काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) लाई सम्मान गरेको छ। अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा नाडाले गरेको योगदानको कदर गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको उक्त प्रतिष्ठानले कदर पत्र प्रदान गरेको हो ।
यस्तै, अटोमोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको भूमिका प्रभावकारी रुपमा निर्वाह गरेका नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई पनि प्रशंसा–पत्र प्रदान गरिएको नाडा महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकारी दिए।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा आज दिइएको हो । नाडाको सहकार्यमा अटोमोबाइल्स क्षेत्रमा श्रम बजारको मागअनुसार तयार गरिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रमहरू, विशेषगरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिक स्तरमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान र्पुयाएको प्रतिष्ठानले जनाएको छ ।
नाडाले आगामी दिनहरूमा पनि सरोकारवालासँग सहकार्य गर्दै अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्