काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एपमा लगइन नै नगरी केही सेकेन्डमै बैंक खाता ब्लक गर्न सकिने नयाँ सुरक्षा सुविधा सञ्चालनमा ल्याएको छ।
डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न बैंकले यो सुविधा ल्याएको जनाएको छ। बैंकका अनुसार ग्राहकलाई अनधिकृत पहुँच, खाता ह्याक भएको शङ्का वा सम्भावित वित्तीय ठगीको जोखिम देखिएमा बैंकको ‘ग्लोबल कनेक्ट’को आधिकारिक नम्बर ०१–५९७०६०० (वा अन्तर्राष्ट्रिय कलका लागि ९७७–१–५९७०६००) मा फोन गरेर मौखिक अनुरोधमार्फत पनि तत्काल खाता रोक्का गर्न सकिने व्यवस्था गरिएको छ।
मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि भने यो सेवा अझ सहज बनाइएको बैंकले जनाएको छ। ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एप खोलेपछि लगइन नगरी माथिल्लो दायाँ कुनामा रहेको ‘मिस्ड कल बैंकिङ’ मा क्लिक गरी मिस्ड कलद्वारा अकाउन्ट ब्लकको विकल्प चयन गरेपछि खाता तुरुन्त ब्लक हुनेछ।
बैंकका अनुसार यस्तो ‘फ्रड रेजिलियन्ट’ प्रणालीले फिसिङ, स्क्याम तथा अन्य अनलाइन बैंकिङ अपराधबाट ग्राहकको रकम सुरक्षित राख्न प्रभावकारी भूमिका खेल्नेछ। यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै वाणिज्य बैंकहरूलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ। बैंकले आफ्नो नयाँ प्रणाली उक्त निर्देशनसँग समेत मेल खाने जनाएको छ।
हाल ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्