काठमाडौं। सामसङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए२७’ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
किफायती मूल्यमा प्रिमियम एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, शक्तिशाली कार्यसम्पादन, उच्चस्तरीय सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोज्ने युवा उपभोक्तालाई लक्षित गर्दै सामसङले यो स्मार्टफोन सार्वजनिक गरेको हो ।
सामसङ नेपालका मोबाइल अनुभव (एमएक्स) बिजनेसका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले धेरैभन्दा धेरै प्रयोगकर्तामाझ नयाँ प्रविधि पुर्याउने र एआई सुविधालाई सबैको पहुँचमा ल्याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताए । ‘सामसङको आधारभूत प्रविधि क्षमता र ‘असम इन्टेलिजेन्स’ को संयोजनसहित ग्यालेक्सी ए२७ ५जीले प्रयोगकर्तालाई दैनिक कार्यमा सहज, भरपर्दो र प्रभावकारी अनुभव प्रदान गर्नेछ,’ उनले भने । उनले २४ महिनासम्मको किस्ता सुविधामार्फत अत्याधुनिक प्रविधि थप सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको बताए ।
६.७ इन्चको सुपर एमोलेड डिस्प्ले
ग्यालेक्सी ए२७ ५जी मा ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले दिइएको छ। यसमा १२० हर्जसम्मको रिफ्रेस दर रहेको छ, जसले भिडियो हेर्दा, गेम खेल्दा तथा दैनिक प्रयोगमा सहज र आकर्षक दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। ७.८ एमएम पातलो डिजाइनमा उपलब्ध यो फोनमा सुधारिएको इन्फिनिटी–ओ पन्च होल डिजाइन प्रयोग गरिएको छ । यसले अगाडिको क्यामेराको स्थान कम गर्दै प्रयोगकर्तालाई ठूलो र इमर्सिभ स्क्रिन अनुभव प्रदान गर्छ ।
यो स्मार्टफोन लाइट ग्रिन, लाइट पिंक र ब्ल्याक गरी तीन रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्यालेक्सी ए२७ ५जी मा ४ न्यानोमिटर प्रविधिमा आधारित स्न्यापड्रैगन ६ जेन ३ अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । यसले एप परिवर्तन गर्ने, भिडियो स्ट्रिमिङ गर्ने तथा एआईमा आधारित एप प्रयोग गर्दा सहज कार्यसम्पादन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
दैनिक प्रयोगका लागि एआई सुविधा
ग्यालेक्सी ए२७ ५जी मा आवाजलाई लेखमा परिवर्तन गर्ने सुविधा उपलब्ध छ । यो सुविधा विद्यार्थी, व्यवसायी तथा बैठक, कक्षा वा महत्वपूर्ण कुराकानीको विवरण सुरक्षित राख्न चाहने प्रयोगकर्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । यसमा गुगल जेमिनी र पर्प्लेक्सिटी जस्ता एआई सहायक सुविधा पनि समावेश गरिएको छ । ग्यालेरीलगायत सामसङका आफ्नै एपहरूसँग एआई सुविधाको गहिरो एकीकरण गरिएको कम्पनीले जनाएको छ ।
क्यामेरा र ब्याट्री क्षमता
ग्यालेक्सी ए२७ ५जी मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ। मुख्य क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) प्रविधि रहेको छ। सेल्फीका लागि १२ मेगापिक्सेलको अगाडिको क्यामेरा उपलब्ध छ ।फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री र २५ वाट फास्ट चार्जिङ सुविधा रहेको छ। सुरक्षाका लागि सामसङ नक्स भल्ट प्रविधि र पानी तथा धुलोबाट जोगाउने आईपी६४ सुरक्षा मापदण्ड पनि उपलब्ध छ ।
मूल्य र उपलब्धता
नेपालमा ग्यालेक्सी ए२७ ५जी दुई भेरियन्टमा उपलब्ध हुनेछ । ग्यालेक्सी ए२७ ५जी ६ जीबी र्याम सहित १२८ जीबी स्टोरेज क्षमता सहितको स्मार्टफोनको मूल्य ५५ हजार ९९९ र ग्यालेक्सी ए२७ ५जी ८ जीबी र्याम तथा ५१२ जीबी स्टोरेजको ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
ग्राहकले १२ महिनाको किस्तामा खरिद गर्दा ६ जीबी भेरियन्टका लागि मासिक २ हजार ५५० र ८ जीबी भेरियन्टका लागि ३ हजार २५० तिर्नुपर्नेछ । त्यस्तै २४ महिनाको किस्तामा क्रमशः १ हजार ५१९ र १ हजार ८९९ प्रतिमहिना तिर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
एक्सचेन्ज बोनस र एनसेल डाटा अफर
नयाँ ग्यालेक्सी ए२७ ५जी खरिद गर्ने ग्राहकका लागि सामसङले पुरानो फोन साट्ने सुविधा पनि ल्याएको छ । ग्राहकले पुरानो फोनको मूल्याङ्कन रकमसँगै थप ८ हजारसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकले २४ महिनासम्मको सहज किस्ता सुविधा र सुरुवाती भुक्तानीबिनै फोन खरिद गर्न सक्नेछन्। कम्पनीले नयाँ फोन खरिदकर्तालाई १२० जीबी एनसेल डाटा उपहारसमेत उपलब्ध गराउने जनाएको छ।
ग्यालेक्सी ए२७ ५जी मा एन्ड्रोइड १६ र वन यूआई ८.५ सञ्चालन प्रणाली उपलब्ध रहेको छ। सामसङका अनुसार यस फोनले ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट प्रदान गर्नेछ, जसले प्रयोगकर्तालाई लामो समयसम्म सुरक्षित र अद्यावधिक अनुभव प्रदान गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्