काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले सातादिन लामो सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गर्दै उनीहरूसँग करोडौं रुपैयाँ धरौटी माग गरेको हो।
अदालतको आदेशअनुसार बीमासम्बन्धी कसुरमा दीपक भट्टसँग एक करोड ५० लाख रुपैयाँ तथा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ धरौटी माग गरिएको छ।
त्यस्तै धितोपत्रसम्बन्धी कसुरमा सुलभ अग्रवालसँग एक करोड ५० लाख रुपैयाँ र दीपक भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश अदालतले दिएको छ।
यसैबीच, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर नक्कली असाइनमेन्ट कागजात प्रयोग गरी बिक्री गरेको आरोपसँग सम्बन्धित छुट्टै मुद्दामा अदालतले सुलभ अग्रवालसँग थप दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।
यद्यपि अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि दुवै व्यवसायी तत्काल रिहा हुने अवस्था भने छैन। उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा यसअघि नै विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेकाले धरौटी आदेशपछि पनि हिरासतमै रहनेछन्।
उनीहरूविरुद्ध बिहीबार नै एमाले उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको भनिएको कारोबार सम्बन्धी अर्को मुद्दासमेत दर्ता भएको छ। उक्त मुद्दाको टुंगो भने अदालतको अन्तिम फैसलापछि मात्रै लाग्नेछ।















प्रतिक्रिया दिनुहोस्