काठमाडौं । सरकारले नेपाल टेलिकममा आफ्नो बहुमत स्वामित्व यथावत् राख्दै बाँकी शेयर आगामी पुष मसान्तभित्र सर्वसाधारण मा बिक्री गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा यस्तो घोषणा गरेका हुन् । बजेट भाषणका क्रममा शुक्रबार उनले भने, ‘नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्नेछौँ। र, त्यसबाट प्राप्त हुने रकम नेपाललाई प्रविधि तथा टेक हब बनाउने अभियानमा उपयोग गरिनेछ।’
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुनदृष्टि रहने स्पष्ट पारे । मुलुकको आर्थिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि डिजिटल अर्थतन्त्र र प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
यसका साथै, नेपालको सूचना प्रविधि सेवालाई विश्वबजारमा फैलाउन र यस क्षेत्रको विस्तारका लागि विदेशमा समेत लगानी गर्न पाउने कानुनी तथा नीतिगत व्यवस्था मिलाइएको अर्थमन्त्री वाग्लेले जानकारी दिए । सरकारको यस कदमले देशभित्रका एआई उद्यमी, स्टार्टअप र समग्र प्रविधि क्षेत्रलाई राहत मिल्ने विश्वास लिइएको छ।















प्रतिक्रिया दिनुहोस्