काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिस्पर्धी बजार, संस्थागत दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनबीच सन्तुलन कायम गर्दै नेपाल टेलिकमले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए। अर्यालले भने, ‘नेपाल टेलिकम केवल एक दुरसञ्चार संस्था मात्र होइन। राज्यको डिजिटल मेरुदण्ड हो। दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलाप गर्दै आइरहेको छ ।’
उनले नेपाल टेलिकमलाई आफ्नो विशाल सञ्जाल, प्रचुर पूर्वाधार, बजार सम्भावना र उपलब्ध स्रोतको कुशल व्यवस्थापन तथा परिचालनमार्फत प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेतर्फ अग्रसर हुन आग्रह गरे। अर्यालले भने, ‘प्रचुर पूर्वाधार, उत्कृष्ट र दक्ष मानव पूँजी, प्रर्याप्त बजार सम्भावना, उपलब्ध स्रोतको कुशल व्यवस्थापन एवम् परिचालन गरी प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नेतर्फ आफूलाई अगाडि बढाउन आग्रह गर्दछु ।’ नेपाल टेलिकमको सुदृढीकरण र विकासमा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि गृहमन्त्री अर्यालले व्यक्त गरे।
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाल टेलिकमले गुणस्तरीय सेवा विस्तार गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रमासमेत पहुँच स्थापित गरिने बताइन् । उनले नेपाल टेलिकमको सेवा विस्तारले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सेवाको गुणस्तर अझै वृद्धि गरिने स्पष्ट पारिन् । सचिव बस्नेतले भनिन्, ‘नेपाल टेलिकमले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ र सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउनेछ ।’ सचिव बस्नेतले डिजिटल समावेशिता विस्तार गर्दै सबै नागरिकलाई समान सञ्चार सेवाको पहुँच सुनिश्चित गर्न नेपाल टेलिकमले निरन्तर पहल गरिरहेको पनि बताइन् ।
फाइभजी सेवाको सुरुआत गर्न प्रतिवेदन पुनरावलोकन हुँदै
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष भूपेन्द्र भण्डारीले कम्पनीले फोरजी÷एलटीई सेवाको जडान, विस्तार, स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै हाल सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा सो सेवाको पहुँच विस्तार गरेको जानकारी दिए । ‘हालसम्म टुजी, थ्रीजी र फोरजी प्रविधिमा आधारित मोबाइल सेवाका बिटीएसमार्फत देशभरका विभिन्न ४,७८८ स्थानमा मोबाइल सेवा उपलब्ध गराएको छ। अब थप चार स्थानीय तह हुम्लाको ताँजाकोट र अदानचुली, मुगुको सोरु तथा कार्मारोकक्या फोरजी सेवा सञ्चालनमा ल्याउन बाँकी रहेको छ,’ उनले भने, ‘हाल सञ्चालनमा रहेको फोरजी कोर सिस्टमलाई स्तरोन्नती गरी फाइभजी सेवाको सुरुआत गर्नको लागि आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई पुनरावलोकनका चरणमा रहेको छ।’ टेलिकमका अनुसार गत असार मसान्तसम्म २१ लाख ७४ हजार ६४ क्षमता रहेको एफटिटीएच नेटवर्क हाल २२ लाख ६५ हजार पुगेको छ ।
टेलिकमको २२२ रुपैयाँको प्याकेज अफर
टेलिकमले २२ औं वार्षिकोत्सवको अवसर पारेर २२२ रुपैयाँको प्याकेज अफर ल्याएको जनाएको छ । टेलिकमले २२२ रुपैयाँमा २२ दिनको समयसम्म चलाउन मिल्ने २२ जीबी डेटाको सुविधा दिएको हो। यस्तो सुविधा टेलिकमको प्रिपेड र प्रोस्टपेप दुवै प्रयोगकर्तालाई उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमका अनुसार यी अफरहरू माघ २२ गतेदेखि माघ २८ गते २०८२ सम्म लागू हुनेछन् । टेलिकमका अनुसार डाटा, भ्वाइस र एसएमएस समेटिएका किफायती प्याकेजहरुमा डबल टू प्याक अन्तर्गत २२ जीबी डाटा २२ दिनका लागि उपलब्ध गराएको छ । जसको शुल्क करसहित २२२ रुपैयाँ तोकिएको छ । यस्तै, पोस्टपेड ग्राहकका लागि यस प्याकेजमा रेन्टलसमेत समावेश गरिएको छ । टेलिकमले डेली टू प्याक अन्तर्गत १ दिनका लागि २ जीबी डाटा केवल २२ रुपैयाँमा उपलब्ध गराउँदा सेलिब्रेसन कम्बो प्याकमा २२२ मिनेट सबै नेटवर्कमा भ्वाइस कल, ४ जीबी डाटा तथा २२२ वटा एसएमएस पठाउन मिल्ने जनाएको छ ।
सिम र सेवा शुल्कमा विशेष छुट
यस्तै, टेलिकमले नयाँ ग्राहकलाई लक्षित गर्दै थप सुविधा पनि घोषणा गरेको छ। सामान्यतया ९० रुपैयाँ पर्ने प्रिपेड सिम कार्ड अब २२ रुपैयाँमै पाइनेछ। यो सुविधा माघ २२ देखि फागुन १४ सम्म नेपाल टेलिकमका कार्यालय काउन्टरहरूबाट मात्र लागू हुने कम्पनीले जनाएको छ । यस्तै, नयाँ सेवा जडान गर्ने सबै नयाँ ग्राहकका लागि५०० रुपैयाँ सेवा शुल्कमा पूर्ण छुट दिइने कम्पनीले जनाएको छ । यो छुट एफटीटीएच विद्यार्थी अफरमा भने लागू हुनेछैन ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्