काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । साथै, सेवा आयोगको सदस्यमा प्रा.डा. रेजिना मास्के नियुक्त भएकी छन्। सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यले यी नियुक्ति गरिएको जनाइएको छ ।
अध्यक्ष सिफारिस समितिले अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा थापालाई अध्यक्ष नियुक्त गरिएको हो। समितिले गत जेठमा इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरी योग्यता, अनुभव, नेतृत्व क्षमता र कार्यसम्पादनका आधारमा मूल्यांकन गरेको जनाएको छ।
आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका छन्। उनले शहरी विकास, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, साथै जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा कार्य गरेका थिए।
उनको नेतृत्वमा राष्ट्रिय आवास योजना, राष्ट्रिय शहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष–२०११ लगायतका महत्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयन भएको थियो।
भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिमा विज्ञ सदस्यका रूपमा समेत योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा शहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्। आवास, शहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा उनको लामो अनुभव रहेको छ।















प्रतिक्रिया दिनुहोस्