काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको समानुपातिक तर्फबाट प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यो नामावलीलाई अन्तिम रूप दिएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता मनिष झाले निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै ५७ जनाको नामावली उपलब्ध गराइएको जानकारी दिए ।
प्रवक्ता झाका अनुसार, निर्वाचन आयोगमा बुझाइने सूचीमा कानुनी प्रावधान र समावेशी क्लस्टरलाई पूर्ण पालना गरिएको छ। ५७ जनाको नामावलीमा ४८ महिला र ९ पुरुष समावेश छन्। उनले भने,‘समानुपतिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली निर्वाचन आयोगलाई उपलब्ध गराउने निर्णय गरेका छौं। आज नै तोकिएको समय सिमामा नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५७ जनाको नामावली बुझाउने निर्णय गर्यौं। जसअन्तरगत खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ४ जना गरी ५७ जना र यसमा विधिले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष रहनु भएका छन् ।’
समानुपातीकमा परेका सांसदहरुको नामहरू सिफारिस गरे पनि आयोगले ती नामहरूको रुजु र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र आधिकारिक घोषणा गर्ने झाले बताए । ‘हाम्रो तर्फबाट यो प्रस्तावित सूची हो, आयोगले औपचारिक रूपमा अनुमोदन गरेपछि मात्रै नामावली सार्वजनिक हुनेछ,’ प्रवक्ता झाले भने । बैठकमा स्वास्थ्य अवस्थाका कारण देखाउदै भौतिक रूपमा उपस्थित हुन नसकेका पार्टी सभापति रवि लामिछानेले भर्चुअल माध्यमबाट बैठकमा सहभागी भई निर्णय प्रक्रियामा नेतृत्व गरेका थिए । २०८२ को आम निर्वाचनमा रास्वपाले पाएको अभूतपूर्व मतका आधारमा ५७ समानुपातिक सिट प्राप्त गरेको हो।















प्रतिक्रिया दिनुहोस्