काठमाडौं। कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म (इआरपी) सार्वजनिक गरेको छ ।
नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ बैंकले प्रविधि साझेदार आईएमएस सफ्टवेयरसँगको सहकार्यमा यो रियल–टाइम प्रणाली सञ्चालनमा ल्याएको हो । यस अन्तर्गत आईएमएसको इआरपी सफ्टवेयर प्रयोग गरिरहेका व्यवसायी ग्राहकहरूले अब बिनाधितो कर्जा प्राप्त गर्न सक्नेछन् । यो सेवा सुरु भएसँगै कर्जा लिनका लागि लामो कागजी प्रक्रिया पूरा गर्नुपर्ने र बैंकका शाखा कार्यालयहरू धाउनुपर्ने झन्झट पूर्ण रूपमा अन्त्य भएको छ ।
वास्तविक डेटाकै आधारमा व्यवसायको कर्जा योग्यता मूल्याङ्कन गरिने हुँदा परम्परागत धितोबिना नै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । यस डिजिटल प्ल्याटफर्मले कर्जाको आवेदन दिनेदेखि स्वीकृति, रकम वितरण र भुक्तानी सम्मको सम्पूर्ण चक्रलाई पूर्ण रूपमा डिजिटल माध्यमबाटै सम्पन्न गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ। इआरपी प्रणालीसँग प्रत्यक्ष एकीकरण गरिएको हुनाले बैंकले सम्बन्धित व्यवसायको बिक्री, दैनिक कारोबार र मौज्दात जस्ता वास्तविक समयको डेटा सिधै हेर्न सक्नेछन्।
व्यवसायीहरुले आफ्नै कार्यसम्पादनका आधारमा अधिकतम ५,००,००० सम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन् । यो कर्जालाई अधिकतम १२ महिनासम्मको समान मासिक किस्ता मार्फत भुक्तानी गर्ने व्यवस्था बैंकले गरेको छ।
बैंकका अनुसार ग्राहकहरूको माग, सेवाको प्रयोग र नेपाल राष्ट्र बैंकको निर्देशनलाई ध्यानमा राख्दै आगामी दिनमा यस कर्जाको सीमालाई अझ बढाउँदै लैजाने योजना रहेको छ । बैंकका अनुसार नेपालको अर्थतन्त्रमा मेरुदण्डका रूपमा रहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गरी यो सेवा ल्याइएको हो । यसले देशमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउनुका साथै उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
हाल कुमारी बैंकले आफ्ना २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरहरूको देशव्यापी सञ्जालमार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
















प्रतिक्रिया दिनुहोस्