काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको नास्तामा चिया मात्रै खुवाइएको छ।
महाधिवेशन व्यवस्थापन पक्षले खर्च अभावका कारण आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था गर्न नसकिएको जनाएको छ।
तीन दिनका लागि तय गरिएको महाधिवेशन आन्तरिक विवाद, निर्वाचन प्रक्रिया लम्बिनु तथा व्यवस्थापनमा देखिएका चुनौतीका कारण छैटौँ दिनसम्म पुगेको छ। महाधिवेशनको अन्तिम दिन आज नयाँ पदाधिकारीको निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयनसँगै कार्यक्रम समापन गर्ने तयारी गरिएको छ।
यसअघि रास्वपाले महाधिवेशन असार ७ देखि ९ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो। तर निर्वाचन प्रक्रिया पटक–पटक प्रभावित हुँदा निर्धारित समयमै महाधिवेशन सम्पन्न हुन सकेन। बिहीबार केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि आज पदाधिकारी चयनको प्रक्रिया अघि बढाइएको हो।
महाधिवेशनका लागि पार्टीले करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको थियो। असार ४ गते बसेको सचिवालय बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त अनुमानित बजेट सार्वजनिक गरेका थिए। तर, महाधिवेशन तीन दिन थप लम्बिएपछि आर्थिक व्यवस्थापनमा दबाब बढेको र त्यसकै प्रभाव प्रतिनिधिहरूका लागि भोजन व्यवस्थामा समेत परेको देखिएको छ।
आर्थिक अभावका बीच महाधिवेशन सञ्चालन भइरहे पनि रास्वपाले आज पदाधिकारी निर्वाचन सम्पन्न गरी पहिलो महाधिवेशन औपचारिक रूपमा टुंग्याउने तयारी गरेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्