Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

पाहुनालाई कोसेली कोदोको बिस्कुट, रैथाने कोदोबाट बिस्कुट उद्योग विस्तार

पाहुनालाई कोसेली कोदोको बिस्कुट, रैथाने कोदोबाट बिस्कुट उद्योग विस्तार
विज्ञापन
Advertisement

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकामा रैथाने बाली कोदोको प्रयोग गरी बिस्कुट उत्पादन सुरु भएको छ। उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रम अन्तर्गत प्राप्त अनुदान मार्फत नयाँबजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट तथा बेकरी उद्योग सञ्चालनमा ल्याएकी हुन्।

विज्ञापन
Advertisement
Advertisement

अनुदान पाएपछि भट्टराईले गाउँपालिकाको नयाँबजारमा कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेकी छन्। उनले ‘ओभन मेसिन’ प्रयोग गरी कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्ने गरेको बताएकी छन्।

उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर उत्पादन सुरु गरेकी हुन्। उनले ‘कोदोको बिस्कुट तथा बेकरी उद्योग’ नाम दिएर उद्योग स्थापना गरेको बताएकी छन्। कोदो फलाएर, पिसेर त्यसमा मह वा चिनी तथा केही मात्रामा मैदा मिसाएर गोलो आकारको बनाएपछि ओभनमा पकाइन्छ र त्यसपछि ड्रायरमा सुकाएर तयार गर्ने गरिएको छ। उत्पादन सुरु भएको भर्खरै मात्र भए पनि हाल स्थानीय बजारसँगै घुम्न आउने पर्यटक र पाहुनाले यसलाई कोसेलीका रूपमा लैजान थालेका छन्।

माईजोगमाई गाउँपालिकाद्वारा सञ्चालित उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत अनुदान लिएर आफूले उद्योग स्थापना गरेको भट्टराईको भनाइ छ। कोदोको परिकार शक्तिवर्धक मानिने भएकाले यसमा मिसाइने मह, चिनी वा उखुको खुदोले स्वाद अझ बढाउने गरेको छ।

भट्टराईले बिस्कुटसँगै पाउरोटी लगायतका बेकरी परिकार पनि उत्पादन गरिरहेकी छन्। तयार भएको कोदोको बिस्कुट उपभोक्ताले रुचाउने गरेको उनी बताउँछिन्। स्वास्थ्यका लागि राम्रो भएकाले यसको माग बढ्दै गएको र विस्तार गर्ने योजनामा रहेको उनको भनाइ छ। मागका आधारमा उत्पादन गरी बिक्री भइरहेको छ।

गाउँपालिकाले सहयोग गरेको यो कार्यक्रमले स्थानीय स्तरमा कोदोको ब्रान्डिङ हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताएका छन्। उनले कोदोको बिस्कुटले रैथाने बालीलाई ब्रान्ड बनाउन सकिने सम्भावना देखिएको बताएका छन्। पछिल्लो समय कोदो खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको अवस्थामा उत्पादन र बजारीकरणले किसानलाई फाइदा पुग्ने उनको भनाइ छ।

उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमले नेपालमै केही गर्न चाहने युवालाई सहयोग गर्ने गाउँपालिकाकी उपाध्यक्ष प्रवीना राईले बताएकी छन्। उनका अनुसार उद्योग स्थापना गर्न गाउँपालिकाले औजार खरिदमा सहयोग गरेको छ। विभिन्न वडाका युवालाई काममा जोड्न र आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरिएको हो।

उनले कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन सके गाउँपालिकाले थप सहयोग गर्ने बताउँदै व्यावसायिक ढंगले काम गर्न सुझाव दिएकी छन्। युवा तथा उद्यम गर्न चाहनेले नयाँ र रचनात्मक काम गरे उद्योग सञ्चालक मात्र नभई सिङ्गो गाउँपालिकालाई नै फाइदा पुग्ने उनको भनाइ छ। वस्तु उत्पादनसँगै उत्पादित वस्तु बजारसम्म लैजान पनि गाउँपालिकाको सहयोग आवश्यक रहेको उनले बताएकी छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit