काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको बजेट मुख्यगरी शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित गरेर निर्माण गरिने बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित अङ्गदाता सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले महानगरपालिकाले पूर्वाधार, सम्पदा संरक्षण र हरियाली प्रवद्र्धनमा उल्लेखनीय काम सम्पन्न गरिसकेकाले अबको प्राथमिकता पूर्वाधार भन्दा मानव विकासमा हुने स्पष्ट पारे। ‘अबको बजेट ल्याउँदा हामीले ध्यान दिनुपर्ने कुरा भनेको शिक्षा, स्वास्थ्य र रोजगारी हो’,मेयर महर्जनले भने, ‘हामीले स्वास्थ्य क्षेत्रमा पहिलेदेखि नै धेरै लगानी गर्दै आइरहेका छौँ र आगामी बजेटमार्फत यसको स्तरलाई अझ अभिवृद्धि गर्नेतर्फ लाग्नेछौँ।’
अहिले बजेट निर्माणको समय भएकाले स्वास्थ्य क्षेत्रको स्तरवृद्धिका लागि महानगरपालिकाले किष्ट मेडिकल कलेजसँग सहकार्य गर्न चाहेको समेत उनले बताए। उनले अस्पताल प्रशासनलाई संयुक्त रूपमा गर्न सकिने कामहरूको खाका तयार पार्न समेत आग्रह गरे । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बिरामी भएको समयदेखि नै किष्ट अस्पतालसँग महानगरको सम्बन्ध घनिष्ठ बनेको स्मरण गर्दै उनले स्वास्थ्यसम्बन्धी प्राविधिक विषयमा विज्ञहरूसँगै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले भने, ‘किष्ट मेडिकल कलेजसँग पनि हाम्रो सहकार्य गर्ने प्रस्थान बिन्दुहरू के–के हुन सक्छ ? मैले अनुरोध गरेँ- प्लिज डु कम इन माई अफिस। हामी एकचोटि होमवर्क गरौँ, ह्वाट क्यान बि डन टुगेदर, है त ।’
मेयर महर्जनले पाटन दरबार क्षेत्रदेखि बुङ्गमती र खोकनासम्मका मठमन्दिर, शिवालय र देवालयको पुनर्निर्माण तथा संरक्षणको काम लगभग सकिएको जानकारी दिए। ‘अब सम्पदा क्षेत्रमा ठूलो बजेट आवश्यक छैन, त्यसैले हामी शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान केन्द्रित गरिरहेका छौँ,’उनले थपे।आफ्नो दोस्रो कार्यकालको यो अन्तिम वर्ष भएको उल्लेख गर्दै महर्जनले बाँकी रहेका कामलाई पूर्णता दिने लक्ष्य लिएको बताए। महानगरका २९ वडामध्ये खोकना, हरिसिद्धि, बुङ्गमती र धापाखेल क्षेत्रमा केही पूर्वाधार विकास गर्न बाँकी रहेको र ती क्षेत्रलाई पुरानो उपमहानगर सरहको स्तरमा पुर्याउन तीव्र रूपमा काम भइरहेको उनले स्पष्ट पारे।
यस्तै, उनले महानगरले रिक्त स्थानहरूलाई ‘म्यान–मेड ग्रीनरी’ मार्फत हरियालीमा परिणत गरिरहेको र यसले नगरबासीहरूको औसत आयु बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। यसैगरी, महानगरभित्र स्मार्ट स्ट्रिट लाइट जडानको काम सबैतिर भइसकेको जानकारी दिँदै उनले अब चक्रपथको ७.९ किलोमिटर क्षेत्रमा बत्ती जडानको काम भइरहेको बताए। फाउन्डेसन निर्माणको काम भइरहेको र आगामी ३ देखि ४ महिनाभित्र चक्रपथ क्षेत्र झिलिमिली हुने उनको दाबी छ। ‘त्यसपछि रात्रिकालीन समयमा हवाईजहाजबाट काठमाडौँ छिर्दा दक्षिणतर्फ जुन शहर उज्यालो देखिन्छ, त्यो ललितपुर महानगरपालिका हुनेछ,’ उनले भने।















प्रतिक्रिया दिनुहोस्