Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल
विज्ञापन
Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिलाई आर्थिक रूपान्तरणसँग प्रत्यक्ष जोड्नुपर्ने आवश्यकता औंल्याउँदै सरकारले परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयद्वारा सोमबार आयोजित ‘प्रा. यदुनाथ खनाल व्याख्यान शृङ्खलाको पाँचौँ संस्करण’ मा बोल्दै मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूलाई क्रमशः आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँच विस्तारमा केन्द्रित गरिँदै लगिएको जानकारी दिए । ‘अन्ततः परराष्ट्र नीतिले जनताको कल्याण, आकाङ्क्षा तथा समृद्धिको सेवा गर्नुपर्छ,’ मन्त्री खनालले भने ।

उनले विश्व शक्ति प्रतिस्पर्धा तीव्र बन्दै गएको वर्तमान परिवेशमा आर्थिक साधन, आपूर्ति शृङ्खला तथा पूर्वाधारले अन्तर्राष्ट्रिय सम्बन्धमा बढ्दो प्रभाव पारिरहेको उल्लेख गरे । साथै कृत्रिम बुद्धिमत्ता र डिजिटल अर्थतन्त्रले विश्व शक्ति सन्तुलन पुनः परिभाषित गरिरहेको भन्दै नेपालजस्ता मुलुकका लागि चुनौती र अवसर दुवै रहेको बताए।

मन्त्री खनालले बहुपक्षीय प्रणाली दबाबमा परे पनि सहकार्य, प्रविधि र आर्थिक साझेदारीका नयाँ सम्भावना विस्तार भइरहेको उल्लेख गरेका छन् । उनले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा आधारित रहँदै बदलिँदो विश्व परिस्थितिसँग अनुकूल हुनुपर्नेमा जोड दिए। ‘हाम्रो परराष्ट्र नीति विकसित हुँदै गएका यथार्थसँग अनुकूलित हुँदै राष्ट्रिय हितमा दृढतापूर्वक आधारित रहनुपर्छ’, खनालले भने ।

देशको परराष्ट्र नीतिबारे मन्त्री खनालले नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य तथा सिद्धान्तहरू, पञ्चशील, असंलग्नता तथा शान्तिपूर्ण सहअस्तित्वप्रति दृढ प्रतिबद्ध रहेको बताए। ‘यी सिद्धान्तहरूले आज पनि हाम्रो बाह्य सम्बन्धको आधार प्रदान गरिरहेका छन्’, उनले भने । मन्त्री खनालले असंलग्नतालाई निष्क्रियता वा एकान्तताका रूपमा बुझ्न नहुने उल्लेख गर्दै प्रा खनालले तर्क गरेझैँ, यसका लागि सक्रिय संलग्नता, सुदृढ निर्णय क्षमता तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई नेपालको आफ्नै हितको दृष्टिकोणबाट मूल्याङ्कन गर्ने क्षमता आवश्यक पर्ने बताए। प्रा खनालले राजनीतिक स्थायित्व तथा प्रत्यक्ष आर्थिक प्रगतिबाट कूटनीतिले विश्वसनीयता प्राप्त गर्ने उल्लेख गरेका थिए।

मन्त्री खनालले जनताले थप अवसर, विकास तथा समृद्धिको आकाङ्क्षा राखेका र परराष्ट्र नीतिले बढ्दो रूपमा यी राष्ट्रिय आकाङ्क्षाको सेवा गर्नुपर्नेमा जोड दिए। यस सन्दर्भमा सरकारले सुशासन तथा तीव्र आर्थिक वृद्धिलाई आफ्ना प्राथमिकताका केन्द्रमा राखेको उनले जानकारी दिए। उनले भने, ‘विशेषगरी युवापुस्ताले परिणाम, अवसर तथा जवाफदेही संस्थाहरूको अपेक्षा गरेका छन् ।’

‘भूराजनीति स्थायी यथार्थ हो’

भूराजनीति नेपालका लागि स्थायी यथार्थ भएको उल्लेख गर्दै मन्त्री खनालले भने, ‘हामीले प्रत्येक विषयलाई केवल भूराजनीतिक दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन । बाह्य घटनाक्रमको अत्यधिक सतर्क वा सङ्कीर्ण व्याख्याले कहिलेकाहीँ विकास तथा सहकार्यका वैध अवसरहरूको खोजी गर्ने हाम्रो क्षमतालाई सीमित गर्न सक्छ ।’ आपसमा अन्तरसम्बन्धित विश्वमा भूगोललाई केवल सीमितताका रूपमा हेर्नु नहुनेमा जोड दिँदै उनले सही रूपमा बुझ्दा यसले विचार, बजार, जनता तथा अवसरहरूलाई जोड्ने पुलको भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे। ‘हाम्रो भौगोलिक अवस्थिति सम्पर्क सञ्जाल, व्यापार, लगानी तथा क्षेत्रीय सहकार्यका सम्भावनाहरूले भरिपूर्ण छ’, उनले भने।

यही दृष्टिकोणले हालका दिनमा छिमेकी मुलुकसँग भएका सरकारका कूटनीतिक संलग्नतालाई मार्गदर्शन गरेको उनको भनाइ छ। ‘भारत तथा चीनका मेरा हालैका भ्रमणका क्रममा भएका छलफल व्यावहारिक सहकार्य तथा पारस्परिक हितका साझेदारीमा केन्द्रित थिए’, मन्त्री खनालले भने ।

नेपाली डायस्पोराका सम्बन्धमा उनले विदेशमा रहेका नेपाली नागरिकको संरक्षण सरकारका प्रमुख जिम्मेवारीमध्ये एक रहँदै आएको बताए । ‘लाखौँ नेपाली विदेशमा बसोबास तथा रोजगारीमा संलग्न छन् । उनीहरूले आफू कार्यरत मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउनुका साथै नेपालको अर्थतन्त्र र समाजलाई पनि सहयोग गरिरहेका छन्’, मन्त्री खनालले भने, ‘उनीहरूको सुरक्षा, सम्मान तथा कल्याण हाम्रो परराष्ट्र नीतिको सर्वोच्च प्राथमिकतामध्ये एक हो ।’

नेपालको परराष्ट्र नीतिसम्बन्धी गम्भीर विमर्शका लागि तथा परिवर्तनशील विश्व परिवेशमा मुलुकले सामना गरिरहेका चुनौती र अवसरहरूबारे सूचित छलफललाई प्रोत्साहन गर्न यो व्याख्यान शृङ्खला स्थापना गरिएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले परिवर्तनशील भूराजनीतिक तथा भूआर्थिक परिदृश्य सम्बन्धमा नेपालको परराष्ट्र नीतिका अवसर तथा सीमितता सम्बन्धमा मुख्य वक्तव्य दिएका थिए। यस वर्षको व्याख्यानको विषय ‘नेपालको परराष्ट्र नीतिः भूराजनीतिक तथा भूआर्थिक प्रवृत्तिहरूबीच मार्गनिर्देशन’ रहेको थियो । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit