काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ।
कम्पनीका अनुसार यस्ता सन्देशमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै प्रयोगकर्तालाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गर्ने गरिएको छ। यस्ता गतिविधिबाट व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुने जोखिम रहने टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटिपी, पासवर्ड, पिन तथा सिभिभि जस्ता गोप्य विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ। साथै कुनै पनि लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न सुझाव दिएको छ।
बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाका आधिकारिक माध्यम मात्र प्रयोग गर्न र शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा तत्काल सम्बन्धित संस्थालाई जानकारी गराउन पनि कम्पनीले अनुरोध गरेको छ।
ग्राहकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहकलाई सचेत रहन आग्रह गरेको छ।

















प्रतिक्रिया दिनुहोस्