Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

एनटिसी कार्यालय निरीक्षणपछि सञ्चारमन्त्रीद्वारा ग्राहकलाई छिटो र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन

एनटिसी कार्यालय निरीक्षणपछि सञ्चारमन्त्रीद्वारा ग्राहकलाई छिटो र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन्तर्गतको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ।

निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालयमार्फत सञ्चालन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीबारे मन्त्रीलाई जानकारी गराएका थिए। त्यसैगरी, मन्त्री तिमिल्सिनाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ ।

त्यसपछि उनले सुन्धारा दूरसञ्चार कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरे । सेवाग्राहीहरूले नयाँ सिम कार्ड, बिल भुक्तानी, ई–सिम सेवा, टेलिफोन तथा इन्टरनेट सेवासम्बन्धी अनुभव साझा गरेका थिए । सेवाग्राहीका अनुसार कार्यालयमा सेवा लिन लामो समय लाइन बस्न नपरेको र सेवा अपेक्षाकृत छिटो प्राप्त भएको पाइएको छ।

निरीक्षणपछि मन्त्री तिमिल्सिनाले सेवाग्राहीलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकमलाई निर्देशन दिँदै ग्राहकका व्यक्तिगत विवरण सुरक्षित रूपमा डाटाबेसमा राख्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनेका छन् । साथै, एकपटक विवरण अद्यावधिक गरिसकेपछि पुनः सेवा लिन जाँदा बारम्बार कागजात पेश गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

त्यस अवसरमा सुन्धारा दूरसञ्चार कार्यालयका प्रमुख निर्मलराज चटौतले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुसार नयाँ सिम वितरण, केवाईसी अद्यावधिक, गुनासो दर्ता, गुनासोको अवस्था ट्र्याकिङ तथा शुल्क भुक्तानीलगायत सेवा अनलाइनमार्फत उपलब्ध गराउने प्रणाली विकास गरिएको जानकारी दिए।

उनका अनुसार सिम लिनका लागि अनलाइन आवेदन प्रणाली कार्यान्वयनमा ल्याइएको छ भने ग्राहकले आफूलाई पायक पर्ने सेवा केन्द्रबाट सिम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, ई–सिम सेवा अनलाइनमार्फत नै उपलब्ध गराइएको पनि उनले बताए।

कार्यालयमा ‘फ्रन्ट हेल्प डेस्क’ स्थापना गरी ‘वान स्टप सर्भिस’ सञ्चालनमा ल्याइएको जनाइएको छ।निरीक्षणपछि मन्त्री तिमिल्सिनाले आधुनिक सेवा विस्तारसँगै सेवाको गुणस्तर, ग्राहक सन्तुष्टि र व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गर्न नेपाल टेलिकमले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit