काठमाडाैं । सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ। दुई तिहाइको बलियो सरकार, खुला अर्थतन्त्रका प्रखर पक्षधर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, काममार्फत उत्तर दिने शैलीका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह, र जनअपेक्षाको केन्द्रमा रहेका सभापति रवि लामिछाने । यतिबेला बजेटको सबैभन्दा ठूलो दबाब र परीक्षण यिनै तीन नेतामाथि परेको छ।
अर्थमन्त्री वाग्लेका लागि यो आफ्नो आर्थिक दृष्टिकोण र विज्ञता व्यवहारमा उतार्ने अवसर हो। अर्कोतर्फ, परिवर्तनको आशामा मत दिएका जनतालाई विश्वास दिलाउने गरी संयमित, सन्तुलित र परिणाममुखी बजेट ल्याउने चुनौती सभापति रवि लामिछानेमाथि छ।
प्रधानमन्त्री बालेन शाहका लागि भने सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, प्रशासनिक सुधारलाई कार्यान्वयनमा लैजाने र एक वर्षमै देखिने परिणाम दिने बजेटमार्फत सरकारको कार्यशैली प्रमाणित गर्ने दबाब छ।
यही सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार बजेटका लागि अनलाइन पोर्टलमार्फत सुझाव माग गरेको छ। नागरिकहरूले दिएका सुझावको अवस्था र सरकारले चालेका कदमसमेत ट्र्याक गर्न सकिने विशेष सुविधा उक्त प्रणालीमा राखिएको छ। अब सर्वसाधारणले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत आफ्ना राय–सुझाव सिधै प्रधानमन्त्री सचिवालयसम्म पु¥याउन सक्नेछन्।
उता, पार्टी सभापति समेत रहेका रवि लामिछानेले आइतबार आफ्ना सांसदहरूलाई स्पष्ट सन्देश दिएका छन् , ‘कुनै एउटा निर्वाचन क्षेत्रका लागि मात्रै बजेट माग्न नजानु, देश नै हाम्रो निर्वाचन क्षेत्र हो।’
उनले सांसदहरूलाई भोटको राजनीति गर्ने गरी बजेट माग्ने पुरानो प्रवृत्तिबाट माथि उठ्न आग्रह गर्दै सिंगो देशलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने बताएका छन्।
उनका अनुसार बजेट १६५ वटा निर्वाचन क्षेत्रको जोडघटाउ नभई समग्र नेपालको आवश्यकता र प्राथमिकतामा आधारित हुनुपर्छ। यता अर्थमन्त्री डा. वाग्ले मन्त्रालयको ढोका बन्द गरेर बजेट लेखनमा व्यस्त छन्। विभिन्न क्षेत्रबाट आएका सुझाव संकलन गर्दै उनले यथार्थपरक र कार्यान्वयनयोग्य बजेट निर्माणमा जोड दिएका छन्।
करिब १९ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमाभित्र रहेर धेरै महत्वाकांक्षी योजना भन्दा व्यावहारिक कार्यक्रम ल्याउने तयारी सरकारको छ। अर्थमन्त्री वाग्लेले छोटो समयमै अर्थतन्त्रमा “सर्जिकल सुधार” सम्भव नभए पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, कर प्रणालीलाई स्थिर बनाउने र लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी बजेट आउने संकेत दिएका छन्। उनका अनुसार निजी क्षेत्रलाई कस्ने होइन, खुला र सहज वातावरण दिने नीति सरकारले लिनेछ, तर राजस्व सन्तुलनमा पनि उत्तिकै ध्यान दिइनेछ।
राजनीतिक दल, निजी क्षेत्र र सर्वसाधारण सबैको नजर अहिले यही बजेटतर्फ केन्द्रित छ। दुई तिहाइको बलियो सरकारले ल्याउने पहिलो पूर्ण बजेट भएकाले यसले सरकारको आर्थिक दृष्टि, विकासको प्राथमिकता र आगामी कार्यदिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
बजेट कति ठूलो आउँछ भन्ने होइन, त्यो बजेटले जनतामा भरोसा जगाउँछ कि जगाउँदैन भन्ने हो। प्रधानमन्त्री बालेन शाहको सुधारको प्रतिबद्धता, अर्थमन्त्री स्वर्णिम वाग्लेको आर्थिक दृष्टिकोण र रवि लामिछानेको राजनीतिक उत्तरदायित्व यी तीनैको वास्तविक परीक्षा यही बजेटबाट हुने देखिएको छ।

















प्रतिक्रिया दिनुहोस्