Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

अटोमोबाइल क्षेत्रलाई स्थिर र लगानीमैत्री बनाउन दीर्घकालीन नीति आवश्यक छ : अनुप बराल ( अन्तर्वार्ता)

अटोमोबाइल क्षेत्रलाई स्थिर र लगानीमैत्री बनाउन दीर्घकालीन नीति आवश्यक छ : अनुप बराल ( अन्तर्वार्ता)
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालको अटोमोबाइल क्षेत्र पछिल्लो समय विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, स्वदेशमै सवारीसाधन तथा अटो कम्पोनेन्ट उत्पादनको सुरुवात र नयाँ प्रविधिको प्रवेशसँगै तीव्र रूपान्तरणको चरणमा छ। यही परिवेशमा यस वर्ष १८औं संस्करणको नाडा अटो शो आयोजना हुँदैछ। अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, नाडा अटो शोका विशेषता, बजारका चुनौती तथा नीतिगत सुधारका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुप बरालसँग गरिएको कुराकानी :

विज्ञापन
Advertisement
Advertisement

भाेलि हुने नाडा अटो शो विगतका संस्करणभन्दा कसरी फरक हुँदैछ? नयाँ के–के देख्न पाइन्छ?

नाडा अटो शो आफैंमा नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हो। यस वर्ष हामी यसको १८औं संस्करण आयोजना गर्दैछौं। त्यसैले यो संस्करण आफैंमा विशेष छ। नाडा स्थापना भएको ५० वर्ष पुग्दैछ। एउटा संस्थाले पाँच दशकसम्म आफूलाई निरन्तरता दिँदै देशभरिका सातै प्रदेशलाई समेट्नु, सदस्यहरूलाई एउटै छातामुनि ल्याउनु र केवल गाडी तथा मोटरसाइकलमा सीमित नभई सम्पूर्ण अटोमोबाइल इकोसिस्टमलाई समेट्नु आफैंमा ठूलो उपलब्धि हो।

यस वर्षको अटो शोमा हामीले प्रविधि, नयाँपन र सहभागितालाई विशेष प्राथमिकता दिएका छौं गत वर्ष फ्लाइङ कारजस्ता आकर्षण थिए भने यसपटक रोबोटिक्स र रोबोटमार्फत गरिने विभिन्न गतिविधिहरू पनि राखिएका छन्।

हामीले अटो शोमा मात्र कार मात्र देखाउन खोजेका छैनौं। चारपांग्रे सवारीसाधनसँगै हलुका व्यावसायिक सवारीसाधन, ठूला विद्युतीय बस, दुईपांग्रे सवारीसाधनलगायत विभिन्न क्षेत्रको सहभागिता छ। अझ महत्वपूर्ण कुरा, यसपटक नेपाल पेभिलियन पनि विशेष आकर्षणका रूपमा रहनेछ। नेपालमै बनेका अटोमोबाइल कम्पोनेन्ट, दुईपाङ्ग्रे सवारीसाधन, हेल्मेट, ब्याट्री, लुब्रिकेन्टलगायत स्वदेशी उत्पादनलाई पनि प्राथमिकताका साथ प्रस्तुत गरिँदैछ । त्यसैले नाडा अटो शोको विशेषता भनेको एउटा गाडी वा गाडीको आयातलाई मात्र प्राथमिकता नदिई सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्नु हो।

पछिल्लो समय नेपालको अटोमोबाइल बजारको अवस्था कस्तो छ?
अटोमोबाइल बजार समग्रमा राम्रो अवस्थामा छ। नेपालको अर्थतन्त्रमा जस्तोसुकै अवस्था आए पनि अटोमोबाइल क्षेत्रले सरकारलाई निरन्तर सहयोग गर्दै आएको छ। राजस्वमा ठूलो योगदान छ, रोजगारी सिर्जनामा ठूलो भूमिका छ र पछिल्लो समय त यो क्षेत्र उद्योगतर्फ पनि अघि बढिरहेको छ।

अहिले विद्युतीय सवारीसाधनप्रति नेपाली उपभोक्ताको आकर्षण र स्वीकार्यता निकै राम्रो देखिएको छ। विद्युतीय सवारीसाधनतर्फको रूपान्तरण र अपनत्व बढ्दै गएको छ। तर यसको अर्थ समस्या छैन भन्ने होइन। हामीले देशको अवस्था र आवश्यकताअनुसार आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ। बजारमा सवारीसाधनको माग छ, बिक्री पनि भइरहेको छ। केही सवारीसाधन स्टकमा रहन सक्छन्, तर बजार नै छैन भन्ने अवस्था होइन।

बजारमा माग हुँदाहुँदै पनि व्यवसायीले समस्या भोगिरहेका छन् भन्नुभयो। मुख्य समस्या के हो?

अटोमोबाइल क्षेत्र एउटा ठूलो इकोसिस्टम हो। यसले प्रत्यक्ष रूपमा मात्र होइन, बैंकिङ, बीमा, स्पेयर पाट्र्स, मर्मतसम्भार, रोजगारीलगायत धेरै क्षेत्रलाई चलायमान बनाउँछ। अटोमोबाइल क्षेत्र चलायमान हुँदा बैंकिङ क्षेत्र चलायमान हुन्छ, बीमा क्षेत्र चलायमान हुन्छ। गैरजीवन बीमा व्यवसायमा पनि अटोमोबाइल क्षेत्रको ठूलो योगदान छ। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौँ मानिस यस क्षेत्रसँग जोडिएका छन्।

त्यसैले बजार छ। तर अहिले व्यवसायीहरू बैंकसँग काम गर्न केही हदसम्म डराइरहेको अवस्था छ। बैंकिङ प्रणालीमा पैसा पर्याप्त भए पनि व्यवसायीले ऋण लिएर लगानी गर्न हिच्किचाउने अवस्था छ। यसको मुख्य कारण भोलिको नीति कस्तो हुन्छ भन्ने अनिश्चितता हो। हामीलाई अहिले सबैभन्दा बढी आवश्यक कुरा दीर्घकालीन नीति हो। सरकारले छोटो–छोटो अवधिका नीति मात्र ल्याउने हो भने व्यवसायीले दीर्घकालीन लगानीको योजना बनाउन सक्दैनन्।

कम्तीमा पाँच वर्ष वा त्योभन्दा लामो अवधिका स्थिर नीति आवश्यक छन्। नेपालमै अटोमोबाइल क्षेत्रमा लगानी गर्ने व्यवसायी उत्साहित भएर काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्छ।

पछिल्लो बजेट र मौद्रिक नीतिबाट अटोमोबाइल क्षेत्रले कति अपेक्षित सुधार पाएको छ?
नीतिगत सुधारको सबैभन्दा महत्वपूर्ण पक्ष नै दीर्घकालीन नीति हो। अटोमोबाइल क्षेत्रलाई जीवित र स्थिर राख्न दीर्घकालीन नीति आवश्यक छ। त्यससँगै बैंकिङ प्रणालीमा पनि अटोमोबाइल क्षेत्रले सहज रूपमा काम गर्न सक्ने वातावरण बन्नुपर्छ।

अहिले सवारीसाधन कर्जामा ऋण–मूल्य अनुपातको व्यवस्था छ। पछिल्लो मौद्रिक नीतिमार्फत ठूला सवारीसाधन, विशेषगरी बसमा तुलनात्मक रूपमा सहज वित्तीय व्यवस्था गर्ने विषय आएको छ। अब यसको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुन्छ। तर एउटा महत्वपूर्ण समस्याको रुपमा अहिले सार्वजनिक सवारीसाधनको दर्ता रोकिएको अवस्था छ ।

सार्वजनिक सवारीसाधनको दर्ता रोकिँदा व्यवसायीमा कस्तो असर परेको छ?
दर्ता रोकिएपछि अटोमोबाइल क्षेत्रको सम्पूर्ण व्यवसायिक चक्र नै प्रभावित भएको छ।
अटोमोबाइल व्यवसायमा ठूलो लगानी हुन्छ। एउटा सानो व्यवसायीले पनि करोडौं रुपैयाँ लगानी गरेको हुन्छ। यस्तो क्षेत्रमा सरकारले कुनै निर्णय गर्दा त्यसको प्रभाव व्यवसायीको लगानी, रोजगारी र सम्पूर्ण आपूर्ति शृंखलामा पर्छ।

विदेशबाट सवारीसाधन ल्याउँदा आज अर्डर गरेर भोलि गाडी आइपुग्दैन। धेरै अवस्थामा तीन–चार महिना अगाडि नै योजना बनाएर अर्डर गर्नुपर्छ। विद्युतीय सवारीसाधनमा त ब्याट्रीको आपूर्तिसँग समेत यो प्रक्रिया जोडिएको हुन्छ। उत्पादकले पनि ब्याट्रीलगायत सामग्रीका लागि लामो समय अगाडि योजना बनाउनुपर्छ। त्यसैले सवारीसाधनको दर्ता अचानक रोकिँदा एउटा व्यवसाय मात्र प्रभावित हुँदैन, सम्पूर्ण आपूर्ति शृंखला प्रभावित हुन्छ। सरकारले कुनै नीति सुधार गर्नुपर्छ भने साना–साना सुधारबाट क्रमशः अघि बढ्न सक्छ। तर एकैपटक कुनै क्षेत्रलाई रोक्ने वा बन्द गर्ने निर्णयले ठूलो लगानी गरेका व्यवसायीलाई समस्या पार्छ।

अटोमोबाइल क्षेत्रले सरकारलाई राजस्व, रोजगारी र आर्थिक गतिविधिका माध्यमबाट ठूलो योगदान दिइरहेको छ। त्यसैले यस क्षेत्रसँग सम्बन्धित नीति बनाउँदा यसको सम्पूर्ण इकोसिस्टमलाई ध्यान दिन आवश्यक छ।

अहिले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई कसरी हेर्नुभएको छ?
विद्युतीय सवारीसाधनतर्फ नेपाली उपभोक्ताको आकर्षण निकै सकारात्मक छ। यसको प्रयोग र स्वीकार्यता बढिरहेको छ। यो परिवर्तनलाई हामीले रोक्नेभन्दा पनि व्यवस्थित रूपमा अघि बढाउनुपर्छ। नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा त्यससँग सम्बन्धित पूर्वाधार, चार्जिङ नेटवर्क, नीति, वित्तीय व्यवस्था र स्वदेशी उत्पादनलाई पनि सँगसँगै अघि बढाउन आवश्यक छ।

हामीले आयातमा मात्र निर्भर हुनेभन्दा नेपालमै उत्पादन र एसेम्ब्ली बढाउने वातावरण बनाउनुपर्छ। यसपटकको नाडा अटो शोमा नेपालमै बनेका उत्पादन र कम्पोनेन्टलाई प्राथमिकता दिनुको कारण पनि यही हो।

नाडाले अब अटोमोबाइल उद्योगलाई कसरी अगाडि बढाउन चाहेको छ?
नाडाले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन आयात गर्ने व्यवसायका रूपमा हेरेको छैन। यो एउटा ठूलो इकोसिस्टम हो। दुईपांगे्र, चारपांग्रे, व्यावसायिक सवारीसाधन, विद्युतीय सवारीसाधन, ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, अटो कपोनेन्टदेखि स्वदेशी उत्पादनसम्म सबैलाई समेटेर अगाडि बढ्नु आवश्यक छ। नेपालमा उद्योग स्थापना गर्न चाहने व्यवसायीलाई दीर्घकालीन नीतिगत सुनिश्चितता दिनुपर्छ। लगानी गरेपछि पाँच–दस वर्षसम्म नीति कस्तो हुन्छ भन्ने आधारभूत विश्वास व्यवसायीलाई हुनुपर्छ । हामी सरकारसँग यही स्थिरता र पूर्वानुमानयोग्य नीतिको अपेक्षा गरिरहेका छौं ।

अन्त्यमा, नाडा अटो शोका बारेमा दर्शक तथा अटोमोबाइलप्रेमीलाई के भन्न चाहनुहुन्छ?
यस वर्ष हामी १८औं नाडा अटो शो आयोजना गर्दैछौं नाडा स्थापनाको ५० वर्षको यात्रासँग जोडिएको यो संस्करण अझ विशेष छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit