चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्ष २०८२/८३ मा २२ वटा गैँडाको मृत्यु भएको छ। तीमध्ये २० वटा निकुञ्ज क्षेत्रमा र दुई वटा राष्ट्रिय वन क्षेत्रमा मरेका हुन्।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका छन् भने बाँकी गैँडाको मृत्यु प्राकृतिक कारणले भएको हो। माडी र नवलपरासी (सुस्तापूर्व) को लोकाहा खोला नजिक करेन्ट लागेर गैँडा मरेको जनाइएको छ।
उनका अनुसार अन्य गैँडाको मृत्यु दलदलमा फसेर, आपसमा जुधेर, बाघले बच्चा आक्रमण गरेर तथा बुढ्यौलीका कारण भएको हो। करेन्ट लागेर मरेका गैँडामध्ये एक माडीको मध्यवर्ती क्षेत्रमा र अर्को नवलपरासीको राष्ट्रिय वन क्षेत्रमा फेला परेको थियो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ३० वटा गैँडाको मृत्यु भएको थियो। तीमध्ये दुई वटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मरेका थिए।
सन् २०२१ मा गरिएको राष्ट्रिय गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा वयस्क गैँडा रहेका छन्। गैँडाको मृत्यु सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटे पनि करेन्ट तथा प्राकृतिक कारणबाट हुने क्षतिले संरक्षण चुनौती अझै कायम रहेको देखिएको छ।















प्रतिक्रिया दिनुहोस्