काठमाडौैं । हायात प्लेस बुटवलले सञ्चालनमा आएको ६ महिनाभित्रै तीनवटा प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ ।
‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र वल्र्डवाइड बेस्ट होटेल डट कम’ ले सन् २०२६ का लागि प्रदान गर्ने मध्ये तीन विधामा यस होटेल सम्मानित भएको हो ।
जसमा नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु , नेपालको उत्कृष्ट होटेल अवार्ड र नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड महाप्रबन्धक तुषार नागरलाई प्रदान गरिएको छ ।
छोटो अवधिमै सफलता हासिल गर्नुलाई नेपाली पर्यटन र हस्पिटालिटी क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । विशेषगरी, आधुनिक पूर्वाधार, विश्वस्तरीय सुविधा र उत्कृष्ट अतिथि सेवाका कारण हायात प्लेसले यी सम्मानहरू प्राप्त गरेको हो ।
होटेलका महाप्रबन्धक तुषार नागरले छोटो समयमै तीन विधामा अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै भने –‘सञ्चालनको ६ महिनामै यी तीन प्रतिष्ठित अवार्डहरू प्राप्त हुनु हाम्रो सम्पूर्ण टोलीको जोश र समर्पणको फल हो । बुटवलको हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हाम्रो जुन भिजन थियो, यसले त्यसलाई प्रमाणित गरेको छ । यसले हामीलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा दिएको छ ।’
पछिल्लो समय नेपालमा ‘डेस्टिनेशन वेडिङ’ को मोह बढ्दै गएका बेला हायात प्लेस बुटवलले प्राप्त गरेको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु अवार्डले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
यस उपलब्धिले लुम्बिनी प्रदेशको समग्र पर्यटन क्षेत्रमा उत्साह थपेको सञ्चालकको बुझाइ छ ।

















प्रतिक्रिया दिनुहोस्