Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने, पुनः सञ्चालनको प्रतिवेदन मन्त्री यादवलाई बुझाइयो

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने, पुनः सञ्चालनको प्रतिवेदन मन्त्री यादवलाई बुझाइयो
विज्ञापन
Advertisement

काठमाडौं । वर्षौंदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारीलाई तीव्र बनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ। मन्त्रालयका प्रशासन तथा संस्थान महाशाखा प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग सञ्चालनका लागि हालसम्म भएका प्रगति, आगामी कार्ययोजना तथा दीर्घकालीन रणनीतिसहितको प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनअनुसार सरकारले दिएको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। सोहीअनुसार उद्योगभित्र रहेका पुराना मेसिनहरूको मर्मत तथा आवश्यक तयारीको काम तीव्र गतिमा अघि बढिरहेको छ।

उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। उक्त बजेटबाट मेसिन मर्मत, प्रारम्भिक तयारी तथा परीक्षण उत्पादनका आवश्यक काम अघि बढाइएको छ।

उद्योग सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा खटिएको छ। टोलीले सरसफाइसँगै परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको छ भने उत्पादन निर्देशनालयका प्राविधिकहरूले मेसिन मर्मतको काम पनि सुरु गरिसकेका छन्।

उद्योगको भौतिक संरचना मर्मतका लागि ५० लाख रुपैयाँ लागत अनुमान तयार गरिएको छ। उक्त संरचनागत सुधारको जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयले लिएको छ। त्यसैगरी उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको मन्त्रालयले जनाएको छ।

सरकारले तत्कालका लागि पुरानै मेसिन मर्मत गरेर परीक्षण उत्पादन गर्ने योजना बनाएको छ। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ। त्यसपछि आवश्यक कानुनी, नीतिगत तथा संरचनागत निर्णय गर्दै उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योग राष्ट्रिय गौरवसँग जोडिएको उद्योग भएकाले यसको पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले कार्यदलका सुझावअनुसार निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, बजेट व्यवस्थापन तथा सबै निकायबीच सहकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit