Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

रूख कटान आदेश पाएसगै डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाले गति लिने 

रूख कटान आदेश पाएसगै डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाले गति लिने 
विज्ञापन
Advertisement

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका लागि आवश्यक रुख कटान आदेश दुई वर्षपछि प्राप्त भएको छ । कटान आदेश पाएसँगै वन क्षेत्रमा रोकिएको निर्माणकार्यले गति लिएको आयोजना पक्षले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङसम्म फैलिएको २५ किलोमिटर लामो प्रसारण लाइनका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्ले २०८० फागुन ६ गते स्वीकृति दिएको थियो । तर, डिभिजन वन कार्यालयबाट कटान आदेश भने गत शुक्रबार मात्रै जारी गरिएको हो ।

आयोजना प्रमुख रोशन अग्रवालका अनुसार कटान आदेश नपाउँदा वन क्षेत्रमा तार तान्ने काम रोकिएको थियो । अब निर्माणकार्यलाई तीव्र बनाएर तीन महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

आयोजनाअन्तर्गत ८२ वटा टावरमध्ये ४० वटा वन क्षेत्रमा र ४२ वटा व्यक्तिगत जग्गामा निर्माण भइरहेका छन् । निर्माणस्थलमा तीन हजार ९३६ वटा रुख रहेको जनाइएको छ । वन क्षेत्र प्रयोग गरेबापत आयोजनाले २०८१ असोजमै ५०४ रोपनी जग्गा खरिद गरी बिरुवा रोपणका लागि पहिलो किस्ताको रकमसमेत उपलब्ध गराइसकेको थियो ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख वसन्तकेशव अधिकारीले स्वीकृत रुख पहिचानका लागि स्थलगत अनुगमन गर्नुपरेकाले कटान आदेश दिन ढिलाइ भएको बताए ।

म्याग्दी र राहुघाट क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रणालीमा जोड्न उक्त प्रसारण लाइन निर्माण भइरहेको हो । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा लार्सन एन्ड टुब्रो लिमिटेडसँग तीन अर्ब ५७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । विभिन्न कारणले निर्माण अवधि पटक–पटक थप गरिएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजना प्रमुख अग्रवालका अनुसार वन क्षेत्रको कटान आदेश ढिलाइ, राहुघाट सबस्टेशन क्षेत्रको कमजोर भूगोल, विपद्को जोखिम तथा केही स्थानमा स्थानीय विवादका कारण निर्माणमा ढिलाइ भएको हो ।

हालसम्म ८२ मध्ये ७१ वटा टावर खडा भइसकेका छन् । डाडाखेत सबस्टेशनमा ९५ प्रतिशत, प्रसारण लाइनमा ७० प्रतिशत र राहुघाट सबस्टेशनमा ६५ प्रतिशत प्रगति भएको छ ।

कुल चार अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल विद्युत् प्राधिकरणको एक अर्ब पाँच करोड र एसियाली विकास बैंकको तीन अर्ब ८२ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit