश्चित बाटो ठान्छन् । यसलाई ‘चिठ्ठा’ वा ‘भाग्यको खेल’ सम्झिन्छन् । यस किसिमको बुझाइ निर्माण हाम्रो नियामकीय प्रबन्धले गरेको हो, सरकारी नाराहरूले गरेको हो । यसलाई मिडियाले थप मलजल गरेको हो । जोखिम बुझ्ने, त्यसलाई वहन गर्न सक्ने-नसक्ने सबैका लागि बजार हो भनेकै कारण सबैलाई १० कित्ता सेयर दिने गरी कानुन तर्जुमा गरिएको हो । स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएकालाई कोटा छुट् याइएको हो । यी व्यवस्था गर्दा लगानीमा निहित जोखिमलाई हेक्का गरिएको छैन । हल्ला, छिमेकी, साथी वा नातेदारले सेयरबाट कमाएको सुनेर वा मिडियामा आएका समाचारको पछि लागेर आउनेहरू प्रायः दुर्घटनामा पर्छन् । बजारसम्बन्धी सिकाइ उनीहरूलाई महँगो पर्छ । दोस्रो बजार उच्च हुँदा हतारिएर आउने र घट्दा आत्तिएर बाहिरिँदा नोक्सानीमा पर्छन् । बजारलाई बुझ्न नसक्ने र पर्याप्त समय दिन नसक्नेका लागि अप्रत्यक्ष लगानीको माध्यम हुन्छ, त्यसमा जोड दिनुपर्छ भन्ने सोचको विकास माथिदेखि तलसम्मै देखिँदैन । पेशेवर लगानी प्रबन्धकमार्फत लगानी अवसरको खोजीमा रहेका व्यक्तिलाई बजारमा सहभागी गराउनुपर्छ । वित्तीय रूपमा निरक्षर व्यक्तिले बजारको जोखिमलाई सजिलै बुझ्न सक्दैन लाभ अधिकतम र हानी न्युनतम गर्न सक्दैन भन्ने आशयबाट नीतिगत र संस्थागत व्यवस्था हुनुपर्छ । नेपालको सेयर बजार उल्लिखित चार पक्षले फरक ढंगले बुझे पनि सबैको अन्तस्करणमा भने नकारात्मक भाव हाबी छ । बजारलाई केवल धितोपत्रको कारोबार हुने संयन्त्र हो भन्ने असाध्यै साँघुरो अर्थमा बुझिएको छ ।

यसले पुँजी परिचालनलाई सघाउँछ, सम्पत्तिको उचित मूल्य कायम गर्न सघाउँछ, कारोबार लागत घटाउँछ । व्यावसायिक संस्थाहरूमा सुशासन र पारदर्शीता कायम गर्छ भन्ने कसैले सोचेकै छैन । धितोपत्र बजार सञ्चालनको मूल मर्मलाई पक्रिने हो भने यसले वस्तु तथा सेवाको उत्पादन बढाउँछ, रोजगारी सिर्जना गर्छ, आर्थिक वितरणलाई न्यायोचित बनाउँछ र समग्र अर्थतन्त्रलाई नै दिशा निर्देश गर्न सक्छ भन्ने फराकिलो सोचको विकास भएको छैन । यसमा हाम्रोसमग्र समाज चुकेको छ । लक्ष्य हुनुपर्छ बजारको स्थायित्व सेयर बजार जटिल प्रणाली हो । नीति निर्माता तथा कार्यकारीको जोड प्रणालीगत जोखिम व्यवस्थापनमा हुनुपर्छ । जुन उद्देश्यका लागि पुँजीबजार प्रणाली स्थापना र सञ्चालन गरिएको हो, त्यो उद्देश्य पूर्ति भएको छ कि छैन हेर्नुपर्छ । प्रणालीको ढाँचा आफैंमा समस्याग्रस्त छ कि ? प्रणाली भित्रैबाट टुटेर समाप्त हुने किसिमको छ कि ? भन्नेमा नेतृत्वले ध्यान दिनुपर्छ । बजार सञ्चालनका लागि तर्जुमा गरिएका कानुन विरोधाभासी छन् कि छैनन्, नेतृत्वले हेर्नुपर्छ ।

संस्थागत संरचना दक्ष छ कि छैन ? बजार सञ्चालनका लागि योग्य पात्र चयन भएको छ कि छैन ? आधुनिक प्रविधि अवलम्बन भएको छ कि छैन ? नेतृत्वले हेर्नुपर्छ । नेतृत्वले कारोबारको स्वच्छतामा
जोड दिनुपर्छ । मिडियाको रिपोर्टिङ अन्य बिटमा जस्तै सेयर बजारमा पनि निष्पक्ष र तथ्यपरक हुनुपर्छ । संस्थापन पक्ष, लगानीकर्ता वा सर्वसाधारणको पक्ष लिनुपर्छ भन्ने हुँदैन । लगानीकर्तालाई दयाको पात्र बनाएर आफूलाई संरक्षकको भूमिकामा उभ्याउनु पनि हुँदैन । विषयको सामान्यीकरण गर्नुहुँदैन । प्रत्येक मुद्दालाई गुणदोषका आधारमा ‘रिपोर्ट’ गर्नुपर्छ । लगानीकर्ता÷कारोबारीहरूले ज्ञान र अनुशासनमा आधारित लगानी-कारोबार गर्नुपर्छ । सर्वसाधारणमा गहन वित्तीय साक्षरता पुर्याउन सकियो भने सेयर बजारमा लगानी गर्ने- नगर्ने निर्णय उनीहरू आफैंले गर्नेछन् । उल्लिखित दिशामा सबै पक्ष अगाडि बढ्ने हो बजारले स्थायित्व पाउनेछ । यसो गर्न सकेनौँ भने सेयर बजारसम्बन्धी हाम्रो बुझाइलाई सच्याएनौं र तद्नुरूप व्यवहार गरेनौँ भने बजारले हामीलाई न विकल्प (अप्सन) दिन्छ, न त हाम्रो वित्तीय भविष्य (फयुचर) सपार्छ ।

पराजुली पुँजी बजार जानकार हुन् । उनको लेख नेपाल आर्थिक पत्रकार समाज ( सेजनको) स्मारिकामा प्रकाशित छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit