विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको अतिक्रमित जग्गामा निर्माण गरिएका ३२ वटा व्यावसायिक सटर सोमबार डोजर लगाएर हटाइएको छ।
अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरी करिब एक घण्टामै संरचना भत्काइएको हो। कारबाहीका क्रममा सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा अधिकारी उपस्थित थिए।
अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था र गणेश मन्दिर समितिले भाडामा लगाएका २६ वटा तथा अस्पतालकै स्वामित्वमा रहेका ६ वटा गरी कुल ३२ वटा सटर हटाइएको हो। उहाँका अनुसार मन्त्रालयको निर्देशनअनुसार अतिक्रमित संरचना हटाएर अब उक्त क्षेत्रमा कम्पाउन्ड वाल निर्माण गरी अस्पतालको जग्गा सुरक्षित गरिनेछ।
अस्पताल प्रशासनले सात दिनअघि सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरेपछि व्यवसायीहरूले शनिबारदेखि नै सटर खाली गर्न थालेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कटवालले अस्पतालको जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेका संरचना हटाएर अस्पतालकै प्रयोजनमा उपयोग गर्ने उद्देश्यले कारबाही गरिएको बताउनुभयो।
कोशी अस्पतालको बहुमूल्य जग्गामा वर्षौंदेखि नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी औषधि पसल, क्लिनिक तथा अन्य व्यवसाय सञ्चालनका लागि भाडामा दिँदै आएका थिए। अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयन गर्न अतिक्रमित संरचना हटाउने प्रयास लामो समयदेखि गर्दै आएको थियो।
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए। अस्पताल प्रशासनका अनुसार व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएका सटर मात्र हटाइएको हो भने नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक, देवकोटा पुस्तकालय र गणेश मन्दिरका मूल संरचना भने हाललाई यथावत् राखिएका छन्।















प्रतिक्रिया दिनुहोस्