मुगु । मुगुको प्रमुख पर्यटकीय गन्तव्य रारा तालस्थित मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ। असार १५ देखि सेवा सुचारु भएपछि स्थानीयवासी, होटल व्यवसायी तथा स्वदेशी–विदेशी पर्यटकले उच्च गतिको इन्टरनेट सेवा उपयोग गर्न थालेका छन्।
छायाँनाथ रारा नगरपालिका–९ अन्तर्गत पर्ने मुर्माटपमा फोरजी टावर निर्माण सम्पन्न गरी सेवा विस्तार गरिएको हो। यससँगै रारा क्षेत्र तथा आसपासका बस्तीका नागरिकलाई सञ्चार सेवामा सहज पहुँच पुगेको छ। मुर्मा गाउँका स्थानीय डवल रोकायाका अनुसार फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीयलाई दैनिक सञ्चारमा सहज भएको छ भने रारा भ्रमणमा आउने पर्यटकले पनि निर्बाध रूपमा इन्टरनेट प्रयोग गर्न पाएका छन्।
नेपाल टेलिकम मुगुका निमित्त प्रमुख बिमलकुमार बुढाले करिब सात–आठ वर्षदेखि विभिन्न कारणले अलपत्र रहेको मुर्माटपको फोरजी टावर निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार थार्प टावरबाट रेडियो लिंकमार्फत मुर्माटप टावरमा फोरजी सेवा जडान गरिएको हो। हाल सीमित क्षमतामा सेवा सञ्चालन भइरहेको र भरपर्दो पावर ब्याकअप नहुँदा यसको दीर्घकालीन सञ्चालनमा चुनौती रहेको उनले बताए।

बुढाले टावरमा जडान गरिएका सात–आठ वर्षअघि खरिद गरिएका पुराना ब्याट्रीले पर्याप्त विद्युत आपूर्ति गर्न नसक्ने भएकाले नयाँ ब्याट्री जडानका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिए। नेपाल टेलिकमका अनुसार फोरजी सेवा सञ्चालनसँगै मुर्मा गाउँ, रारा क्षेत्रका आसपासका बस्ती, होटल, रारा राष्ट्रिय निकुञ्ज कार्यालय, त्यहाँ कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा पर्यटक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
यो आयोजना लामो समयदेखि ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको थियो। स्थानीयवासीको निरन्तर दबाब तथा सामाजिक युवा अभियन्ता अनिल बाँनियाको पहलपछि नेपाल टेलिकमले निर्माण कार्यलाई तीव्रता दिँदै सेवा सञ्चालनमा ल्याएको हो।
यद्यपि, भौगोलिक विकटताका कारण मुर्माटपमा राष्ट्रिय विद्युत प्रसारण लाइन नपुगेकाले टावरको विद्युत आपूर्तिमा समस्या देखिएको छ। हाल प्रयोगमा रहेका कमजोर ब्याट्रीका कारण मौसम प्रतिकूल हुँदा विद्युत आपूर्ति अवरुद्ध भई नेटवर्क सेवा प्रभावित हुने गरेको स्थानीयवासीले बताएका छन्। नयाँ ब्याट्री जडानपछि सेवा थप भरपर्दो हुने अपेक्षा गरिएको छ। नेपाल न्यूज बैंक















प्रतिक्रिया दिनुहोस्