काठमाडौं। लक्ष्मी ग्रुपले आफ्नो स्थापना भएको ५२ वर्ष पूरा भएको अवसरमा ५२औँ वार्षिकोत्सव मनाएको छ। सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक सानो पसलबाट सुरु भएको यस ग्रुपको यात्रा आज पाँच दशकभन्दा बढी समय पार गर्दै एक सफल र प्रतिष्ठित व्यावसायिक घरानाका रूपमा स्थापित भएको छ।
विगतका वर्षहरूमा लक्ष्मी ग्रुपले अटोमोबाइल (साना तथा ठूला सवारी साधन र पार्टपुर्जा), इलेक्ट्रोनिक्स, स्टिल, कागज, प्लास्टिक तथा मिठाई उत्पादनजस्ता विभिन्न क्षेत्रहरूमा आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ। पाँच दशकभन्दा लामो यात्रामा देशको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको यस ग्रुपले हाल २,००० भन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।
५२औँ वार्षिकोत्सवको अवसरमा लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न सामुदायिक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। यसअन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसले स्वास्थ्य सेवा र सामाजिक जनचेतनाप्रतिको ग्रुपको प्रतिबद्धतालाई उजागर गरेको छ।
त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित ‘सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी’लाई शैक्षिक सामग्रीसहित आवश्यक सहयोग प्रदान गरेको छ। साथै, लक्ष्मी ग्रुप अन्तर्गतको हुण्डाई काठमाडौँले नक्सालस्थित ऐतिहासिक भाटभटेनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गर्दै वातावरण संरक्षण र सांस्कृतिक सम्पदा जोगाउने अभियानमा सहभागिता जनाएको छ।
५२ वर्षको यो महत्वपूर्ण उपलब्धि पार गर्दै लक्ष्मी ग्रुपले व्यावसायिक सफलतासँगै सामाजिक जिम्मेवारीलाई पनि समान महत्व दिने प्रतिबद्धता दोहोर्याएको छ। समुदायको हितमा योगदान पुर्याउँदा नै व्यवसाय दिगो र दीर्घकालीन रूपमा सफल हुने विश्वास लक्ष्मी ग्रुपले व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्