काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति २।७२ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत थियो।
यद्यपि, चालु आर्थिक वर्षको पहिलो ११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो।
खाद्य तथा पेय पदार्थ समूहभित्र फलफूलको मूल्य सबैभन्दा धेरै १७.४० प्रतिशतले बढेको छ। त्यसपछि घ्यू तथा तेल १५.१० प्रतिशत, माछा तथा मासु ५.२६ प्रतिशत र तरकारी ४.१४ प्रतिशतले महँगिएको छ। भने दाल तथा गेडागुडीको मूल्य भने ०.९३ प्रतिशतले घटेको छ।
त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशतले बढेको छ भने यातायात १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थ ७.२० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ५.५३ प्रतिशतले महँगा भएका छन्।
राष्ट्र बैंकका अनुसार ग्रामीण क्षेत्रमा वार्षिक मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ भने सहरी क्षेत्रमा ५.३८ प्रतिशत पुगेको छ, जसले सहरी क्षेत्रमा मूल्यवृद्धिको दबाब बढी रहेको देखाएको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत मुद्रास्फीति रहेको छ। त्यसपछि मधेश र लुम्बिनी प्रदेशमा समान ५.६२ प्रतिशत, गण्डकीमा ५.०५ प्रतिशत, कर्णालीमा ४.८९ प्रतिशत, बागमतीमा ४.७९ प्रतिशत तथा सुदूरपश्चिममा ४.६१ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।
भौगोलिक क्षेत्रअनुसार तराईमा सबैभन्दा बढी ५.७४ प्रतिशत मुद्रास्फीति देखिएको छ। पहाडमा ५.०७ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९८ प्रतिशत र हिमाली क्षेत्रमा ३.७१ प्रतिशत मुद्रास्फीति कायम रहेको छ।













प्रतिक्रिया दिनुहोस्