रौतहट । चर्को गर्मी र तातो हावा (लू) का कारण जनजीवन प्रभावित भइरहेका बेला जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीलाई राहत दिन कार्यालय परिसरको प्रतीक्षालयमा ठूलो क्षमताको कुलर जडान गरेको छ ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा विभिन्न सिफारिसका लागि आउने सेवाग्राही घण्टौँसम्म लाममा बस्न बाध्य भएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको निर्देशनमा कुलर जडान गरिएको हो । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएको छ । चर्को घाम र पसिनाले हैरान सेवाग्राहीलाई कार्यालय परिसरमा पालो कुर्दा समस्या हुँदै आएको थियो ।
कुलर सञ्चालनमा आएपछि सेवाग्राहीले राहत महसुस गरेका छन् । सेवाग्राही विवेक कुमार साहले चिसो हावा र पानीको व्यवस्थाले सरकारले नागरिकको दुःख बुझेको अनुभूति भएको बताए । मधेसका सरकारी कार्यालयमा गर्मीको समयमा सेवाग्राहीले सास्ती खेप्नु सामान्यजस्तै बनेको अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटको यो पहललाई स्थानीयले नागरिकमैत्री र उदाहरणीय कदमका रूपमा प्रशंसा गरेका छन् ।
प्रशासन स्रोतका अनुसार आगामी दिनमा सेवाग्राहीको सहजताका लागि आवश्यकता अनुसार थप व्यवस्थासमेत गरिनेछ ।

















प्रतिक्रिया दिनुहोस्